काठमाडौं । अन्ततः सिन्डिकेटधारी यातायात व्यवसायीकाे मनाेबल कमजाेर भयाे । सिन्डिकेटविरूद्ध सरकार कडा रूपमा प्रस्तुत भएपछि उनीहरूले बाह्य समर्थन पनि खासै पाएनन् र सरकारसामु घुँडा टेके ।
सिन्डिकेट कायम राख्न पाउनुपर्छ भन्दै अाएका उनीहरू अन्ततः आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन र कम्पनीमा दर्ता हुन तयार भएका हुन् । यससँगै वर्षौंदेखि कायम सार्वजनिक यातायतकाे सिन्डिकेट पनि अन्त्य हुने भएको छ ।
यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म यातायात व्यवसायी र सरकारी पक्षबीच वार्ता भएको थियो । वार्तामा यातायात व्यवसायीले आन्दोलन फिर्ता लिने, कम्पनिमा जाने लगायतका सहमति भएको स्राेतले जानकारी दिएकाे छ ।सहमतिको विस्तृत विवरण अाज सोमबार दिउँसो संयुक्त पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने सहमति भएको स्राेतकाे दाबी छ ।
सरकारले यातायात समिति र संघलाई खारेज गर्दै कम्पनीमा दर्ता हुन भनेको थियो । तर, त्यसविरुद्ध २१ गते सांकेतिक बन्द गरेका यातायात व्यवसायीले २७ गतेदेखि अनिश्चितकालीन यातायात हड्ताल गर्ने र सरकारलार्इ घुँडा टेकाउने घोषणा गरेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अत्यावश्यकीय सेवा अवरूद्ध गर्दै हड्ताल गर्नेलार्इ कानुन अनुरूप कारवाही गर्ने स्पष्ट अडान लिएपछि यातायात व्यवसायी पछि हट्न बाध्य भएका हुन् ।