काठमाडौं । मलेसिया जाने कामदार ठगी गरेकाे अाराेपमा ४८ जना पक्राउ परेका छन् । कामदारसँग भीएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण, माइग्राम्स, वन स्टप सेन्टर (पासपोर्ट संकलन गरी दूतावाससम्म लैजाने) लगायतका कार्यमा मिलेमताे गरी कामदार ठगी गर्दै अाएका संस्थाका सञ्चालकसहितका व्यक्तिलार्इ महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेकाे हाे ।
आइतबार बेलुकासम्म काठमाडौंबाट ४४ र ललितपुरबाट ४ जनालाई पक्राउ गरेकाे महाशाखाले जनाएकाे छ । पक्राउ पर्नेमा अधिकांश मेडिकल सेन्टरका सञ्चालक रहेकाे जनाइएकाे छ । कामदारकाे स्वास्थ्य परीक्षणका नाममा उनीहरूले वर्षाैंदेखि ठगी गर्दै अाएका थिए ।
भीएलएन र वानस्टप सेन्टरका नाममा ठगी गर्ने सञ्चालक राम श्रेष्ठसहित पक्राउ परेका मुद्दा दायर गर्ने तयारी रहेकाे महाशाखले जनाएकाे छ । माथि उल्लिखित पाँचवटा संस्थाले प्रतिकामदार कम्तिमा पनि रू १७ हजार ठगी गरेको पाइएको छ ।
भिसा प्रक्रियामा सरकारको अनुमतिबिना नै संलग्न भएका कम्पनी र स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गर्दै अाएकाे उनीहरूमाथि सरकारले अनुसन्धान थालेकाे छ । अनुसन्धानका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भीएलएन, माइग्राम्स, ओएसी, जीएसजी अवैध भन्दै केही दिनअघि मात्रै खारेज गरेको थियाे ।
मलेसिया जाने कामदारमाथि रकम असुलीकाे कार्य २०७० देखि भीएलएन नामको संस्थाले सुरु गरेको थियो । त्यसपछि अन्य संस्था पनि खडा हुँदै गएका थिए । उनीहरूले साढे ४ वर्षकाे अवधिमा झण्डै ४ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी रकम असुली गरेर कामदारहरूलार्इ ठगी गर्दै अाएकाे अनुसन्धानबाट पत्ता लागेकाे हाे ।