आफ्नो जिन्दगी अन्त्यका लागि ३ मेमा घर छाडेका वैज्ञानिक डा डेभिड गुडअलले स्वेच्छिक मृत्युवरण गरेका छन् ।
लन्डनमा जन्मिएका उनी स्वेच्छिक मृत्युको लागी अस्ट्रेलिया स्थित घर छाडेर स्विटजरल्याण्ड गएका थिए । बोटनी र पर्यावरणका प्रख्यात वैज्ञानिक गुडअलले अन्तिम भोजनको रुपमा माछा र चिप्ससँगै चीजले बनेको केक खाएका थिए । उनले विथोवनको ‘ओड टु जोई’ संगीत सुनेका थिए ।
इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग गरेको थियो ।
एक्जिट इन्टरनेशनलका संस्थापक फिलिप नित्जेले गुडअलको मृत्यु भएको औपचारिक जानकारी दिएका छन् । उनले भने, ‘स्विटजरल्याण्डको बेसलस्थित लाइफ साइकल क्लिनिकमा विद्वान वैज्ञानिकको शान्तिपूर्ण निधन १०ः३० मा भयो ।’
उनमा कुनै गम्भीर प्रकारको रोग थिएन तर उनले जीवनको सम्मानजनक अन्त्य चाहन्छु भन्थे । उनी भन्दथे, ‘मेरो स्वतन्त्रता खोसिँदैछ त्यसैले स्वेच्छिक मृत्युवरण रोजें ।’
आफ्ना परिवारका सदस्यहरुबाट घेरिएका गुडअलले अन्तिम श्वास लिनुअघि भने, ‘म आफ्नो जीवनको अन्त्यबाट खुसी छु । विगत करिब एक वर्षदेखि मेरो जीवन राम्रो थिएन । म यसलाई अन्त्य गर्न पाउँदा निकै खुसी छु ।’ वैज्ञानिक डा. गुडअलले स्वेच्छिक मृत्युवरण रोजेपछि यसले विश्वव्यापी चर्चा पाएको थियो । त्यसैले गुडलले भनेका थिए, ‘मेरो मृत्युको चर्चाले वृद्धवृद्धाको इच्छा मृत्युको अधिकारको मागलाई बल मिल्ने छ । म पनि यही चाहान्छु ।’