लिस्बोन । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष स्वर्गीय नरभुपाल राइको तेह्र दिनअघि नेपाल गएको बखत आफ्नै घरमा लडेर असामयिक निधन भएको थियो । पोर्तुगलमा शालीन ब्यक्तिको छवि बनाएका राई सफल व्यावसायी र समाजसेवीको रूपमा पनि समुदायमा परिचित थिए ।
उनको दु:खद निधन भएको तेर्हौ पुण्य तिथिमा एआरएनए पोर्तुगलले आज राजधानी लिस्बोनस्थित आफ्नै कार्यालयमा एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि स्वर्गीय राइप्रति श्रद्धा सुमन व्यक्त गरेको छ ।
एनआरएनएन पोर्तुगलका अध्यक्ष कुबेर कार्कीको सभापतित्वमा भएको सो श्रद्धाञ्जली कार्यक्रममा आसिसी सदस्य नरेन्द्र हमाल, एनआरएनए पोर्तुगलका अन्य पदाधिकारी र सदस्यहरु, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय राइको फोटोमा माल्यार्पण गरि शुरु भएको श्रद्धाञ्जली कार्यक्रममा बक्ताहरुले राइको सरल तथा भद्र ब्यक्तित्व र पोर्तुगलको नेपाली समुदाय उनले पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए । राइको असामयिक निधनले पोर्तुगलको सिङ्गो नेपाली समुदाय र जनजाति आन्दोलन र नेतृत्वमा पनि गम्भीर क्षति पुगेको बताइएको थियो ।( युरोप नेपालीडटकम को सहयोगमा )