केपी शर्मा ओलीको राष्ट्रवादी मुखुण्डो च्यातियो : विवेकशील साझा


विवेकशील साझा पार्टीले केपी शर्मा ओली नेतृत्वको वाम सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएको टिप्पणी गरेको छ।

‘आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो च्यातिएकै छ’, विवेकशील साझाका प्रवक्ता रमेश पौड्यालद्वारा शनिबार जारी प्रेस वक्तव्यमा भनिएको छ।

यस्ता गतिविधीले सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको पनि विवेकशीलले उल्लेख गरेको छ।

‘केपी ओली नेतृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छ’। विवेकशीलले भनेको छ- ‘अतः हामी समस्त लोकतन्त्र पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौं।’

प्रहरी हस्तक्षेपबारे विवेकशील साझा पार्टीको वक्तव्य

यही २०७५ बैशाख २८ गते, शुक्रबारदेखि सुरु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा विवेकशील साझा पार्टीले आफ्ना धारणा यस अघि नै सार्वजनिक गरेको व्यहोरा सर्वविदितै छ। प्रथमतः छिमेकी मुलुकका प्रधानमन्त्रीको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिँदै स्वागत नै गरेका हौँ। यद्यपी २०७२ को महाविनाशकारी भूकम्पले थिलथिलो पारिरहेको समयमा भारतले नेपाल बिरुद्ध लगाएको नाकाबन्दी पनि हामीले भूलेका छैनौं भन्ने संदेश हामीले दिन खोजेकै हौँ। हाम्रो आशय स्पष्ट थियो र छ, भारतीय प्रधानमन्त्रीले नेपाली नागरिक समक्ष नाकाबन्दीका लागि क्षमायाचना गरेर मात्रै नयाँ शीराबाट विश्वसनीय सम्बन्धको शुरुवात हुनसक्छ।

यसै शिलशिलामा हिजो शुक्रबार हाम्रो केन्द्रीय कार्यालय, बखुंडोल, ललीतपुरमा “मोदिजी स्वागत छ, तर नाकाबन्दी विर्सेका छैनौँ” लेखेर टांगिएको ब्यानर प्रहरीद्वारा बलप्रयोग गरि हटाईएको छ। बिना कुनै पुर्जी प्रहरी टोली पार्टी कार्यालयमा प्रवेश गर्नु, राति अबेरसम्म प्रहरीले केन्द्रीय कार्यालयमा गस्ती गर्नु, सादा पोशाकका मानिसहरुले कार्यालयको निरन्तर निगरानी गर्नु जस्ता घटनाक्रमले हाम्रो कार्यालय परिसरलाई एक ढंगले आतंकित पारिएको छ। प्रहरी हस्तक्षेपको यो शृंखला आज (शनिबार) दिउँसोसम्म निरन्तर छ।

यसै प्रतिकुलताका बीच हिजो र आज हामीले कालो वेलुन उडाएर हाम्रो सांकेतिक विरोधको कार्यक्रम शान्तिपुर्ण तवरबाट सम्पन्न गरेका छौँ। हिजोको प्रहरी हस्तक्षेप बिरुद्ध बुटवल, चितवन लगायतका स्थानहरुमा पनि आज प्रदर्शन भएका छन्। र, त्यहाँ पनि सरकारद्वारा प्रहरी हस्तक्षेप गरिएको छ। बुटवलबाट हाम्रा केन्द्रीय नेता एवं प्रदेश ५ का संयोजक श्री अनुपमान सैंजुलगायत दर्जनौं सदस्यहरुलाई पक्राउ गरिएको छ।

आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने ओली सरकारले भारतीय ‘नाकाबन्दी’ उल्लेख गरेकै कारण ब्यानर हटाउनु र प्रहरी दमनमा उत्रनुले सरकारको राष्ट्रवादी मुखुण्डो त च्यातिएकै छ नै, धेरैले आशंका गरेजस्तो यो सरकार अलोकत्रन्त्रिक एवं अधिनायकवादी बाटोमा जान लागेको त होइन भन्ने गम्भीर प्रश्न पनि खडा भएको छ।

केपी ओली नेत्तृत्वको सरकारको दमनकारी कदमलाई हामीले राजनीतिक स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षपको रुमा लिएका छौँ। सरकारको यो कदम कुनै एउटा पार्टीविशेषका बिरुद्ध भन्दा पनि लोकतन्त्रमा विश्वास राख्ने सबैका बिरुद्धको कदम हो भन्ने हाम्रो ठम्याई छ। अतः हामी समस्त लोकतन्त्र(पक्षधर एवं न्यायप्रेमी जनसमुदायलाई सरकारको असहिष्णु रवैयाका बिरुद्ध एक्यबद्ध हुन आह्वान गर्दछौं। साथै, हिजोको प्रहरी हस्तक्षेपका बिरुद्ध आवाज बुलन्द गर्नुहुने सबै राजनीतिक दलका नेता, नागरिक समाज एवं प्रेस जगत एवं प्रति हार्दिक आभार प्रकट गर्दछौँ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार