नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको छ । बन्दसँगै देशका विभिन्न ठाउँमा बम विस्फोस समेत भएका छन् भने कयौँ गाडीमा आगजनी भएको छ । यातायात ठप्प हुँदा आफ्नो गन्तव्यमा जाने यात्रु समस्यामा परेका छन् । काठमाडौं उपत्यकामा र प्रदेश नम्बर २ मा भने बन्दको खासै असर परेको छैन । सरकारले राष्ट्रघात र जनताको स्वाभिमानमाथि कुठराघात गरेको भन्दै प्रतिरोधस्वरुप नेकपाले बन्द आह्वान गरेको हो ।
देशभरमा कहा के भयो ?
वीरगन्जमा आगजनी
नेकपाका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ ।
धादिङमा आगजनी
धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेशी ६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । विप्लव नेतृत्वको नेपाल कम्याुनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।
भाटभटेनी सुपरमार्केटमा बम विस्फोट
चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि आइतबार बिहानै बम विस्फोट भएको छ । विस्फोटबाट सुपरमार्केटका सिसाहरु फुटेक छन् । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको प्रहरीले बताएको छ ।
चितवनको लोथरमा पनि वम विस्फोट
त्यस्तै आइतबार बिहान चितवनको लोथरमा पनि वम विस्फोट भएको छ । पुर्वपश्चिम राजमार्गमा बिहानै सुतली बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
क्याम्पमा शंकास्पद वस्तु भेटियो
रूपन्देहीको बुटवल भैरहवा सडकखण्डमा शंकास्पद बस्तु फेला परेको छ । तिलोत्तमा नयाँमिल चोकमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो । बुटवलको फूलबारीस्थित पेन्सन क्याम्पमा पनि शंकास्पद वस्तु फेला परेको छ । बम भएको आशंकामा स्थानीयबासी त्रसित छन् । बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै छ ।
धादिङमा भारतीय ट्रकमा आगजनी
धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेशी ६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय
तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ । बम निष्क्रिय पार्दा ठूलो आवाज आएको थियो । प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको थियो । पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर आवतजावत गरेका थिए ।
झापामा बम विष्फोट
झापाको मेचीनगर–७ स्थित प्रनिक पेट्रोल पम्प नजिकै बम विष्फोट भएको छ । ग्यारेजमा पार्किङ गरी राखेको सुर्योदय यातायातको बसलाई लक्षित गरी बम विष्फोट भएको हो । आइतबार बिहान मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको यात्रुवाहक बसलाई लक्षित गरी अज्ञात समूहले बम विष्फोट गराएको थियो । विस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका एक जना कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीको मोबाइल गाडीमा ढुङ्गा प्रहार
यसैबीच, धनकुटा–९, रुद्रबारीमा सवारी स्कर्टिङमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको ना १ झ १३३४ नम्बरको मोबाइल गाडीमा ढुङ्गा प्रहार भएको छ। कोशी राजमार्ग अन्तरत धरान– धनकुटा सडकखण्डमा चल्ने सवारी साधनहरुलाई स्कर्टिङ गरी लैजाने क्रमममा माथिबाट अज्ञात समूहले ढुंगा हानेको हो । ढुङाले लागेर प्रहरीको भ्यानमा अगाडी पट्टी सामान्य क्षति पुगेको छ । थप अनुसन्धान भइरहेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
धनगढीको महिमा चर्चमा बम विष्फोट
कैलालीको धनगढी उप–महानगरपालिका– ४ बोराडाँडीमा स्थित महिमा चर्च अज्ञात समुहले बम विस्फोट गराएको छ । चर्चमा गए राति साढे ११ बजेतिर चर्चमा कोही नभएको समयमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए । चर्चको पर्खाल बाहिर अज्ञात समुहले बम विष्फोट गर्दा पर्खाल, चर्चको दराज, झ्याल ढोकामा क्षति भएको महिमा चर्चका पास्टर कैलाश करियाले जानकारी दिए । घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
एनसेलमाथि बम हमला, दुई टावर ध्वस्त, सेवा अवरुद्ध
बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राति बम विस्फोट गर्नुको साथै आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षति पुगेको छ । रनियापुरको टावरमा शनिबार राती साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जि गाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
अज्ञात समुहले आगजनी गरे पनि समयमै पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ ।
कर छलि गरेको भन्दै विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीद्धारा हवाई फायर
बन्द शान्तिपूर्ण भइरहेको बेला प्रहरीले देउखुरीको धान खोलामा गोली चलाएको छ । बन्दकर्ताहरुले सवारी सधानलाई बन्दको पालन गर्न आग्रह गरिरहेको बेला प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीले अन्दाधुन्दा हवाई फायर गरेको स्थानीयले बताएका छन् । अहिले सो क्षेत्र शान्त रहेको छ ।
बन्दको बिरोधमा बुटवलमा मोटरसाइकल र्याली
बन्दको बिरोध गर्दै युवाहरुको समूहले बुटवलमा मोटरसाइकल र्याली निकालेका छन् । विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समूहले बन्दको बिरोधमा र्याली निकालेको हो । ‘बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित शंकरनगरदेखि बुटवलको गोलपार्कसम्म र्याली निकालिएको हो ।
र्यालीपछि ट्राफिकचोकमा आयोजित कोणसभामा विवेकशील साझा पार्टी रुपन्देही संयोजक हरिकृष्ण अधिकारी, समूहका अर्जुन खरेल लगायतका युवाहरुले बोल्दै बन्द र हड्तालले कसैको पनि हित नगर्ने हुँदा बन्द सधैंका लागि अन्त्य हुनुपर्ने बताए । बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उनीहरुको माग छ । बन्द आव्हानका कारण सार्वजनिक यातायातका सवारीसाधन चलेका छैनन् । तर, निजी गाडीहरु र मोटरसाइकल भने चलेका छन् ।
विमानस्थलमा बम
पोखरा विमानस्थलको १ नम्बर गेट नजिक बम भेटिएको छ । बम राखिएको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । र, अहिले बमलाई निष्कृय पारिएको छ । प्रदेश नं ४ को सुरक्षा गोष्ठी आयोजना गरिएकै दिन विमानस्थलमा बम भेटिएको हो । गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा सहभागी छन् । उनी विमानस्थलबाट कार्यक्रम स्थलमा पुगेपछि बम फेला परेको थियो । गृहमन्त्री कार्यक्रममा आउँदै गर्दा एयरपोर्टकै गेटमा बम भेटिनुलाई चुनौतिपूर्ण मानिएको छ । बम राख्नेको खोजी भइरहेको र अहिले कास्कीको अवस्था सामान्य रहेको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।