प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न केन्द्रीय समितिको बैठकमा एनजिओको बहकावमा लागेर केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताको माग नउठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन्।
बालुवाटारमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले दुई पार्टीको केन्द्रीय समिति मिलाउनु परेका कारण ३३ प्रतिशत नपुगेकोले अनावश्यक बहस नगर्न निर्देशन गरेका हुन।
ओलीले बैठकमा भने‘कसैको बहकावमा लागेर जानुहुन्न’, , ‘महिलाहरुलाई एनजिओहरुले ३३ प्रतिशत हुनुपर्छ अथवा यति प्रतिशत हुनुपर्छ भन्दिन सक्छन्। दुई वटा केन्द्रीय समिति मिलाउँदा ३३ प्रतिशत नभएको हुनसक्छ। हामीले धेरै छलफल गरेर गरेका छौँ। एनजिओलाई ट्याउँ ट्याउँ बोलिदिएको भरमा पुग्छ। हामीले काम गर्नुपर्छ।’
ओलीले केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा पार्टी नेतृत्वमा छलफल भएको समेत बताए। ‘महाधिवेशन पछि कोर्स फरक हुन्छ’, ओलीको भनाई थियो।
हाल नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ७७ मात्र महिला रहेका छन्। जुन १७ प्रतिशत हाराहारी हुन आउँछ। जबकी राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा ‘दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने’ प्रावधान छ।
‘हामीले थाहा नपाएर यो गरेका हैनौँ’, ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीलाई सबै जानकारी छ। समयक्रममा मिलाउँछौँ भन्नुभयो।’
बैठकमा प्रचण्डले भने केन्द्रीय समितिमा महिलाको सहभागिताको विषयमा मौनता साँधेका थिए।:-हिमाल खबर बाट