जनकपुरधाम : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवद्र्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवद्र्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप सो परियोजनाको शुभारम्भ हुन लागेको हो ।
भारतको पर्यटन मन्त्रालयबाट भारतभर दर्शन योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट एक हो । यो परियोजनाभित्र अयोध्या, शृङ्गपुर, चित्रकुट, सीतामढी, बक्सर दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, रामेश्वरम्, हम्पी, नासिक र नागपुर समेटिने छन् भने नेपालतर्फ जनकपुरधामलगायत भगवान् राम र सीताको जीवनगाथासँग जोडिएको धार्मिक स्थलको विकास गर्ने लक्ष्य राखिएको छ ।
संस्कृतिविद् रामभरोस कापडीका अनुसार रामायण सर्किट परियोजना बृहत् रामायण कालको विस्तार नेपाल, भारत र श्रीलंकासम्म भएको पृष्ठभूमिमा आधारित परियोजना हो र यसमा राम र सीताको पाइलाले जहाँ–जहाँ स्पर्श गरेको छ ती क्षेत्रसँग जोड्ने प्रयास हो ।
जनकपुरधाम र अयोध्यालाई तीर्थाटनको सूत्रका रूपमा विस्तार गरिने सो परियोजनाभित्र प्राचीन पोखरी, मन्दिर, मिथिलाको विरासतको संरक्षण, रामायणकालीन तीर्थस्थललाई पर्यटनसँग आबद्ध गरी जनकपुर र अयोध्यालाई आर्थिक रूपमा सबल बनाउने मार्गचित्र कोरिएको छ ।
जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री हुने गरेका कारण पनि रामायण सर्किटले थप पर्यटकलाई आकर्षण गर्ने विश्वास गरिएको छ ।
जानकी नवमी, विवाह पञ्चमी र रामनवमी पर्वमा समेत जनकपुरधाम र अयोध्या तीर्थाटन गर्ने तीर्थालुका लागि महत्वपूर्ण स्थल हुन सक्ने गरी परिकल्पना गरिएको रामायण सर्किट परियोजनालाई सांस्कृतिक यात्राका रूपमा लिइने अपेक्षा गरिएको छ ।
प्राध्यापक डा महेन्द्रनारायण मिश्र रामायण सर्किटको पूर्ण विवरण सार्वजनिक नभइसकेको भएपनि यसको परिकल्पनाले रामायणकालीन सभ्यता र संस्कृति जीवन्त राख्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुहुन्छ ।
रामायण सर्किट परियोजना सम्पन्न भएपछि जनकपुरधाम र अयोध्याबीचको ६५० किलोमिटर भूखण्डमा कृषि, औद्योगिक, परिवहन र पर्यटन क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।