हलेसी महादेवमाका बारेमा मानिसहरुमा यस्तो धार्मिक आस्था र विश्वास


हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो सगरमाथा अञ्चल खोटाङ जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडा बाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बौद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ।

महादेवस्थान–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाविसको नाम महादेवस्थान रहन गएको हो । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंम्वदन्ती छ । यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्तिलगायतका विशेष महत्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् । यहाँ एउटा चट्टानै चट्टानको थुम्को परेको डाँडामा अवस्थित छ । यस थुम्कोलाई कैलाशपर्वत भन्ने गरिन्छ । यो थुम्कोको परिधी झन्डै एक किलोमीटर जति छ र उचाई २०० फिट जति छ । यो थुम्कोमा अर्को एउटा ठूलो गुफा छ । यसलाई बसाहाथान भनेर चिनिन्छ ।

किरात हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थलमध्ये एक हो ।ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ । यहाँ बर्सेनि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बुलगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् । अर्कातिर हिन्दू धार्मिक किंम्वदन्तीअनुसार सत्ययुगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे । भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने । तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए । त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ । त्यस्तै, बौद्ध धर्मअनुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो । त्यसैले पनि यहाँ बर्सेनि किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् । केहि वर्षअघि कच्ची सडक बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवस्थान पुग्न लामिडाँडा विमानस्थलमै ओर्लिनुपर्ने बाध्यता हटेको छ । अब भने धार्मिक तीर्थयात्रीको बाढी नै लाग्ने हलेसी पुग्न पूर्व पश्चिम राज मार्ग हुदै मिर्चैया- कटारी सडक खण्डबाट पनि पुगिन्छ। भने अहिले मध्यपहाडी राजमार्ग बाट नि सिधै जयराम बाहुनीडाँडा कदुवा च्यास्मिटार, बडहरे ,दुर्छिम छापडाँडा हुदै हलेसी महादेव को दर्शन गर्न पुगिन्छ।-विकिपीडियाबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार