विराटनगर- साढे ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २९ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता भएको छ। प्रहरीले सरकारी वलिकको कार्यालयमा बुझाएको मिसिलका आधारमा अभियोग पत्र तयार पारी उनीहरू विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको हो।
पक्राउ परेकाहरूसहित ६३ जनालाई आपरधिक समूह स्थापना र सञ्चालन, सुन चोरी पैठारी तथा चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान अन्तर्गत प्रतिवादी बनाएको जिल्ला अदालत मोरङले जनाएको छ। ‘प्रतिवादी ६३ जना मध्ये पक्राउ परेका २९ जनालाई अभियोगपत्रसाथ अदालतमा बुझाइएको छ ’जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलाले भने। उनका अनुसार १ सय ५३ पेजको अभियोगपत्रमा व्यक्ती अनुसार फरक—फरक मुद्दा लगाइएको छ। प्रतिवादीहरूलाई १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबरको विगो लगाइएको छ। उनिहरूले सन् २०१५ देखि हालसम्म पटक–पटक अबैध रुपमा ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुन चोरी पैठारी गरी चोरी निकासी गरेको अभियोगपत्रमा उल्लेख छ। सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गरेको छ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गरेको छ।
मोरङका प्रहरीका अनुसार बहालवाला र पूर्व गरी ७ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ७ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीका उच्च अधिकारीहरू पूर्वडीआईजी गोविन्द निरौला,एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्का रहेका छन् । त्यसैगरी विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू रहेका छन् । व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङ विरुद्ध संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ। सनम हत्यामा प्रत्यक्ष संलग्न रहेको भनिएका मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई सनम हत्याका प्रतिवादी बनाइएको छ। उनीहरु विरुद्ध कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा दर्ता गरिएको छ ।
सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वको छानवीन समिति गठन गरेको थियो । विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेको थियो। शवलाई गायब बनाउन स्कार्पीयोमा राखेर लैजाँदै गर्दा प्रहरीले विराटनगर—३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो । हराएको सुन भने अहिलेसम्म फेला परेको छैन । पक्राउ परेकाहरू बिहीबार देखि जिल्ला अदालत मोरङमा बयान लिइनेछ। त्यसपछि थुनछेक बहसुरू हुने र प्रमाणहेरी साधारण तारिख, धरौटी र पुरपक्षमा लैजानेबारे अदालतले आदेश दिने जनाइएको छ।
पत्रकारलाई लात्ती र मुक्का
जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेर फर्कनेक्रममा फोटो खिच्न गएका पत्रकारहरूलाई एसएसपी दिवेश लोहनीले दुव्र्यवहार गरेका छन्। लोहनीले अलनलाईन खवरका पत्रकार ध्रुव भट्टराईलाई लात्ताले हानेका थिए । उनले लात्ता हान्दा ध्रुव भट्टराईको क्यामारामा लागेको थियो। यस्तै उज्यालो अनलाईनका पत्रकार सुमन तिम्सिनालाई पनि मुक्काले हानेका थिए । फोटो खिच्न खोज्दा आक्रोशित भएका लोहनीले पत्रकारलाई तथानाम गालि गर्दै लात्ता र मुक्का प्रहार गरेका थिए।