मदनकृष्ण श्रेष्ठले यशोदा सुवेदीको जन्मदिनका अवसरमा यो गीत लेखेका थिए । यतिवेला उनीहरू दुवै सञ्चयकोषमा जागिरे थिए । प्रेम मौलाउँदै गयो । समाजलाई चुनौती दिँदै उनीहरूले अन्तरजातीय विवाह गरे ।
पहिले मदनकृष्णको परिवारले र त्यसको केही वर्षपछि यशोदाको परिवारले वैवाहिक सम्बन्ध स्विका-यो । ०३१ फागुनमा छोरा यमन र त्यसको ६ वर्षपछि छोरी साराना श्रेष्ठको जन्म भयो । विवाहअघि नै मदनकृष्ण श्रेष्ठ नेपाल भाषाका चर्चित गायक तथा कलाकार थिए ।
विवाहपछि परिचय थप फराकिलो भयो । ०३८ देखि उनले हरिवंश आचार्यसँग मिलेर प्रस्तुति दिन थाले । त्यसको छोटो समयभित्रै मह सञ्चार स्थापना भयो । आज ‘मह जोडी’को परिचय नेपालकै सर्वाधिक सफल कलाकारका रूपमा स्थापित भइसकेको छ ।
कलाकारितासँगै समाजसेवा र सचेतना जगाउने काममा मदनकृष्ण र हरिवंश वर्षौंदेखि अहोरात्र सक्रिय छन् । कलाकारितामा पनि उनीहरूको मुख्य विधा हास्यरस हो । तर, पत्नी यशोदा सुवेदी श्रेष्ठको निधनपछि मदनकृष्ण अहिले जीवनकै सबैभन्दा ठूलो पीडामा छन् ।
‘म सम्झन पनि सक्दिनँ । तपाईंको प्रश्नलगत्तै मलाई टच भयो,’ ६८ वर्षका मदनकृष्णले भावुक हुँदै यस्तो जवाफ फर्काएपछि उनलाई थप प्रश्न गरिराख्न सकिएन । तर, शोकाकुल यी अभिनेता मनमा कुरा खेलाएर बस्न सक्ने अवस्थामा पनि छैनन् ।
‘गाह्रो अवस्थामा छु । तर, समझदारीका साथ यो परिस्थितिलाई स्विकारेको छु,’ उनी बिस्तारै खुल्न थाले, ‘यशोदाको शवयात्रामा मेरा शुभचिन्तक, साथीभाइ र हजारौँ सर्वसाधारणले जुन सम्मान दर्शाउनुभयो, त्यस्तो दृश्यले मृत्युलाई पनि उत्सवका रूपमा मनाउन र मेरी श्रीमतीको निधन भइसक्यो भन्ने तथ्य स्विकार्न मलाई प्रेरित गरेको छ ।’
श्रीमती यशोदाले मदनकृष्णलाई देशकै सर्वाधिक सफल कलाकार बनाउन खेलेको भूमिका शब्दमा मात्रै उनेर वर्णन गर्न सम्भव छैन । ‘मेरो श्रीमतीले किताबहरू पढेर राम्रो राम्रो कुराहरू पढेर मलाई सुनाउँथिन् ताकि मेरो स्क्रिप्टका लागि काम आओस् ।
कार्यक्रममा जाँदा यो कपडा सुहाउँछ भनेर छानिदिने गर्थिन्,’ उनले भने, ‘उनले साना–साना खुसीहरू दिएर मेरो आत्मबललाई ठूलो बनाइदिन्थिन् । उनकै कारण म खुसी भएँ । मैले धेरैमाझ खुसी छरेँ ।’
सधैँ सबैलाई हँसाउने मदनकृष्णको जीवनकहानी दुःखैदुःखले भरिएको छ । जन्मिएको छोटो समयमै आमा गुमाए । आमाबराबर माया गर्ने हजुरआमा पनि बच्चै छँदा बितिन् । त्यसपछि, हजुरबुवा, बाबु र फूपूहरू बित्दा उनी निकै रोएका थिए । जीवनको उत्तराद्र्धमा पार्किन्सन रोगसँग जुध्दै गर्दा आफ्नी जीवनसंगिनीलाई गुमाएपछि एक्लो महसुस गर्ने गरेका छन् ।
पछिल्लो समय पेसमेकरको सहायताले उनको मस्तिष्क चलिरहेको छ । यशोदालाई क्यान्सरको समस्याले च्याप्दै गएपछि उनका छोरा यमन श्रेष्ठ र बुहारी रिंकु श्रेष्ठ नातिनीसहित अमेरिकाबाट काठमाडौं फर्किएका थिए ।
आमाको निधनपछि अहिले बाबुलाई उनीहरूले नै आडभरोसा र हिम्मत दिइरहेका छन् । ‘घर आउँदा पनि उनी बसिरहेकी छिन् कि भनेजस्तो हुन्छ । तर, ऊ हुन्न । के गर्नु स्विकार्नुबाहेक विकल्प छैन,’ सबैमाझ हाँसो छर्ने यी दिग्गज कलाकारले आफ्नै पीडा सुनाए ।
सर्वसाधारणदेखि प्रथम राष्ट्रपतिसम्मको हौसला
यशोदाको निधनपछि उनलाई घरमै भेट्न आएर सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्मले हिम्मत नहार्न आग्रह गरिरहेका छन् । प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव मदनकृष्णलाई भेट्न उनकै निवासमा पुगेका थिए । यादवकी जीवनसंगिनीको निधन पनि क्यान्सरकै कारण भएको थियो ।
त्यसैले उनले मदनकृष्णलाई शोकाकुल अवस्थामै आग्रह गरे, ‘तपाईं व्यस्त हुनुहोस् । यसरी घरमा मात्रै बस्दा छटपटी हुन्छ ।’ मदनकृष्णलाई सामाजिक सञ्जालमार्फत पनि समर्थकहरूले सक्रिय हुन आग्रह गरिरहेका हुन्छन् । त्यसैले त पीडाका बाबजुद अझै सक्रिय भएर आफ्नो काममा लाग्न मदनकृष्णलाई प्रेरणा मिलेको छ । ‘महसञ्चारबाट छिट्टै फिल्म निर्माण गर्दैछौँ । कसको निर्देशनमा गर्ने र कसरी गर्ने भन्ने विषय टुंगो लगाउन बाँकी छ,’ उनले भने ।
‘पीडामा जोक्स सुनाएँ’
यशोदाको निधन भएको चौध दिनमै उनी हरिवंश आचार्यसँगै नेपालगन्ज गएका थिए । विद्यार्थी भर्ना अभियानअन्तर्गत त्यहाँ महाजोडीले ८ विद्यार्थीको अभिभावकत्व ग्रहण गरे । त्यसमध्ये ५ जना विद्यार्थीको अभिभावकत्व यशोदाका नाममा गरिएको थियो । केही समयअघि प्रकाशित आफ्नो आत्मवृत्तान्त ‘महको म’का विषयमा आयोजित विभिन्न अन्तक्र्रिया कार्यक्रममा पनि उनी सहभागी हुने गरेका छन् ।
पुस्तकमा हस्ताक्षर गर्ने अभियानअन्तर्गत उनी सुर्खेत, धनगढी र नेपालगन्ज गएको धेरै भएको छैन । उनी तराईका धेरै जिल्लामा जाने कार्यक्रम तय भइसकेको छ । केही जिल्लामा सानिमा बैंकको शाखा विस्तारका लागि तथा कतै आफ्नै पुस्तकको प्रवद्र्धनका लागि जानेछन् । केही समयअघि खोटावजी नामक नेपाल भाषाको एक संस्थाले आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएका थिए ।
त्यहाँ उनले गम्भीर प्रकृतिका गीतहरू गाए । ‘यो कार्यक्रम यशोदाको निधन हुनअघि नै तय भइसकेको थियो । निधनका कारण नजाउँ कि भन्ने लाग्यो । तर, हिम्मत जुटाएर गएँ,’ उनले भने, ‘गम्भीर प्रकृतिका गीत गाएँ । तर, अन्त्यमा त जोक्स नै सुनाइदिएँ । मेरो मिसेजले मलाई हेरिरहेको छ भने खुसी नै हुन्छे भनेर सोचेँ ।’
स्वस्थ मनोरञ्जनमार्फत समाज तथा राजनीतिक रुपान्तरणको अभियानमा लाग्न पाउनुलाई नै मदनकृष्ण आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ ठान्छन् । ‘जतिवेला कलाकारितामा लागियो त्यतिवेला पैसा कमाउन सकिन्छ वा नाम कमाइन्छ भन्ने कुनै अपेक्षा थिएन ।
सधैँ सबैलाई हँसाउने मदनकृष्णको जीवन दुःखैदुःखले भरिएको छ । जन्मिएको छोटो समयमै आमा गुमाए । आमाबराबर माया गर्ने हजुरआमा पनि बच्चै छँदा बितिन् । त्यसपछि, हजुरबुबा, बाबु र फुपूहरू बित्दा उनी निकै रोएका थिए । जीवनको उत्तराद्र्धमा पार्किन्सन रोगसँग जुध्दै गर्दा आफ्नी जीवनसंगिनीलाई गुमाएपछि एक्लो महसुस गर्ने गरेका छन् । पछिल्लो समय पेसमेकरको सहायताले उनको मस्तिष्क चलिरहेको छ ।
आफ्नो कारणले अरू खुसी भएको देखेर यस क्षेत्रमा लाग्न प्रेरणा मिल्यो,’ उनले भने, ‘त्यसपछि हाँसोले मानिसको जीवनमा सकारात्मक ऊर्जाको सञ्चार गराउने रहेछ । यसमार्फत सामाजिक तथा राजनीतिक रुपान्तरण पनि गर्न सकिने रहेछ भन्ने बुझ्दै गइयो ।’ पञ्चायतकालदेखि नै लोकतन्त्रका लागि आवाज उठाएका यी कलाकारलाई देशमा लोकतन्त्र संस्थागत भएको हेर्न पाउँदा निकै खुसी मिल्छ ।
‘महको म’ हेर्ने धोको
मदनकृष्णलाई आफ्नो पूरा जिन्दगी समर्पित गरेर यशोदा स्वर्गीय भइसकेकी छिन् । मदनकृष्णका अनुसार पछिल्लो ६ वर्षदेखि क्यान्सरबाट ग्रस्त यशोदाले आफू मृत्युनजिक छु भन्ने तथ्यलाई हृदयबाटै स्विकारेकी थिइन् । मृत्युअघि मदनकृष्णको आत्मवृत्तान्त सार्वजनिक भएको हेर्ने उत्कट चाहना थियो ।
मदनकृष्णले ०५८ देखि नै पुस्तक लेख्न सुरु गरेका थिए । तर, श्रीमती बिरामी भएपछि लेखनयात्रा सुस्तायो । ६ वर्षअघि यशोदालाई क्यान्सर भएको पत्ता लाग्यो । त्यसपछि त मदनकृष्णले पुस्तकका विषयमा सोच्नै छाडे । उनलाई श्रीमतीको चिन्ता हुन्थ्यो । यशोदालाई पुस्तक पढ्न नपाउँदै स्वर्गीय भइन्छ कि भन्ने त्रास ।
‘क्यान्सर भए पनि निको हुँदैन भन्ने थाहा थियो । वेला–वेलामा भनिरहन्थिन् । तपाईको किताब पढ्ने धोको छ । छिटो लेख्नुस् । म औषधि आफैँ खान्छु ।’ गत वर्षको भदौ २० गते मदनकृष्णले आफ्नो विवाहको ४४औँ वार्षिकोत्सवका अवसरमा आत्मवृत्तान्त सार्वजनिक गरे । त्यस अवसरमा छोरा–छोरी, बुहारी, नातिनीलगायत परिवारका सदस्य तथा हरिवंश आचार्यसहित सहकर्मी र शुभचिन्तकहरूको उपस्थिति थियो ।
क्यान्सरले ग्रस्त भएकी यशोदा सकिनसकी कार्यक्रममा उपस्थित भइन् । वैवाहिक वर्षगाँठमा श्रीमान्को आत्मवृत्तान्त उपहार पाउँदा उनको अनुहारमा खुसीको प्रस्ट धर्सा देखिएको थियो । दुर्भाग्य, चैतमा यशोदा सधैँका लागि बिदा भइन् ।
संक्षेपमा मदनकृष्ण
वि.सं. २००७ वैशाख ७ मा जन्म
जितपुरफेदी गाउँपञ्चायतमा ०१५ मा राजा महेन्द्रको स्वागतमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठले स्वागत गीत गाएका थिए । ०२२ मा पहिलोपटक रेडियो नेपालमा मदनकृष्णले नेपाल भाषाको गीत रेकर्ड गराएका थिए । त्यतिवेला रेडियो नेपालबाट नेपालभाषाका सांगीतिक कार्यक्रम तथा समाचार प्रसारण हुन्थ्यो ।
२०३० साल भदौ २० गते विवाह
मदनकृष्ण श्रेष्ठले अभिनय गरेको पहिलो सिनेमा ‘के घर के डेरा’ हो । तर , प्रदर्शनमा आएको पहिलो चलचित्र ‘वासुदेव’ हो । यी दुवै फिल्ममा हरिवंश आचार्य पनि उनीसँगै छन् । विवाहको ४४औँ वर्षगाँठमा उनले आत्मवृत्तान्त ‘महको म’ सार्वजनिक गरे । यो पुस्तक ५० हजारप्रति बिकिसकेको छ । बजारमा पुस्तक अभाव भएपछि तेस्रो संस्करण छाप्ने तयारी भइरहेको छ ।:-नयाँ पत्रिकामा