यस्ता सवालहरु उब्जिए -भूकम्प पीडितको नाममा उठाइएको चन्दाको पारदर्शीताबारे

  –डिल्ली अम्माई/बेल्जियम

‘श्रमको लुट सबैभन्दा खतरनाक हुन्न,
पुलिसको पिटाई सबैभन्दा खतरनाक हुन्न,
गद्दारी लोभको मुठ्ठी सबैभन्दा खतरनाक हुन्न,
बसिरहँदा पक्राउ पर्नु नराम्रो त हुँदै हो,
तर त्यो पनि सबभन्दा खतरनाक हुन्न,
सबैभन्दा खतरनाक हुन्छ, मुर्दा शान्तिले भरिनु,
कुनै छटपटी नहुनु, सबै सहनु, घरबाट काममा निक्लनु, र कामबाट खुरुखुरु घर फर्कनु,
सबैभन्दा खतरनाक हुन्छ, हाम्रा सपनाहरूको मृत्यु हुनु ।’

कवि पासका शब्दले ‘सपना’ शब्दको अर्थ मानवताले भरिएको प्रतिकृयासहितको स्वतन्त्रता हो । यो स्वतन्त्रताको भूगोलभित्र समाजहितको स्वार्थलाई मध्यनजर राखेर लेख्न, बोल्न र खोज्न मजाले पाइन्छ । तर हामीले डायस्पोराको जिवन्तताबाट मुलुकको लगानी खोजिरहेका छौँ । नेपालभित्रका कैयौँ परोपकारी अभियानहरुमा सहभागी हुँदै मानवताको महासागरमा हामीले नेपाल जोड्न खोजिरहेका छौँ । ति सबै जायज हुन् र सकारात्मक सोचबाट आएका उर्जाशील अभियानहरु हुन् । तर हामी एनआरएनहरुले एउटा कुरा भुलेका छौँ, अत्यन्त महत्वपूर्ण कुरा भुलेका छौँ र भुल्दा भावी पिँढिले क्षमा नदिने कुरा भुलेका छौँ । के होला त त्यो कुरा ?

हामी आफैँलाई लाज लाग्ने कुरा । अथवा भनुँ – अरुले भन्दा आफ्नै आत्माले थुक्ने कुरा । त्यो कसै न कसैले त भन्ने साहस गर्नै पर्थ्यो । तर यतिन्जेल हेरियो, कुरियो र धैर्य पनि गरियो । तर धेरै कुरा गुमराहमा नै रहे ।

२०७२ बैशाखमा नेपालमा महाभूकम्प गएपछि अनेकन परोपकारी काम भए । जुन स्तुत्य छन् । तर कतिपय सहयोग र चन्दा संकलन भएर पनि सम्बन्धीत ठाउँमा नपुगेको र बिचैमा हराएका गुनासाहरू पनि नसुनिएका होइनन् । यस्तै सन्दर्भमा नेपालका भुकम्प पीडितको सहयोगार्थ बेल्जियमबाट पनि सहयोग संकलन भयो । यस्ता सहयोग रकम कसले कति उठायो ? र त्यो उठेको रकम नेपालमा कसले कसरी खर्च गर्यो ? भन्नेबारे अझै स्पष्टता हुन सकेको छैन ।

यस्तै खालको चन्दा संकलन एनआरएनए बेल्जियमले पनि गरेको थियो । र उसले उठेको रकम र खर्चबारे पत्रकार र स्थानीय नेपाली समुदायको बीचमा हिसाब देखायो पनि ।

त्यतिखेर भुकम्पपिडितको सहयोगार्थ बेल्जियमको ‘नेपाली समाज’ नामक संस्थाले पनि चन्दा संकलन गरेको थियो । सो गैरसरकारी संस्थाका प्रमुख कृष्ण रेग्मीको नेतृत्वमा त्यो काम भएको थियो । रेग्मीको नेतृत्वमा समाजले एक लाख एकचालीस हजार युरोसम्म उठेको रकमबारे उनले आफ्नै फेसबुक अकाउन्टमा सार्वजनिक गरेका थिए । त्यो बेला उनले नेपालका तत्कालिक प्रधानमन्त्री शुशील कोइरालालाई १० हजारको चेक हस्तान्तरण गरेको तस्विर पनि फेसबुक वालमा राखेका थिए । त्यसको सत्यताबारे उनैले बढी भन्न सक्छन् । तर उनको त्यो फेसबुक अकाउन्ट उनले पछि बन्द गरे । उनले फेसबुकमा अर्कै अकाउन्ट खोलेका छन् ।

रेग्मीसम्बद्ध संस्थाले संकलन गरेको सो रकम हालसम्म नेपालमा कहाँ, कुन क्षेत्रमा, कसरी र कोमार्फत खर्च वा लगानी गरियो ? पुरा विवरण उनले सार्वजनिक गरेका छैनन् । उनका कार्यक्रमका धेरै समाचारहरु अझै गुगल सर्चमा भेटिन्छन् । चाहे त्यो छोरी परियोजनाको नाममा गरेको कार्यक्रमको होस् वा नेपाली समाज बेल्जियमको नाममा गरेको अर्थात नयाँ वर्ष र भुकम्प पीडितको नाममा गरिएको । तर सहयोग रकमको खर्च विवरण भने अझै आउन सकेको छैन ।

पैसा हिनामिना भएको छैन भने यसबारे ढिलासुस्ती किन गर्नु ? रेग्मीसम्बद्ध समाजले भुकम्प पीडितको नाममा उठाएको रकमबारे यहाँको नेपाली समुदायमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि पत्रकार महासंघ युरोप शाखाले एक इमेल पठाई उनलाई हिसाब सार्वजनिक गर्न अनुरोध गरेको थियो । उनले हिसाबकिताब गडबड गरेको आरोप नभएर पारदर्शिताका निम्ति निवेदन गरेको थियो । तर उनले पत्रकार महासँघ युरोपलाई हिसाबकिताबबारे पारदर्शी जवाफ दिएनन् र कुनै सम्मेलन गरी बताउने उत्तर दिएका थिए । यो पंक्तिकारले पनि उनीसँग हिसाबकिताबबारे सोद्धा कुनै ठोस उत्तर पाउन सकेन ।

उनले प्रष्ट गर्न ढिलाई गरेपछि सामाजिक संजालमार्फत समेत अनुरोध गर्‍यौँ । तैपनि नेपालको महाविपत्तिको नाममा उठाएको रकमको पूर्ण रुपमा पारदर्शिता जनसमक्ष पेश हुन सकेको छैन । वास्तवमा हिसाबकिताबको सम्बन्धमा उठेको प्रश्नबारे यथार्थ जानकारी दिनु रेग्मी कै हितमा हुनेछ । उनी बेल्जियमको एक राष्ट्रिय राजनैतिक दलसँग पनि सम्बद्ध छन् ।

भुकम्प पीडितका नाममा उठाइएको रकम र समाजसेवाबारे प्रश्न गर्नुपर्ने अवस्था आउनु सुखद् कुरा होइन । यो रकम भुकम्प पीडितको आँशु र दर्दसँग जोडिएको बिषय भएकोले रकम सम्बन्धित पक्षसम्म पुग्नु अनिवार्य हुन्छ । यसबारे गुनासो आएपछि सम्बन्धित व्यक्तिले यथार्थ जवाफ दिनु वान्छनीय हुन्छ । यदि अरु कुनै संघ वा संस्थाले यसरी नै उठाएका रकम सार्वजनिक भएका छैनन् भने ति पनि खोजिने छ । त्यो सकभर आफैँ सार्वजनिक गर्दा सकारात्मक संदेश जाने हुन्छ । तर समाजका नाममा गतिविधि गर्ने र समाजसेवी हुँ भन्नेहरूले हिसाबकिताब देखाउन आनाकानी गर्दा प्रश्नहरू उब्जेका छन् ।

माथिको कविताको आशय पनि हामीले हरेक अन्याय, हरेक अनियमितता र समाजका जिम्मेबार व्यक्तिबाट समाजसेवाको नाममा काम गर्दा उठ्ने सवालहरूसँग जोडिएको छ । समाजसेवाको नाममा उठेको चन्दा रकमको पारदर्शिता अनिवार्य हुन्छ नै । भुकम्प पिडितले राहत पाए नपाएको अनुगमन गर्न पाइञ्छ र पारदर्शिताको विवरण माग्न पनि पाइन्छ । यो व्यक्ति विशेषको गोपनियता र मानहानीसँग जोडिएको कुरो हैन । यो कुनै अध्यारो कुनामा लुकेर गरेको कैरम पनि हैन । यो नेपालको महाविपत्तिको समबेदनासँग गासिएको अभियान भएकोले सम्बन्धित बिषयको उठान सहित चासो राखिएको हो ।

जुन हाम्रो देशको विपत्ति, महासमबेदना, माटो, नेपालीको आँशु र रगतसँग जोडिएको छ । सम्बन्धित व्यक्तिले नचाहेर उठेको रकम सार्वजनिक नगरिएको हो भने त्यो अपराध हो, त्यो नेपाली र सिंगो देश प्रतिको अपराध हो । समय अभाव र अन्य कुनै कारणले सार्वजनिक नगरिएको हो भने जनता जान्न र त्यो सुचना प्राप्त हक प्राप्त गर्न आतुर छ । त्यसको लागि कोहि त बोल्ने पर्छ, कसैले त साहस गर्नै पर्छ, यो अवस्था बाध्यताले आयो भनेर बुझ्नुस् । साहसलाई बटुल्न छोडियो भने त्यो दिन देखि समाज र चिहानमा फरक देखिन छोड्ने छ । त्यसैले हामीले हिम्मतका साथ अनुरोध गरेका छौँ, अब अलिक ढिला हुने लाग्यो । जसरी कार्यक्रमको प्रचारको लागि आतुर गरिएको थियो त्यसरीनै राहतमा कति रकम उठेको थियो ? कति खर्च भयो ? कहाँ खर्च भयो ? कति लाभान्वित भए ? विवरण सहित सार्वजनिक होस् । त्यो पीडित पक्ष, निरिह नेपाली, ति लालाबाला र त्यो दैविक प्रकोपको कारुणिक भग्नावशेषभित्र कसैले आफ्नो अनुहारको चमक देख्छ भने त्यो कसैलाई पनि शैह्य हुनेछैन । चेतना भया ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार