ओलीसँगको भेटपछि किन पुगे प्रचण्ड नेपालको निवासमा ?

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार एमालेका दुई शीर्ष नेतासँग भेट गरेका छन् । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर बिहान भेटेका दाहालले मध्यान्ह एमालेका अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई उनको कोटेश्वरस्थित निवासमा पुगेर भेटवार्ता गरेका छन् ।


बालुवाटारमा पुगेर दाहालले ओलीसँग पार्टी एकताबारे छलफल गरेका थिए । एमालेसँगको एकतालाई लिएर ‘असुरक्षित’ महसुस गरेका दाहालले भेटघाटलाई तीब्र बनाएका हुन् ।

पार्टी एकता र महाधिवेशनपछिको आफ्नो भूमिकालाई लिएर दाहालले असुरक्षित महसुस गर्दै आएका छन् । बधबार माओवादी केन्द्र सचिवालयको बैठकमा दाहालले त्यही कुरा अभिव्यक्त गरेका थिए ।

आफू एकताको पक्षमा भए पनि सम्मानजनक र समानतालाई ध्यान दिइनुपर्ने कुरा दाहालले बैठकमा राखेका थिए । उनले ५०-५० को हैसियतामा मात्रै पार्टी एकता हुनुपर्ने अडान राखेका थिए ।

ओलीलाई भेटेपछि दाहाल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्ट उनको कोटेश्वरस्थित निवासमा पुगेका थिए । जहाँ पनि दुई नेताबीच पार्टी एकतालाई नै लिएर छलफल भएको जानकारी नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

अध्यक्ष ओली र नेपालको गठजोड देखेर दाहालले एकता भएपछि आफूलाई असुरिक्षत महसुस गर्दै आएका छन् । त्यसँगै आफ्ना नेताहरुको व्यवस्थापन पनि दाहालका लागि ठुलो चुनौतीको विषय बनेको छ ।

नेता नेपाललाई भेटेका दाहालले आजै अपरान्ह ओलीसँग पुन: सं‌वाद गर्ने भएका छन् । वैशाख ९ मै हुने पार्टी एकता दुई दल र नेताबीच अझै विश्वासको वातावरण नबनिसकेपछि पर धकेलिएको थियो ।

दुई पार्टी एकताका लागि बनेका दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेको तथा एकता सं‌योजन समितिले पनि आफ्नो काम करिब सकेको अवस्थामा अझै दुई दलबीच विश्वासको वातावरण बनिसकेको छैन ।

यस्तो अवस्थामा बुद्ध पूर्णिमापछि दाहालले एमाले नेताहरुसँगको छलफल तीब्र बनाएका हुन् । दुई दलले एकताको मिति यही वैशाख २२ गते घोषणा गर्ने चर्चाबीच दाहालको दौडधुप बढेको हो ।

स्रोतका अनुसार दुई दलले यही २२ गते एकताको मिति घोषणाको तयारी गरेका छन् । तर अझै पनि उनीहरुबीच लेनदेनका धेरै विषय मिल्न बाँकी नै रहेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालोदेखि नयाँ पार्टीको वैचारिक सिद्धान्त, जनयुद्ध शब्द र सूर्य चिन्हलाई लिएर दुवैबीच मत बाझिएको अवस्थामा दाहालको दौडधुपलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

स्रोतका अनुसार दाहालले पार्टी एकतापछि आफ्नो भूमिकालाई लिएर पनि एमाले नेताहरुसँग छलफल गरेका हुन् । ओलीको प्रभाव बढिरहेका बेला अर्का नेता नेपालसमेत उनीनिकट रहेर सक्रिय रहेपछि दाहालले पार्टी एकतापछि आफ्नो भूमिका र जिम्मेवारीबारे दुवै नेताबाट सुरक्षाको प्रत्याभूति खोजेको दाबी स्रोतले गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार