क्यान्सरसँग जुधिरहेका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देबकोटाको नयाँ पद्धतिबाट उपचार सुरु गरिएको छ । एलोपेथिक पद्दतिबाट उपचार सम्भव नभएपछि उनको आयुर्वे्दिक पद्दतिबाट उपचार थालिएको हो । राष्ट्रपति विद्या देवि भण्डारी शनिबार बिहान डा. देबकोटालाई भेट्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन्। त्यसक्रममा डा देबकोटाले भण्डारीसँग भनेका थिए, ‘नेपाल आएपछि आयुर्वे्दिक औषधिपनि प्रयोग गर्न थालेको छु।’ जानकारी अनुसार, न्यूरो अस्पतालका अलावा डा देबकोटाले अहिले आयुर्वे्दिक डाक्टर ऋषिराम कोइरालाको सल्लाहमा आयुर्वे्दिक पद्दतिबाट उपचार गराइरहेका छन्। डा कोइराला सिंहदरबार बैद्यखानाका पूर्व प्रमुख हुन्।
डा. देबकोटाका पिता स्व. होमनाथ देबकोटा पनि आयुर्वेदका प्रसिद्ध डाक्टर थिए। बेलायतबाट फर्केपछि आफ्नो स्वास्थ्यमा निकै सुधार भएको जानकारी पनि उनले राष्ट्रपति भण्डारीलाई दिएका थिए। राष्ट्रपति भण्डारीसँग उनले भनेका थिए, ‘बेलायतमामा छँदा हरेश खाएको थिएँ, यहाँ आएपछि उत्साहित भएको छु।’
स्वास्थ्यलाभको कामना गर्दै आफूलाई भेट्न आउनेहरुसँग डा आफूलाई कुनै रोग नै नलागेको जसरी प्रस्तुत हुने गरेका छन्। क्यान्सरसँग जुधिरहेका उनले उच्च आत्मबल देखेर भेट्न जानेहरुपनि छक्क पर्ने गरेका छन्।