शनिबार भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा नेकपा माओवादी केन्द्रका मन्त्रीहरु अनुपस्थित भएका छन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सबै मन्त्रीहरुलाई बोलाइएको भएपनि माओवादी मन्त्रीहरु असन्तुष्ट बन्दै सहभागि नभएका हुन् ।
अरुण तेस्रोको सिलन्यासको कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनलाई समेत नबोलाएपछि माओवादी मन्त्रीहरु रुष्ट बनेका छन् । अहिले नेपालमा गठबन्धनको सरकार भएपनि मोदी भ्रमणबारे प्रधानमन्त्रीले माओवादी मन्त्रीहरुसँग कुनै परामर्श नगरेको बताइएको छ । यद्यपी प्रचण्ड र मोदी बीच शनिबार होटल हायतमा भेटबार्ता भएको छ ।
माओवादी मन्त्री अनुपस्थित कार्यक्रममा मोदीलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोदीलाई अभिनन्दन गरेका थिए ।
सो अवसरमा मोदीलाई शान्तिको प्रतिक बुद्धको ५५ किलोको मुर्ति पनि उपहार दिइएको थियो ।