विनाशकारी भुइँचालोपछि ४ ठाउँमा एकिकृत नमुना बस्ती निर्माण गरेर समाजसेवामा वाहवाही कमाएका कलाकार सिताराम कट्टेल र उनकी पत्नी कुन्जना घिमिरे ‘मिनी नेपाल’ र अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माणको क्रममा छन्।
यो सँगै धुर्मुस सरसफाई अभियानमा समेत जोडिएका छन्।सोमबार आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै धुर्मुसले वीर अस्पताल सरसफाई तथा रंगरोगन गर्न सहयोगको आग्रह गरेका थिए।
मंगलबार धुर्मुसलाई ‘लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान’ले वीर अस्पताल सरसफाईको लागी दुई लाख १ हजार रुपैया र धुर्मुस सुन्तली फाउण्डेशनलाई पाँच लाख रुपैया सहयोग सहित सम्मान गरेको छ।
समाजसेवी स्व.लिलाराम न्यौपाने र कुन्तीदेवीको सम्झनामा स्थापित प्रतिष्ठानले धुर्मुस,सुन्तली लगायत शिक्षासेवी विनोद शाही,सञ्चारकर्मी चेत पन्त र राष्ट्रिय क्रिकेट खेलाडी वसन्त रेग्मीलाई सम्मान गरेको छ।
धुर्मुसले यसरी स्टाटस लेखेका छन् -‘हामी धुर्मुस सुन्तली द्धय कलाकारिता संगैं निरन्तर समाज सेवा मार्फत राष्ट्र सेवामा लागिरहँदा यहाँहरु सबैको साथ, सहयोग र सम्मान पाई नै रहेका छौं । यसै क्रममा आज ‘सामाजिक सेवा सम्मान २०७५’ मार्फत नगद रु. १ लाख सहित भैरहवामा ‘लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान’ ले गरेको सम्मानले अझै धेरै उर्जा प्राप्त भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनलाई रु. ५ लाख र बिर अस्पताल सरसफाई र रंगरोगनका लागि रु. २ लाख १ हजार समेत प्रदान गर्नुभएकोमा प्रतिष्ठान र न्यौपाने परिवार प्रति हार्दिक कृतज्ञता र आभार प्रकट गर्दछौं । समाजसेवी तथा दानविर स्व. लिलाराम न्यौपाने बुवाको असिम सेवा भावले थप प्रेरणा मिलेको छ । साथै हामी संगै सम्मानित व्यक्तिव शिक्षासेवी बिनोद शाही ज्यू, सञ्चारकर्मी चेतन पन्त ज्यू र राष्ट्रिय क्रिकेट खेलाडी बसन्त रेग्मी ज्यूहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्द्छौ!’