च्याम्पियन्स लिगको उपाधि चुम्दै रियल मड्रिडले बनायाे नयाँ रेकर्ड


एजेन्सी :

च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले चुमेकाे छ । याे जितसँगै रियल मड्रिडले लिगमा लगातार तेस्रोपटक च्याम्पियन बनेर नयाँ रेकर्ड कायम गरेकाे छ ।
युक्रेनको राजधानी किएभमा शनिबार भएको फाइनल खेलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ गाेलले हराउँदै साबिककाे विजेता स्पेनिस क्लब रियल मड्रिड लगातार तेस्राेपटक च्याम्पियन बनेकाे हाे । शनिबारकाे जितसँगै मड्रिड च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन उपाधि जित्ने पहिलो क्लब बनेकाे छ ।

बेलले दुई तथा करिम बेन्जिमाले मड्रिडका लागि एक गोल गरे । उता लिभरपुलका लागि भने साडिओ मानेले एक गोल फर्काए । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए भने त्यसको चार मिनेटपछि नै मानेले लिभरपुलका लागि बराबरी गोल फर्काए । अन्तिमतिर भने बेलले गोल गर्दै उपाधि मड्रिडकाे पाेल्टामा पार्न सफल भए ।

बेलले पहिलाे गाेल ६४ औँ मिनेटमा तथा दाेस्राे गाेल ८३ औँ मिनेटमा गोल गरे । उनले पहिलाे गाेल अाेभरहेड किक मार्फत गरेका हुन् ।


यसअघि युरोपियन कप रहेका बेला पनि रियल मड्रिडले लगातार तीन सिजन उपाधि जितेर कीर्तिमान बनाएको थियो । ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनकाे मद्दतमा शनिबारकाे खेलमा मड्रिडले लिगको उपाधिमा हृयाट्रिक गरेको हाे । यो उसको समग्रमा १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि समेत हाे ।

लिभरपुललाई फाइनल खेलमा पहिलो हाफमै ठूलो झड्का लाग्यो । क्लबका यो सिजनका सर्वाधिक गोलकर्ता मोहम्मद सालह थाइ इन्जुरीका कारण मैदानबाहिर निस्कन बाध्य भएपछि उसलार्इ ठूलाे झट्का लागेकाे हाे । मड्रिडका कप्तान सर्जिओ रामोससँग सालह ट्याकल गर्ने क्रममा चोटग्रस्त भएका थिए ।

रियल मड्रिडले युरोपियन कप रहेका बेला सन् १९५६ देखि १९६० मा फाइनलमा पुगेर पाँचै पटक उपाधि उचालेको थियो । युरोपियन कपका बेला बेन्फिका, अजाक्स र बार्यन म्युनिख तथा च्याम्पियन्स लिग एरामा एसी मिलान र युभेन्टस मात्रै लगातार तीन सिजन फाइनलमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार