काठमाडौँ – भूकम्प पछि विभिन्न सम्पदाको पुनः निर्माणमा प्रतिवद्धता जनाएको भारतले तीन वर्ष भइसक्दा पनि सम्पदा निर्माण सुरु गरेको छैन।
भारतले काठमाडौ उपत्यका तथा उपत्यका बाहिर गरी २८ गुम्बा तथा मठ मन्दिरको पुनःनिर्माणमा प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता अनुसार हालसम्म पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको छ। भारतले पाटनको नापिचन्द्र महाविहार, गोपिचन्द्र महाविहार, भिमसेन मन्दिर, सिन्धुपाल्चोकको चिरी गुम्बा, सेतो मछिन्द्रनाथ मन्दीर, ओखलढुंगाको नामहोलिङ गुम्बा, तथा ललितपुरको रत्नकार महाविहार लगायतका सम्पदा पुनःनिर्माण गर्ने प्रतिवद्धता जनाएको थियो।
२०७२ असार १० गते नेपालले आयोजना गरेको दाता सम्मेलनमा भारतले पुनर्निर्माणका लागि एक खर्ब रुपैयाँ सहायता गर्ने घोषणा गरेको थियो। त्यसमा २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण रहेको थियो। गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबा भारत भ्रमणमा गएका बेला भारतसँग अनुदान तर्फको २५ अर्ब रुपैयाँको सम्झौता भएको थियो। सम्झौता अनुसार उक्त रकममध्ये निजी आवास पुनर्निर्माणमा १० अर्ब, विद्यालय पुनर्निर्माणमा पाँच अर्ब, स्वास्थ्य संस्था पुनर्निर्माणमा पाँच अर्ब र सम्पदा पुनर्निर्माणमा पाँच अर्ब खर्च गर्ने उल्लेख छ । तर सम्झौता अनुसार खर्च भने हुन सकेको छैन।
‘भारतले सम्पदा पुननिर्माणमा प्रतिवद्धता जनाएपनि हालसम्म पुनःनिर्माणको काम सुरु नै भएको छैन’ पुरातत्व विभाग स्रोतले नागरिकसँग भन्यो । विभागले हालसम्म विभिन्न २३ वटा सम्पदाको लागत अनुमान तथा ड्रोइङ डिजाइन तयार पारेर भारतीय दुतावासमा बुझाईसकेको छ । तर प्रतिवद्धता व्यक्त गरेको तीन वर्षसम्म पनि प्रतिवद्धता पुरा हुन सकिरहेको छैन ।
एक सय सम्पदाको पुनःनिर्माण सकियो
०७२ बैशाख १२ को विनाशकारी भूकम्प तथा त्यस पछि आएका पराकम्पनका कारण देशभरका सात सय ५३ सम्पदाहरुमा क्षति पुगेको थियो । त्यसमध्य हालसम्म करिब एक सय सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ। क्षति पुगेका मध्य तीन सय १४ सम्पदा पुनः निर्माणको योजना तयार पारेको विभागले हालसम्म ७० वटा सम्पदाको पुननिर्माण सम्पन्न गरिसकेको छ स्वदेशी तथा विदेशी संघसंस्थाहरुको पहलमा ३० सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ।
विभागको तथ्यांक अनुसार हालसम्म पुन निर्माण भएका सम्पदा मध्य काठमाडौ भेली प्रिजरभेसन ट्रस्टले विभिन्न आठ वटा सम्पदाको पुनः निर्माण गरेको छ । ट्रस्टले पुनःनिर्माण सम्पन्न गरेका सम्पदामा पाटनमा भिमसेन मन्दिर अगाडीको सिंहको मूर्ति, योग नरेन्द्र मल्लको शालिक, सुन्दरीचोक पूर्वीलग, तलेजु र मुलुचोकको छाना, हनुमानढोकाको महादेव मन्दिर र हनुमान ढोकाकै लक्ष्मी नारायण मन्दिर रहेका छन्।
त्यस्तै अमेरिकन फण्डको सहयोगमा हनुमान ढोकाको मञ्चमुखी हनुमान मन्दिर र मोहनकाली चोकको पश्चिम मोहडाको पुनःनिर्माण सम्पन्न भएको छ । ह्यारिटेज एण्ड इन्भारमेन्ट कन्जरभेसन फाउन्डेशन नेपालले चाँगु नारायणस्थित किलेश्वर मन्दिरको पुनःनिर्माण सम्पन्न गरेको छ भने काठाडौ महानगर पालिकामार्फत हनुमान ढोका स्थित नगरा घर तथा काठमाडौको गाहिटी संरक्षण र हनुमानढोका स्थित हिसत्तलको पुननिर्माण सम्पन्न भएका छन्।
हनुमान ढोका विकास समितिमार्फत हनुमानढोकास्थित देगु तलेजु र श्वेत भैरवको पुननिर्माण सम्पन्न भएको छ । त्यस्तै बौद्धनाथ क्षेत्र विकास समितिमार्फत बौद्धनाथ स्तुपाको पुनःनिर्माण सम्पन्न भएको छ भने स्वयम्भू महासमिति मार्फत शान्ति पुर पूर्वको पाटी, मञ्जुश्री सत्तल, टासी गोमांग चैत्य, बसुबन्धु चैत्य, पुरानो स्वयम्भू चैत्य, प्रस्तर मयुर स्तम्भ, अनन्तपर अगाडीको ठूलो घण्ट, बसुन्धरा मन्दिर, बसुन्धरा मन्दिरसँगैको धर्छे, मयूस्तम्भ प्रस्तर, ताराका दुई प्रस्तर स्तम्भतथा षडाक्षरी लोकेश्वरको पुनःनिर्माण सम्पन्न भएको छ।
पुरातत्व विभाग अन्तर्गत चाँगुनारायण मन्दिर, ललितपुरस्थित बज्रबाराही मन्दिर, दोलखाको कमलामाई मन्दिर, गोरखा संग्रालयको माथिल्लो तल्ला मर्मत, भक्तपुरको दक्षिण बाराही मन्दिर, साँखुको कृष्ण मन्दिर, हाँडी गाउँको नाटेश्वरी मन्दिर, हनुमान ढोकाको तलेजु मन्दिर, लगायतका ७० वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। त्यस्तै भक्तपुर नगरपालिकाको मातहतमा तीन वटा सम्पदाको पुननिर्माण सम्पन्न भएको छ भने पशुपति क्षेत्र विकास कोषको पशुपतिको मातहतमा लाल गणेश मन्दिरको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ।
विभागका अनुसार हालसम्म निर्माण सम्पन्न भएका सम्पदा मध्य २९ वटा सम्पदा विश्व सम्पदा क्षेत्र अन्तर्गतका रहेका छन् भने बाँकी ७० सम्पदा विश्वसम्पदा भन्दा बाहिरका रहेका छन्। विभागले हाल निर्माणका लागि तयारी गरेका तीन सय १४ सम्पदाको पुनःनिर्माण आर्थिक वर्ष ०७५÷०७६ सम्ममा पुरा गर्ने लक्ष्य राखेको छ। भूकम्पले क्षति पुगेका सात सय ५३ वटै सम्पदाको पुनः निर्माणका लागि भने अझै थप समय लाग्ने विभागले जनाएको छ।