काठमाडौं । बुधवारसम्म केपी शर्मा ओली र पुष्पकमल दाहाल फरक–फरक दलका अध्यक्ष थिए । बिहीवार एमाले र माओवादी केन्द्रको एकता भएपछि दुबै नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष भए । र, योसँगै सुरु भयो केही महिना अगाडिसम्म असंभव ठानिएको उनीहरुको सहयात्रा । तत्कालीन एमाले र माओवादी केन्द्रको कार्यालय निरीक्षण गरेर अध्यक्षद्वयले नेपाली वाम आन्दोलनलाई नयाँ दिशा दिनुपर्ने कठिन जिम्मेवारी थालेका छन् ।
तत्कालिन एमालेका नेताले बिहीवारसम्म आफ्नो कार्यालय रहेको धुम्वाराहीस्थित भवनमा नवगठित नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्वय ओली र दाहाललाई स्वागत गर्दा तत्कालिन माओवादी नेता÷कार्यकर्ताको पनि बाक्लै उपस्थिति थियो । ओलीले आउजाउ गरिरहेको यो कार्यालय दाहालका लागि भने नयाँ थियो । २०७२ सालको भूकम्पपछि एमालेको केन्द्रीय कार्यालय रहेको यो भवनमा दाहाल पहिलो एकै पार्टीका अध्यक्षका रुपमा पटक भित्रिएका हुन् ।
दाहाल पुग्नुअघि नै नेकपा एमाले केन्द्रीय कार्यालय लेखिएको बोर्ड परिवर्तन गरिएको थियो । तत्कालीन एमालेको कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दाहाल र ओलीलाई कार्यालयका कोठा देखाए । प्रधानमन्त्री ओलीले दाहाललाई आफ्नो कार्यकक्ष पु¥याएपछि एउटै टेबुलमा कुसी थपेर दाहालका लागि असनको व्यवस्था गरियो । र, ओली र दाहालले एउटै टेबलबाट पार्टी अध्यक्षता ग्रहण गरे ।
पार्टी एकता टुंगिए पनि केन्द्रीय कार्यालय तत्कालिन माओवादीको प्रयोग गर्ने कि एमालेको भन्ने टुंगिएको छैन । त्यसैले निर्णय गर्नु अघि दुवै अध्यक्षले कार्यालय भ्रमण गरेका हुन् । दुवै अध्यक्षले पार्टी कार्यालयको भौतिक अवस्था बुझेपछि निर्णय लिने छन् ।
धुम्वाराहीपछि दुवै अध्यक्ष तत्कालिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडा पुगे । ओलीका दाहाललाई धुम्वाराही नौलो लागेझैं ओलीको लागि पनि यो भवन नयाँ थियो । तर, दाहाललाई धुम्वाराहीमा जस्तै ओलीलाई कोटेश्वरमा तत्कालिन माओवादी केन्द्रका नेता÷कार्यकर्ताले पार्टी अध्यक्षका रुपमा न्यायो स्वागत गरे । अध्यक्षद्वयसहित तत्कालिन एमालेका नेताले सहिद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेर दुई दल एक भएको व्यवहारिक सन्देश दिए ।
दुई अध्यक्ष पुग्नु अगाडि नै माओवादी केन्द्रको साइन कोर्ड निकालेर नेकपाको राखिएको थियो । तर, सबै ठाउँका बोर्ड हटाउन भ्याइएको थिएन । कोठाहरु निरीक्षण गरेर भौतिक अवस्थाको जानकारी लिएका अध्यक्षद्वयले नेता÷कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे । एकतालाई दरिलो बनाउन विगत बिर्सनु पर्ने दुबै अध्यक्षको धारणा थियो ।
धुम्वाराहीमा नेकपाको केन्द्रीय कार्यालय र कोटेश्वरमान नेकपाको जनसम्पर्कसहित जनवर्गीय संगठनका कार्यालय रहने संभावना बढी छ । बिहीवार पार्टी एकता गरेर नयाँ तरंग ल्याएका दुई अध्यक्षले एकताको व्यवहारिक सन्देश दिन विघटित पार्टीका कार्यालय पुगेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीसँग ३ अर्ब भन्दा बढी सम्पत्ति
विहीवार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग ३ अर्ब भन्दा बढी सम्पत्ति रहेको पाइएको छ । दुवै पार्टीसँग भएको सम्पत्ति हिसाव गर्दा यसको अंक ३ अर्ब भन्दा माथि देखिन्छ ।
एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन एमालेसँग थियो भने माओवादी केन्द्रको चलअचल सम्पत्तिको एकिन तथ्यांक देखिएको छैन । यद्यपी उसको देखिने भवन र कार्यालयहरुकै मात्र हिसाव गर्दा पनि १ अर्ब भन्दा बढीको सम्पत्ति देखिएको छ ।
माओवादी केन्द्रको पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन भएपनि यसको एकीन विवरण माओवादीले सार्वजनिक गरेको थिए । अब दुवै पार्टीको स्वामित्वमा रहेको चलअचल सम्पत्ति अब नेपाल कम्युनिस्ट पार्टीको स्वामित्वमा आउँने तयारी शुरु भएपछि दुवै पार्टीका नेताहरुले सम्पत्तिको खोजविन थालेका हुन् ।
वालुवाटारमा भव्य रात्रिभोजको खर्च नेकपाले व्यहोर्ने
पार्टी एकीकरण भएको खुसियालीमा बिहीबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा दीपावली गर्नुका साथै रात्रिभोज दिइएको थियो । दुई पार्टीका नेता–कार्यकर्तासहित करिब ५ सयजना भोजमा सहभागी भएको थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिइएको भोजको खर्च सरकारी रकमबाट नतिर्ने पार्टीका नेताहरुले दावी गरेका छन् । भोजको खर्च नेपाल कम्युनिष्ट पार्टीले तिर्ने उनीहरुको भनाई छ ।
ब्यबहारमा हेरौँ कम्युनिष्टको दम
एउटै घोषणापत्र लिएर चुनावमा उत्रिएका दुई प्रमुख कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रबीच एकता भएको छ । दुई ठूला वाम घटक एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत हुने चरण सुरुवात भएको छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीमा २०१९ सालदेखि टुट–फुटको श्रृंखला सुरु भएको थियो । दुई दलको एकतासँगै बनेको नेपाल कम्यूनिष्ट पार्टी दक्षिण एसियाकै ठूलो र एसियाको तेस्रो ठूलो वामपन्थी दल बनेको छ ।
चुनावमा कम्युनिस्ट गठबन्धनले स्पष्ट बहुमत पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार त गठन भयो तर सुरुदेखि नै दुई पार्टीबीच एकता हुने नहुने सन्देह जनमानसमा मात्र हैन दुवै पार्टीका नेता र कार्यकर्ताहरूबीच रही नै रह्यो । तर, एमाले र माओवादी अध्यक्ष दुवैले कार्यकर्तालाई एकता हुने आश्वासन दिइरहेका थिए । नभन्दै जेठ ३ गते मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टी एकताको घोषणा भएको छ । पार्टी एकतामा दलगत हैसियतको विवाद बढी नै भएको थियो ।
औपचारिकरूपमा नबताइए पनि दुवै पार्टीका अध्यक्षबीच पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिपछि पार्टी एकता निश्चित भयो ।
२००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालमा पहिलो पटक फुटेको थियो । नेकपाका त्तकालीन महासचिव केशरजंग रायमाझी राजाको पक्षमा पञ्चायतमा बिलय भएपछि पुष्पलाल र तुलसीलाल अमात्यले अलग–अलग पार्टी बनाए । २०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले २०४७ सालमा माक्र्सवादीसँग मिलेपछि नेकपा एमाले बन्यो । २०३४ सालमा मोहनविक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौथो महाधिवेशन एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो । बिहीवार यि दुवै धार एकै ठाउँमा आउँदा एसियामा चीन र भियतनामपछि नेपाल कम्यूनिष्ट पार्टी तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।
योगेश भट्टराई, स्थायी कमिटी सदस्य, नेकपा
पार्टी संगठन, स्वचालित कार्यकर्ता, सामाजिक संस्थामा पहुँच र स्रोत–साधनका दृष्टिले मात्र होइन संसदीय मोर्चामा बलियो पकडका कारण पनि नवगठित नेकपा शक्तिशाली बनेको छ । एकतासँगै केन्द्र, प्रदेश र स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी झनै बलियो बनेको छ । नवगडित नेपाल कम्युनिष्ट पार्टीको शक्ति केन्द्रदेखि स्थानीय तहसम्म यस प्रकार छ ।
प्रतिनिधिसभा : २७५ मध्ये १७४ सदस्य
राष्ट्रियसभा : ५९ मध्ये ४२ सदस्य
६ प्रदेशमा बहुमत
प्रदेश १ : ९३ मध्ये ६७ सदस्य
प्रदेश २ : १०७ मध्ये ३२ सदस्य
प्रदेश ३ : ११० मध्ये ८१ सदस्य
प्रदेश ४ : ६० मध्ये ३२ सदस्य
प्रदेश ५ : ८७ मध्ये ६१ सदस्य
प्रदेश ६ : ४० मध्ये ३३ सदस्य
प्रदेश ७ : ५३ मध्ये ३९ सदस्य
स्थानीय तह
६ महानगरमध्ये ३ मा प्रमुख/ १ मा उपप्रमुख
११ उपमहानगरमध्ये ७ मा प्रमुख
२८० नगरपालिकामध्ये १४६ मा प्रमुख/१७२ मा उपप्रमुख
४८६ गाउँपालिकामध्ये २४३ मा अध्यक्ष/२६२ मा उपाध्यक्ष
बहुलतायुक्त खुला समाज, प्रतिस्पर्धामार्फत श्रेष्ठता, आधुनिक लोकतन्त्रका मूल्य–मान्यताप्रति प्रतिबद्धतासहित दुई ठूला वाम दलको एकीकरणले लोकतन्त्रको सुदृढिकरण, स्थिर शासन तथा विकास र समृद्धिमार्फत जनआकांक्षाको सम्बोधन हुने अपेक्षा छ । अहिंसात्मक बाटो हिँडेर समाजवाद ल्याउने लक्ष्य राखेको नेकपाका लागि चुनावी बाचा पूरा गरी नागरिकको पक्षमा काम गर्न तीनै तहको सरकारमा सुविधाजनक बहुमत छ । राष्ट्र र नागरिक हितको पक्षमा नेकपा नेतृत्वको तीनै तहका सरकारलाई अरुलाई दोष दिएर पन्छिने ठाउँ अब रहेन ।
तीन वटै तहमा स्पष्ट बहुमतको सरकार रहेकै कारण ‘आफू निरन्तर पेलाइमा पर्ने हो कि ?’ भन्ने नेपाली कांग्रेसको आशंका मेटाउँदै नागरिकलाई महसुस हुने गरी परिवर्तन दिनु नै नेकपाको सबैभन्दा ठूलो चुनौती हो । यो अबस्थामा सत्तारुढ कम्युनिस्ट पार्टीमा एकता भएर देशको सबैभन्दा ठूलो पार्टी बनेको छ ।
यो दलको संसदमा सुविधाजनक बहुमत छ । देशका ७ मध्ये ६ प्रदेशमा सरकार छ । अधिकांश स्थानीय तहमा पनि कम्युनिस्टहरूकै वर्चस्व छ । अर्र्केतिर, प्रतिस्पर्धी नेपाली कांग्रेसको प्रभाव कमजोर हुँदै गएको छ । दुई नम्बर प्रदेश सरकारलाई कम्युनिष्टहरूले समर्थन गरेका छन् । यस्तो अवस्थामा भएको कम्युनिस्ट एकता देश र जनताका लागिमात्र हैन स्वयं नेपाल कम्युनिस्ट पार्टीका लागि पनि चुनौती र अवसर दुवै हुने देखिन्छ ।
भागबन्डा नमिल्दा पार्टी एकता नहुने सन्देहसमेत व्यापक भएको थियो । भागबन्डा नै पार्टी एकताको निर्णायक आधार बनेको हो भने निश्चय पनि यसको सन्देश र परिणाम सकारात्मक हुँदैन । यसैले कार्यकर्ताको व्यवस्थापन सम्भवत नयाँ पार्टीका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।
देशभित्र र बाहिरको एउटा पंक्तिलाई कम्युनिस्ट एकताले झस्काएको पनि छ । विशेषगरी उनीहरूले मार्गदर्शक सिद्धान्तका रूपमा अपनाएको माक्र्सवाद लेनिनवादलाई गम्भीरता पूर्वक लिए भने बलियो कम्युनिस्ट पार्टी सर्वसत्तावादी हुने जोखिम हुन्छ । त्यसैले यसको ब्यालेन्स गर्न निकै गाह्रो पर्ने देखिन्छ । बहुमतको दम्भले अहंकार बढाउन सक्ने खतरा रहे पनि नेकपालाई समयले यूगीन अबसर भने पक्कै दिएको छ । त्यो अबसर छोप्न सकिएन भने सफलता चुम्दै गरेको नेपाली वाम आन्दोलन पुनः खुम्चिने अवस्थामा पुग्ने छ ।