पोखरा : रोल्पा हरिगाउँका २७ वर्षीय युवराज घर्तीमगर नेपाल आइडलको सिजन–२ को अडिसनमा सहभागी हुन पोखरा आइपुगेका छन् । काठमाडौंको मूच्र्छना संगीतालयमा मनोजराज शिवाकोटीसँग संगीत सिकिरहेका मगर नेपाल आइडलमा सहभागी हुन पाउँदा निकै उत्साहित छन् ।
उनीसँगै पोखरा घुम्न आएका भोजपुर षडानन्द नगरपालिकाका २९ वर्षीय रवीन्द्र राई पनि पहिलोपटक नेपाल आइडलको अडिसनमा सहभागी हुन पाएकोमा निकै खुसी देखिए । रोल्पाबाट आएका युवराज र भोजपुरका रवीन्द्र मुग्लिनमा भेट भएपछि सँगै पोखरा आएका हुन् । पोखरा घुम्न आएका तीन साथीमध्ये दुईजनाले पोखरा घुमाइलाई जीवनकै अविस्मरणीय बनाउन अडिसन यहीँबाट दिएको सुनाए । सानै उमेरदेखि गायनमा रुचि राख्ने डिप्लोमा अध्ययनरत राईले पनि काठमाडौंको बसुन्धरामा संगीत सिकेका छन् । गीतसंगीतमा सानैदेखि लगाव भएका रोल्पाका युवराजले माओवादी द्वन्द्वका बेला सामना परिवारले गाएका गीतले संगीतमा रुचि जगाउन सघाएको सुनाए ।
धादिङ पुच्छरबजारका १६ वर्षीय कृषल कँडेलले नेपाल आइडलमा दोस्रोपटक सहभागी हुन पोखरा आएको बताए । पहिलो नेपाल आइडलमा पोखराबाट छनोट भए पनि घरायसी कारणले काठमाडौं जान नपाएकाले फेरि थप तयारीका साथ अडिसन दिन पोखरा आएको उनले सुनाए । पहिलो नेपाल आइडलमा प्रथम चरणबाटै बाहिरिएका पर्वत कुस्मा बजारका राजकुमार परियार पनि सिजन–२ को अडिसनका लागि संगीत सिकेर विशेष तयारीका साथ आएका छन् । ‘नेपाल आइडल मेरो सपना हो, त्यसैले थप तयारीका साथ आएको हुँ’, उनले अन्नपूर्णसँग भने ।
नेपाल आइडलमा पहिलोपटक सहभागी हुन आएकी तनहुँकी शृंखला वाग्ले अडिसनस्थल पोखरा सिमलचौरको जनप्रिय माविको प्रांगणमा गीत गुन्गुनाउँदै थिइन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा डिप्लोमा अध्ययनरत उनले नेपाल आइडल आफ्नो मीठो सपना भएको सुनाइन् । सिन्धुलीका मोहन लामा, चितवनकी एलिसा सापकोटा, पोखरा बिरौटाकी अदिती शर्मा, पोखरा पुम्दीभुम्दीका महेन्द्र बराल एकै ठाउँमा बसेर अडिसनको तयारीबारे छलफल गरिरहेका थिए । पहिलो नेपाल आइडलमा जज राउन्डबाट बाहिरिएकी अदितीले अहिले अडिसन दिन संगीत सिकेर आएको सुनाइन् । गण्डकी ताराको विजेतासमेत रहेकी शर्माले यसपालि आपूm नेपाल आइडलमा राम्रो क्षमता देखाउने आत्मविश्वास सुनाउँदै थिइन् ।
पहिलो नेपाल आइडलमा सफलता नमिलेपछि पोखराको गुरुकुल र त्रिवेणी संगीतालयमा संगीत सिकेका बरालले नेपाल आइडल आफ्नो सपना भएकाले तयारीका साथ फेरि आएको बताए । यसपटकको नेपाल आइडलमा राष्ट्रिय ख्यातिप्राप्त गायक कर्ण दासका छोरा माकुस दास पनि अडिसन दिन आइपुगेका छन् । पोखरा रामबजारका दास बाबाको संगीतबाट प्रभावित भएर आफूले पनि संगीत सिकेर तयारीका साथ नेपाल आइडलमा सहभागी भएको उनी बताउँछन् । व्यस्तताका कारण पहिलो नेपाल आइडलमा सहभागी जनाउन नपाएको दुःख उनीसँग छँदैछ । दासले अहिले बाबा र साथीभाइको सुझावले नेपाल आइडल अडिसनमा सहभागी हुन आएको बताए । मेलोडियस गायन मन पराउने दाससँग सबैखाले गीत गाउनसक्ने आत्मविश्वास छ ।
एपीवान टेलिभिजनले आयोजना गरेको गायन प्रतियोगिता नेपाल आइडलमा १६ देखि ३० वर्ष बीचका युवाको सहभागिता छ । पोखराले पहिलो नेपाल आइडलको उपाधि जितिसकेको छ । पोखरामा भएको दोस्रो सिजनको अडिसनमा पनि उत्साहका साथ संगीतप्रेमी युवाको उल्लेख्य सहभागिता भएको नेपाल आइडलका प्रोजेक्ट हेड तथा डाइरेक्टर सुरेश पौडेलले बताए ।
नेपाल आइडलको दोस्रो सिजनको उपाधि विजेतालाई प्राप्त हुने पुरस्कारबारे सबै अडिसन समाप्त भइसकेपछि घोषणा हुनेछ । नेपाल आइडल एपीवान टेलिभिजनले निर्माण र प्रसारण गरे पनि नेपालकै गर्वको विषय भएको प्रोजेक्ट हेड पौडेलले बताए । पहिलो संस्करणको नेपाल आइडल अत्यधिक सफल भएको र दोस्रो सिजनलाई पनि दर्शक, संगीतप्रेमी, कलाकारले उत्तिकै माया गर्ने निर्णायक इन्दिरा जोशीको विश्वास छ । नेपाली संगीत क्षेत्रको उत्कृष्ट कलाकारको खोजीका लागि नेपाल आइडल दोस्रो सिजन थप महŒवपूर्ण हुने जोशीले बताइन् ।
यसअघि धनगढी, नेपालगन्ज, हेटौंडा, धरानमा अडिसन सकेर आइडलको टिम पोखरा आएको हो । त्यसपछि काठमाडौंमा अडिसन हुनेछ । एपीवान टेलिभिजनले नेपाल आइडलको दोस्रो सिजनलाई ३४ भागमा प्रसारण गर्नेछ । यही साउन १० देखि साताको दुई दिन एपीवान टेलिभिजनमा नेपाल आइडल प्रसारण हुने आयोजकले बताएका छन् ।