मैले करेन्ट लाउँदालाउँदै सनमको सास रोकियो : गोरेका सहयोगी

टेकराज मल्ल २०६२ सालतिर काभ्रेपलान्चोक देउपुर मन्डनबाट काठमाडौं आए ।

काठमाडौंमा उनका काकाको घर थियो। २ महिनासम्म काकाको घरमा बसेका उनी पछि कोठा खोज्न निस्किए।

१२ वर्ष बित्यो। यो १२ वर्षमा मल्लको जिन्दगीमा निकै उतारचढाव आए।

काकाको आश्रयबाट छुट्टिएपछि उनलाई बिहान बेलुकाको छाक टार्न र कोठा भाडा तिर्न धौधौ थियो। अहिले उनी ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा अभियुक्त बनेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

गएको माघमा ३३ किलो सुन नेपाल भित्र्याउने उनै थिए। यो सुन हराएपछि उनीहरुको समूहका सनम शाक्य र सानु बनको मृत्यु भैसकेको छ।

१२ वर्षमा उनी कसरी सुन तस्करी गर्ने चुणामणि उप्रेती ‘गोरे’का विश्वास पात्र बने, कसरी दर्जनौं पटक अवैध सुन नेपाल भित्र्याउने समूहको नेतृत्व गरे भन्ने समितिलाई उनले दिएको बयानमा उल्लेख छ।

समितिमा दिएको उनले बयानमा उनले काकाको घर छोडेपछि जे काम आइपर्छ त्यही गर्थे। केही समयपछि न्यूरोडको पार्किङमा उनले काम पाए। पार्किङ गरिएका सवारीबाट रकम उठाउने काम गर्न थाले।

त्यहीँ उनको चिनजान बेनु श्रेष्ठसँग भयो, जो सुन व्यापारी थिए। उनको पसल न्यूरोडमै थियो।

पार्किङमा मल्लले फूर्तिसाथ काम गरेको देखेर ती सुन पसलेले उनलाई पसलमा काम गर्न बोलाए। सुनप सलमा धेरै मान्छे आउँथे। गोरे भन्ने चुडामणि उप्रेती तिनैमध्ये एक थिए।

एकदिन गोरे र बेनु श्रेष्ठको कुराकानी मल्लले सुने। गोरेले श्रेष्ठसँग भनेका थिए- यो केटो राम्रो काम गर्दो रहेछ यसलाई हाम्रो काममा लाउनुपर्छ।

त्यसपछि श्रेष्ठले आफूलाई विदेश जाने हो भनेर सोधेको मल्लको बयानमा उल्लेख छ। सुरूमा विदेश जान नमानेको तर श्रेष्ठले पटकपटक ‘जाउ राम्रो कमाइ हुन्छ’ भनेर फकाएको उनले बताएका छन्।

‘बेनुले मलाई पटक पटक तिमी विदेश जाउ राम्रो कमाइ हुन्छ भनेर आश देखाउथे। विदेशमा बस्ने गरी जान्नँ भनेपछि उनले लामो समय बस्नु पर्दैन। दुबई गएर १०/१५ दिन बस्ने त्यसपछि फर्किने हो। तिमीलाई पनि राम्रो कमाइ हुन्छ भनेपछि म रेडी भएँ,’ उनले बयानमा भनेका छन्।

दुबई जान राजी भएपछ श्रेष्ठले उनलाई गोरेकहाँ पठाए।

तिनकुनेमा गोरे र मल्लको भेट भयो। तिनकुनेमा देख्दा गोरेले आफूलाई तलदेखि माथिसम्म हेरेको र एकपटक फनक्क घुम्न लगाएको पनि बयानमा मल्लले भनेका छन्।

‘७ दिन भित्र पासपोर्ट बनाई मलाई भेट्नु भनेपछि हामी छुट्टियौं,’ उनको बयानमा उल्लेख छ।

पासपोर्ट बनाएको ३ महिना पछि ५/७ जनाको समूहसँगै मल्ल दुबई उडे। विमानस्थलमा संजय खरेल उनलाई लिन आएका थिए। उनीहरू नजिकैको कोठामा पुगे। संजय र शिवकुमार गुबाजु बसिरेका थिए, केहीबेरमा गोरे पनि आइपुगे।

१५ दिनपछि गोरेको खबर आयो- ल तँ नेपाल फर्की।

उनी फर्किने तरखर गर्दै थिए, शिवानी खरेल नामकी एक युवती आइन्। उनले साथमा झोला पनि बोकेर ल्याएकी थिइन्। उनैले मल्ललाई दुबई एयरपोर्टदेखि नेपालको विमानस्थलसम्म आँउदा के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने सिकाइन्।

‘तैँले बोकेको झोलामा ४ किलो सुन छ, नेपालको एयरपोर्ट पुगेपछि टिजी भन्ने सानु बनलाई दिनु भनिन्,’ उनको बयानमा भनेका छन्।

सुरूमा मल्लसँगै शिवानी पनि आएकी थिइन्। विमानस्थलबाट उनलाई थाहै नदिई बाहिर निस्किइन्।

विमानस्थलमा चेकजाँच हुनुअघि नै विमानस्थलका कर्मचारी सानु बनलाई मल्लले चार किलो सुन बुझाएका थिए।

झन्डै १० वर्ष अघि ४ किलो सुन नेपाल भित्र्याएर मल्लले तस्करी थालेका थिए । त्योबापत् उनले ६० हजार रूपैयाँ पाए।

मल्लले बयानमा भनेका छन, ‘एरपोर्टबाट कोठामा आएँ, दिउँसो साहुजी बेनु श्रेष्ठले मलाई फोन गरी पैसा लिन बोलाए। ६० हजार रूपैयाँ दिए। र फेरि पनि जानुपर्छ है भने।’

३ दिनपछि सुन बोक्न मल्ल फेरि दुबई गए।

यसपालि उनी एक्लै थिए।

बेनु श्रेष्ठले जसोजसो भनेका थिए त्यसै गरे। दुबईमा गोरेलाई भेटे। १५ दिन त्यहीँ बसे। पछि गोरेले उनलाई ५ किलो सुनको झोला दिए। गोरेले नै उनलाई दुबईको विमानस्थलसम्म पुर्‍याइदिए।

त्रिभुवन विमानस्थलमा आइपुगेपछि मल्लले झोला जाँच हुनुअघि सानु बनलाई नै दिए।

‘त्यसपछि पनि उनीहरूले भने बमोजिम कहिले ७, कहिले ८ किलो बोक्दै ल्याउँथें, एकपटक १६ किलो पनि ल्याएको थिएँ,’ उनले बयानमा भनेका छन्।

केही समयपछि बेनु श्रेष्ठ र गोरेको ‘पाटनरसिप’ छुट्यो। मल्ल गोरेसँग काम गर्न थाले।

‘काम गर्दै जाँदा उनले मलाई एकदमै विश्वासिलो पात्र मानेर गाडीमा लिएर हिँड्ने, उसैको गाडी चलाउन दिने गर्थे। चाहिएको पैसा पनि दिन्थे,’ मल्लले भनेका छन्।

गत माघ ९ गते मल्ल र रोहित आचार्य दुबईबाट साढे ३३ किलो सुन बोकेर आए। यसपालि पनि एयरपोर्टमा सानु बनलाई जिम्मा लगाए अनि आ-आफ्नो घर गए। बेलुकामात्र सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटियो भन्ने खबर पाएको बयान उनले दिएका छन्।

सानु बनको मृत्यु

सुन हराएको खबरपछि उनले भविन राई, लाक्पा शेर्पा र टुकबहादुर मगरलाई भेटे। भारतमा रहेका गोरेलाई जानकारी पनि गराए। उनैले भने बमोजिम चारै जना २ वटा गाडीमा सुन खोज्न एयरपोर्ट पुगे। सानु बन, तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछ गरे।

सानुले दुइटा मोटरसाइकलमा आएका ४ जना अपरिचितले अनामनगरबाट सुन लुटेको बताए।

उनीहरूसँग काम गर्ने मोहन काफ्ले, सनम शाक्य, रूस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्की घर गएका थिए। भविन राईले तिनीहरूलाई फोन गरेर बोलाए। मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की भोलिपल्ट बिहान काठमाडौं आइपुगे। रुस्तम मियाँ र सनम शाक्य पनि छुट्टाछुट्टै समयमा काठमाडौं आए। सबैलाई बोलाएर सोधीखोजी गरियो तर सुन फेला परेन।

६/७ दिनपछि गोरे भारतबाट आए।

सबैलाई जम्मा पारेर कसरी सुन लुटियो भनि सोधपुछ गरे। अनुसन्धान थाले।

‘त्यो ठाउँबाट सुन लुटियो भन्ने कुराको विश्वास भएन यिनीहरुले यहाँ भनेनन् भारतमा लगी सोधपुछ गर्नुपर्छ भनेर गोरेले योजना बनाए,’ मल्लले बयानमा भनेका छन्।

काफ्ले, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की, टुकबहादुर मगर, सुरेन्द्र गौतम, तक्ले, एलबी मगर, सानु बन, बालकृष्ण खत्रीलाई गोरेले सिन्धुलीको खनियाँ खर्क पुर्याए।

सोधपुछबाट भुर्जुन भोटेले साढे ३३ किलो सुन लगेको छ भन्ने निष्कर्ष निक्लियो।

सबै काठमाडौं फर्के।

भुर्जुन भोटेको खोजबिन हुँदै थियो सानु बन परिवारसहित गायब भए।

त्यही बेला सनम शाक्य सालाको बिहे छ भनेर गोरेसँग विदा भए।

भोलिपल्ट २० किलो सुन प्रहरीले एयरपोर्टबाट समातेको खबर आयो।

गोरेले सुन प्रहरीले समात्यो सबै जना सेभ बस्नु भने। सुन फेला परेको हल्लामात्रै रहेछ भन्ने थाहा पाएपछि फेरि उनीहरूले सानु बनलाई खोज्न थाले।

‘सानु बनको टिममा एयरपोर्ट भित्रका कर्मचारी तक्ले, एलबी मगर, बालकृष्ण खत्रीलाई सोधपुछ गर्न थाल्यौं,’ मल्लले बयानमा भनेका छन्, ‘सानु बन गायब भएको ४ दिनपछि एयरपोर्टमै रहेको कुरा थाहा भयो। म, गोरे, लाक्पा शेर्पा, भविन राई, रोहित आचार्यलगायत एयरपोर्टको गेटबाहिर बस्‍यौं।’

सानु बनलाई बोलाउन एलबी मगरलाई एयरपोर्टभित्र पठाइयो। मगरले सानु बन बाहिर नआउने भने।

सानु बनलाई बोलाउन मगर फेरि गए। तर पनि बन आएनन्।

केही मिनेटपछि नेपाल आयल निगमको ट्याङकरले किचेर सानु बनको मृत्यु भयो भन्ने खबर आयो।

सनम शाक्यको मृत्यु

त्यसपछि गोरे, रुस्तम मियाँ, लाक्पा शेर्पा, दावा शेर्पा, रोहित आचार्य र भोजराज भण्डारी कोही ट्याक्सीमा र कोही नाइट बसमा पुर्वतर लागे।

उनीहरू पूर्वतिर आउन लागेको मोहन काफ्ले र सनम शाक्यले थाहा पाए। उनीहरु भागेर आसामतिर गए। यो कुरा थाहा पाएपछि गोरेले उनीहरूको परिवारलाई कहाँ छ बोलाऊ भनेर दबाब दिए। परिवारलाई दबाब दिएको थाहा पाएपछि उनीहरू गोरेको सम्पर्कमा आए।

सिलगुढीमा गोरेको सनम र मोहनसँग भेट भयो। त्यहाँ अलिअलि कुटपिट पनि भयो।

अरूसँग पनि सोधखोज गर्दा मोहन, सनम, रुस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्कीमाथि गोरेको शंका बढ्यो। उनले कुरा निकाल्न नयाँ उपाय लगाए सबै जना पिकनिक जाने। उर्लाबारी नजिकैको जंगलमा पिकनिक गए। त्यसपछि निर्वाना क्लबमा बसे। उनीहरू जहाँजहाँ बस्थे गोरेले सुन पत्ता लगाउन एकअर्कालाई कुट्न लगाउँथे। कहिले सनमले पिट्थे कहिले पिटाइ खान्थे।

एकले अर्कालाई पिट्दा खासमा सुन हराउनमा सनम, नरेन्द्र र मोहनको हात छ भन्ने निष्कर्षमा गोरे पुगे।

‘भविन राईले सुन हराएको दिन सनम शाक्य काठमाडौंमा नै रहेको बतायो। सुन हराएको जानकारी पाउँदासमेत पूर्व छु भनी सनमले ठगेको मोहन र नरेन्द्रलाई थाहा भएको पत्ता लाग्यो। सालोको बिहेमा उर्लाबारी जान्छु भनी तर सनम निशासिंह ठकुरीसँग काठमाडौंको होटलमा बसेको कुरा खुल्यो।

त्यसपछि पनि गोरेले उनीहरूलाई सँगै लिएर हिँडे। उनीहरू फरकफरक गाडीमा हिँड्थे।

‘फागुन १८ गते उर्लाबारीको सोल्टीखोला नजिकको चउरमा पुग्दा गोरे पहिले नै पुगिसकेका रहेछन्,’ मल्लले भनेका छन्, ‘मोहन काफ्लेको हात खुट्टा बाँधी गोरेले पाइपले कुट्दै थियो। सनम र नरेन्द्र म चढेको गाडीमा थिए।उनीहरूलाई पनि गाडीबाट निकालेर हातखुट्टा बाँधी पाइपले कुट्न थाले।’

मान्छेले देख्ने भएपछि काफ्ले र शाक्यलाई जंगलमा लगियो। रूखमा बाँधेर कुटियो। फेरि गाडीमा राखेर करेन्ट लगाइयो।

सनम बेहोस भए तर सुनबारे मुख खोलेनन्। मल्लले गोरेलाई भने- सनम त बेहोस भयो। सुनबारे नबोलेसम्म करेन्ट लगाउन नछोड्नु भन्ने गोरेको निर्देशन थियो।

‘सनमको सास बन्द भयो। मर्‍यो कि भनी हेर्दा धड्कन नचलेपछि मर्न त दिनु हुन्न भनेर हतारहतार ड्राइभरलाई ग्लुकोज लिन पठाएँ,’ उनले बयानमा भनेका छन्, ‘ग्लुकोज लिएर आउँदासम्म सनम मरिसकेको थियो। अब के गर्ने भन्ने सल्लाह भयो।’

केहीले सनमको लास कोशी वा त्रिशुलीमा फाली दिनुपर्छ भने। कसैले काल्पनिक एक्सिडेन्टजस्तो बनाएर छाडी दिनुपर्ने बताए।

‘तर गोरेले जंगलमै खाल्डोमा पुर्न पर्छ भनेर लाक्पा शेर्पा र टुकबहादुर मगरलाई खाल्डो खन्न लगायो। अलिकति खनेपछि उसले कता फोन गर्‍यो र खाल्डो खन्न छोड्दे भन्यो,’ मल्लले भनेका छन्।

उनीहरू गाडीमा लास बोकेर धरानको निर्भाना कन्ट्री क्लब पुगे। कोही बियर खान थाले, कोही गफमा भुले।

मल्लको बयान अनुसार उनीहरूको योजना धरानबाट बिहानमात्र हिँड्ने थियो तर कसैले गोरेलाई फोनमा सनम मरेको कुरा उर्लाबारीमा थाहा भइसकेको सुनायो।

अरू तितरबितर भए। गोरे र मल्लचाहिँ सँगै थिए।

डिएसपी प्रजित केसीसँगको भेट र आफ्नो पक्राउबारे मल्लको वयान

एकछिनमा गोरेले संजेल (सई बालकृष्ण संजेल) मामालाई फोन गरे। सनमको मृत्यु भएको जानकारी गराए।

‘मामा केस मिलाइदिनु तपाईंलाई २ करोड दिन्छु’ भन्दै फोन राखे।

‘फोन राखेपछि गोरेले मलाई सनमको लास जिम्मा लेऊ तिम्रो परिवारलाई ५० लाख दिन्छु र सेटल पनि गरिदिन्छु भने। मैले हुन्छ भनें,’ मल्लको बयानमा उल्लेख छ।

लास जिम्मा लगाउँदा गोरेले अपराध महाशाखाका प्रहरीसँग सबै कुरा भइसकेको र टोली नआउन्जेलसम्म धरानमा लास घुमाउँदै बस् भने।

‘महाशाखाबाट प्रहरीको टोली आइपुगेपछि तँलाई भेटेर सबै कुरा उनीहरूले नै मिलाउछन्। तैंले चिन्ता लिनु पर्दैन। तँलाई जसरी पनि अदालतबाट निकाल्ने काम मेरो हो भनी मलाई विश्वास दिलायो त्यसपछि म गाडी लिएर निस्कें,’ उनले बयानमा भनेका छन्।

गोरेले मामा भन्ने सई संजेल डिएसपी प्रजित केसीसँगै आए। उनीहरूसँग एक रात होटलमा बसेको बयान पनि मल्लले दिएका छन्।

‘इटहरीको स्वास्तिका होटेलको कोठा नम्बर ५०६ मा केसी, ५०९ मा प्रहरी जवान मेष राना, प्रहरीको गाडी चालक र म बस्यौं। संजेल मामा ५१० बसे,’ उनले बयानमा भनेका छन्।

प्रहरी टोलीसँग लास कतै जंगलमा लिएर फाल्ने कुरा भयो।

‘दुहवी आएपछि केसीले मेष रानालाई फोन गरे। उनले जंगल खोजेर लासको व्यवस्थापन गर्न भने। त्यसपछि हामी दुहवी बजारबाट दाहिनेतर्फ गयौं,’ उनको बयानमा उल्लेख छ।

जंगल नभेटिएपछि विराटनगरतर्फ आउँदै गर्दा आफूसँगै बसेका प्रहरीले हतकडी लगाएर पक्रेको मल्लले बयान दिएका छन्।

त्यसपछि उनी प्रहरीको हिरासतमा पुगे। लामो बयानपछि उनीसहित ६३ जनाविरूद्ध बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको छ।

सेतोपाटिबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार