लम्बियो गोरेको बयान , आइतबार सनमलार्इ टर्चर दिएको भिडियो देखाउने तयारी


गत वर्ष त्रिभुवन विमानस्थलबाट हराएको साढे ३३ किलो तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को बयान लम्बिएको छ । जिल्ला अदालत मोरङमा तीन दिनदेखि गोरेको बयान लिने क्रम जारी छ । गएको बुधबारदेखि थालिएको बयान लिने क्रम आइतबारसम्म चल्ने जिल्ला अदालत मोरङले जनाएको छ । निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार आइतबारसम्म गोरेको बयान सक्ने लक्ष्य छ । त्यसपछि थुनछेक बहस शुरु हुनेछ ।

आइतबारको बयानमा गोरेलाई सुनकाण्डसँग सम्बन्धित भिडियो पनि देखाउने योजना रहेको बताइएको छ । गोरेले बयानमा औपचारिक भन्दा पनि अनौपचारिक विषयमा बढी केन्द्रीत भएकाले बयान लम्बिएको अदालतका कर्मचारीहरु बताउँछन् । जिल्ला अदालत मोरङमा शुक्रबार तेस्रो दिन पनि करिब साढे ४ घण्टासम्म उनको बयान लिइएको थियो । शुक्रबारसम्म बयान लिने क्रममा अदालतका कर्मचारीले गोरेले दिएको बयान २७ पानामा उतारेका छन् ।

यसअघि पहिलो दिन बुधबार ५ घण्टा र दोस्रो दिन बिहीबार पनि ५ घण्टा बयान भएको थियो । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ । सुन काण्ड र सनम हत्या काण्डमा संलग्न भएको आरोपमा बिहीबार उर्लाबारीबाट पक्राउ परेका रेवत आचार्यलाई अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।

प्रहरीले आर्चायलाई शुक्रबार अदालतमा हाजिर गराएर अनुसन्धानका लागि म्याद लिएको हो । उर्लाबारीका सुन ब्यापारी आर्चायलाई गोरेले अदालतमा दिएको बयानका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार