“म रैथाने काठमाण्डौंको”

– सबी महर्जन

काँडा भन्दा तिखा बचनले
जहाँ पाइला पाइलामा बिझाइन्छ
आगो भन्दा पोल्ने ब्यबहार
गल्ली गल्लीमा भेटिन्छ
मानवता त कोठामा सजाइएको सोपिस जस्तै छ यहाँ
देखावटीपन लाई खोज होलसेलमा पाइन्छ जहाँ

– सबी महर्जन

हो
म त्यै काठमाण्डौंको रैथाने हुँ
तर माफ गर्नुहोला म स्वार्थी बन्न सकिँन
म मा अझै मानवता बाँकी छन्
कागको बिचमा बकुल्ला झैँ कहिल्यै सुहाइनँ

पैसाको भाषा यहाँ हरकसैले सजिलै बुझ्छन्
सोझाजति सबै आफ्ना कमाउने भाँडा ठान्छन्
महँगो यहाँ सबथोक छ छुनपनि गार्हो छन्
तर मान्छेमात्र किन आज मान्छेकै तगारो छन्

हो
म यहि ठाउँको रैथाने हुँ
तर माफ गर्नुहोला म पैसाकै पूजारी बन्न सकिँन
मसंग पनि मन छ हजूर ढुँगाको मुर्ती बन्न सकिँन

भट्टीका गिलासमा बिक्ने सराबजस्तै
लाखौंको पसिना सस्तैमा बिक्छन्
मायाको ब्यापार फापेको ठाऊँ यो
मायाकै भिखमाग्ने पनि हजार छन्

हो
म यस्तै वातावरणको रैथाने हुँ
तर माफ गर्नुहोला म श्रमको सम्मान गर्छु
म मा पनि मायाको भोक छ धोखाको खेति गर्न सकिँन

देखावटी आबरणमा डुबेकाछन् सबै यहाँ
मौलिकता त खै कहाँ हो कहाँ हराएको छ रे
मन्दिरै मन्दिरको शहर हो यो बस् भगवान मात्र हराको हो रे

हो हजूर
म यहि शहरको रैथाने हुँ
तर माफ गर्नुहोला म म हुनुमा गर्व गर्छु
समान देख्छु सबै त्यसैले भगवान म आफैभित्र भेट्छु….

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार