सार्वजनिक यातायातमा रहेको सिन्डिकेट अन्त्य गर्ने सरकारी कदमको स्वागत गरेका यातायात व्यवसायीले सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचार खर्च भने नव्यहोर्ने बताएका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले यातायात समितिहरुको बैंक खाता सरकारले रोक्का गरेकाले गाडी दुर्घटना भए यात्रुहरुको उपचार गर्न नसकिने बताएका हुन ।
साथै, उनले बसपार्कबाट काउन्टर हटाउने काम गरिएको भन्दै सडकबाट सेवा सुचारु गर्ने बताएका छन् । अध्यक्ष कर्माचार्यले विकल्पबिना सरकारले चालेको कदमले सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको दावी गरे । उहाँले आफूहरुको २ लाख गाडी र त्यसमा आवद्ध मजदुरहरुको व्यवस्थापन तत्काल गर्न पनि सरकारसँग माग गर्नुभयो ।
त्यसैगरी, पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले यातायात क्षेत्रको सुधारका लागि आवश्यक कदम तत्काल चाल्ने प्रतिवद्धता व्यक्त गरे ।