“कम्पन” लिएर पत्रकार किशोर पन्थी लिस्बोनमा, शनिवार ” मिट एण्ड ग्रिट” कार्यक्रम हुने

न्युयोर्क निवासी नेपाली पत्रकार किशोर पन्थी आफ्नो पुस्तक “कम्पन” लिएर लिस्बोनमा आईपुगेका छन्। महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित रहेर लेखिएको कम्पनको बारेमा भेटघाट र अन्तरक्रिया ” मिट एण्ड ग्रिट” यही शनिबार दिउसो २ बजे लिस्बोनको अन्जुसमा रहेको एभरेष्ट क्याफेको हलमा हुने भएको छ।

सो पुस्तकमा २०७२ मा गएको विनासकारी भूकम्पपछिको अवधिका वास्तविक घटनाक्रमहरुलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ ।

विशेषतः भूकम्पपछि जनताले भोग्नुपरेको समस्या, गर्नुपरेको संघर्ष, विपतका बेला झल्किएको जीवनको अर्थ, आशा र नयाँ सुरुआतलगायतका विषयवस्तुलाई मर्मस्पर्षी रुपमा पुस्तकमा समेट्ने कोशिस पन्थीले गरेका छन् ।

पछिल्लो समय अमेरिकामा बसेर खोज पत्रकारितामा संलग्न पन्थीले आफ्नो पुस्तकको विमोचन नेपालमा गरिसकेका छन् भने अहिले सोही पुस्ताको ” मिट एण्ड ग्रिट ” कार्यक्रम लिएर संसार भ्रमण गर्दैछन । न्युयोर्कबाट प्रकाशन हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक समेत रहेका पन्थी अमेरिकाको विदेश मन्त्रालयबाट मान्यता पाउने पहिलो नेपाली पत्रकार हुन् ।

उनले विशेषतः अमेरिकी अध्यागमन, नेपाली समुदायका मुद्धाहरु एवं सामाजिक विषयमा कलम चलाउँदै आएका छन् ।

लिस्बोनमा हुने भेटघाट र अन्तरक्रिया ” मिट एण्ड ग्रिट” कार्यक्रममा उपस्थित हुन पोर्तुगलमा रहेका सम्पूर्ण नेपालीहरुमा पत्रकार पन्थीले आग्रह गरेका छन्। २०७२ मा गएको विनासकारी भूकम्पको लगत्तै राहत उद्धार र रिपोर्टिंगमा न्युयोर्कदेखि नेपाल पुगेका पत्रकार पन्थीसँग उनका अनुभव र प्रतक्ष्य साक्षात्कार गर्नुका साथै लेखकद्वारा हस्ताक्षरित पुस्तक समेत सो कार्यक्रममा प्राप्त गर्न सकिने छ। पुस्तकको मुल्य पोर्तुगलका लागि सहुलियत स्वरुप १० युरो राखिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार