मोदीको भ्रमणः दुई सय बढीलाई समात्ने तयारी, फेसबूकमा विरोध गरे सिधैँ पक्राउ


भोली(शुक्रवार) बाट हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्उवस्था अत्यन्तै कडा पारिएको छ । जनकपुरबाट भ्रमण शुरु गर्ने मोदी दिउँसो १ बजेतिर काठमाडौं उत्रिनेछन् । मोदीको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा राज्यका ४ वटै सुरक्षा निकाय परिचालन भएको छ । मोदी जाने क्षेत्र जनकपुर, काठमाडौं र मुस्ताङमा भारतबाट आएको विशेष सुरक्षा दस्ताले पनि नेपाली सुरक्षाकर्मीसँगको सहकार्यमा सुरक्षा अवस्थाको विश्लेषण गरिरहेको छ । गृह मन्त्रालय स्रोतका अनुसार मोदीको सुरक्षाका लागि भारतबाट आएको सुरक्षा टोली पहिलो घेरामा हुनेछ । दोस्रो घेरमा नेपाली सेनाको घेरा हुनेछ भने सशस्त्र र नेपाल प्रहरी तेस्रो घेरामा हुनेछन् । राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुलाई बाहिरी अवस्थाको अध्ययनका लागि परिचालन गरिने छ ।
काठमाडौंमै १० हजार सुरक्षाकर्मी
मोदी काठमाडौंमा बस्दा सुरक्षा व्यवस्थापनका लागि १० हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।
मोदीको सुरक्षाका लागि काठमाडौंमा सबैभन्दा बढी, ६ हजारको संख्यामा नेपाल प्रहरी, ३ हजार ३ सयको संख्यामा सशस्त्र प्रहरी र ७ सयको संख्यामा नेपाली सेना परिचालन हुनेछन् ।
२०० बढीलाई पक्राउ गर्ने तयारी
मोदीको भ्रमणका क्रममा हुने संभावित विरोध तथा नाराजुलुस निस्तेज पार्न राजधानीबाट २०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ । प्रहरी स्रोतका अनुसार बिहीवार विहानदेखि नै मोदीको विरोधमा उत्रिएका केही व्यक्तिलाई नियन्त्रणमा लिन शुरु गरिसकिएको छ ।
विहीवार अपराह्नसम्म करिब १ दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र फेसबूकलगायतका सामाजिक सञ्जालमा मोदी भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइने छ ।
‘बिहीवार विप्लवका केही कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ,’ महानगरीय प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, ‘शुक्रवार विहानसम्म करिब २०० जनालाई नियन्त्रणमा लिने तयारी छ ।’
प्रहरीले फेसबूकलगायत सामाजिक सञ्चालमा मोदीको नेपाल भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी गरेको छ । प्रहरीले मोदीको भ्रमणमा हुने संभावित घटनालाई रोक्न विप्लवका कार्यकर्तादेखि ग्रेटर नेपाल अभियानमा संलग्न व्यक्तिलाई निगरानीमा राखेको छ । मोदीको नेपाल भ्रमणको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

115

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार