रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको झट्टेश्वर माविका प्रधानाध्यापक केवल तिमल्सेनाले आफ्नै विद्यार्थीहरुलाई उनीहरुकै पिसाब खान बाध्य बनाएका छन् ।
प्रअ तिमल्सेनाले विद्यार्थी–विद्यार्थीबीचको सामान्य निहुँमा कक्षा ७ मा अध्ययरत बुद्ध तामाङ, लाक्पा तामाङ र गणेश वुढाथोकीलाई निर्घात कुटपीट गरी पिसाब खान बाध्य बनाएका हुन् ।
गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमल्सेनाले गएको मंगलबार भएको घटनाको बारेमा विद्यार्थीहरुले स्थानीय इलाका प्रहरी कार्यालय धोवीमा शुक्रबार उजुरी दिएपछि घटना बाहिर आएको हो ।
घटना विवरण अनुसार घरबाट विद्यालय आउँदा मिनरल वाटरको बोतलमा खानेपानी लिएर आएका विद्यार्थीद्वय लाक्पा र बुद्धले गणेशको मिलेमतोमा मिनरल वाटरको बोतलमा पिसाव र थुक मिसाएर खुवाएका थिए । त्यसको जानकारी विद्यालय प्रशासनमा आएलगत्तै पानी खुवाउने तीनै जनालाई तिमल्सेनाले त्यही पानी खान लगाएका थिए ।
त्यो पिसाबसहितको पानी खान बाध्य बनाएपछि ती विद्यार्थीहरुले तत्कालै वान्ता समेत गरेका थिए । पिसाब खाएका विद्यार्थीहरु सबैले वान्ता गरेपछि घटनाले थप व्यापकता पाएको थियो ।
सुरुमा उनीहरुले त्यो बोतलको पानी खान नमानेपछि तिमल्सेनाले पिसाब नै खुवाएको ठहरसहित कुटपिट गरी त्यही पानी खान बाध्य बनाएका थिए । यस्तै प्रधानाध्यापक तिमल्सेनाले कक्षा ९ मा पढ्ने एक छात्रलाई त्यसै दिन आफ्नै साथीहरुसँग झगडा गरेको भन्दै निर्घात कुटपिट समेत गरेका थिए ।
उनलाई दिनहुँ गाँजा सेवन गरेर विद्यालय आउने र साथीहरुसँग झैझगडा गर्ने गरेका कारण कपालमा समातेर सामान्य नसिहत मात्र दिएको र अन्य तीनजना विद्यार्थीहरुको हकमा भने आफ्नै साथीहरुलाई नियतबश थुक र पिसाब मिसाएको पानी खुवाउनेलगायत अन्य उच्छृंखल गतिविधि गरेका कारण सामान्य कारवाहीसम्म गरेको तिमल्सेनाले बताए ।
त्यही विषयलाई लिएर आज दिउँसो बसेको विद्यालय समितिको बैठकमा प्रअ लाई समेत आमन्त्रण गरिएको र प्रअ तिमल्सेनाको उपस्थिति नभएपछि विद्यालय व्यवस्थापन समितिले शिक्षकहरु समेतको उपस्थितिमा प्रअ तिमल्सेनालाई पदबाट हटाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले जानकारी दिनुभयो ।
घटनाका कारण विद्यालय र गाउँमा समेत तनाव उत्पन्न भएपछि प्रअ तिमल्सेनाले शुक्रबार सदरमुकाम मन्थली आएर जिल्ला प्रशासन कार्यालयमा तत्काल आफ्नो ज्यानको सुरक्षाको लागि आवश्यक सहयोग गर्न उजुरी दर्ता गराएका छन् । उजुरीपछि जिल्ला प्रशासन कार्यालयले घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन जिल्ला शिक्षा कार्यालय रामेछापमा आजै पत्राचार गरेको जिल्ला शिक्षा कार्यालय रामेछापका विद्यालय निरीक्षक भरत भट्टराईले जानकारी दिनुभयो ।
घटनाका बारेमा विद्यालयका प्रअ तिमल्सेनासँग सम्पर्क गर्दा उहाँले विद्यालय प्रशासनले गरेको निर्णयको बारेमा आफूलाई कुनै जानकारी नै नभएको र गाउँपालिका अध्यक्ष र वडा अध्यक्षसँग आफ्नो व्यक्तिगत रुपमा राम्रो सम्बन्ध नभएकै कारण सामान्य घटनालाई तोडमोड गरी आफूलाई पदबाट हटाउन खोजेको हुनसक्ने बताए ।
।
आफूलाई प्रधानअध्यापक पदबाट हटाउनकै लागि सिङ्गो वडा र गाउँपालिकाले यति तल झरेर बदनाम गर्न खोजेको आरोप समेत तिमल्सेनाले लगाए ।