नेपालको वैदेशिक व्यापार घाटा निरन्तर उकालो लाग्दै गएको छ । आर्थीक वर्षको ९ महिनामा नेपालको व्यापारघाटा चुलिएर ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । यो व्यापारघाटा २१.५ प्रतिशतले बृद्धि भएको हो । नेपालको कुल वैदेशिक ब्यापार ९ खर्ब ३४ अर्ब रुपैयाँको भएकोमा अत्यधिक आयातका कारण व्यापारघाटा चुलिएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार कुल व्यापार अघिल्लो वर्षको तुलनामा १९.५ प्रतिशतले बढेपनि पैठारीमा (आयात) देखिएको अत्यधिक बृद्धिका कारण व्यापार घाटा चुलिएको देखिएको छ । यो नौ महिनामा निर्यात ५९ अर्बको हुँदा आयात ८ खर्ब ७४ अर्ब रुपैयाँको भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा ४ खर्ब ७४ अर्बको व्यापारघाटा थियो । त्यो बढेर आर्थिक वर्ष ०७३/०७४ मा आइपुग्दा ६ खर्ब ७१ अर्ब रुपैयाँ पुग्यो । र, अहिले व्यापारघाटा अझै बढेर ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको हो ।
नेपालको सबैभन्दा ठुलो वैदेशिक व्यापार साझेदार भारत भएकाले भारतसँगै नेपालको सबैभन्दा बढी व्यापार घाटा छ ।
भारतबाट मात्रै चालु आर्थिक वर्षको साउन देखि चैतसम्म ५ खर्ब ७६ अर्बको सामान आयात भएको छ । यता चीनबाट १ खर्ब १३ अर्ब रुपैयाँको सामान आयात भएको छ । यस्तै भियतनामबाट ९ अर्ब, इन्डोनेसियाबाट ९ अर्ब रुपैयाँको सामान आयात भएको हो । यस्तै थाइल्याण्ड अर्जे्न्टिना, कोरिया लगायतको देशबाट सामान आयात भएको छ ।
यता नेपालले ५९ अर्बको सामान निर्यात गरेको छ । निर्यात हुने वस्तुहरुमा ऊनी गलैचा, तयारी पोशाक, फेल्टका सामानहरु, मुसुरोको दाल, पोलिष्टर तथा धागो, टेक्सटाइल, फलाम, स्टिल, हस्तकलाका सामान लगायत छन् ।
ऊनीको गलैचा ५ अर्बको, तयारी पोशाक ४ अर्ब रुपैयाँको, फलाम तथा स्टिल ४ अर्ब रुपैयाँको, पोलिष्टर तथा धागो ५ अर्ब रुपैयाँको निर्यात भएको हो ।
नेपालको निकासी भारत, संयूक्त राज्य अमेरिका, टर्की जर्मनी, युके ,चीन, इटाली, फ्रान्स लगायतका देशमा हुने गरेको छ ।