काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानताका आधारमा मात्र एमालेसँग पार्टी एकता हुने बताएका छन्। बुधबार बसेको पार्टी बैठकमा एकताका विषयमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका शृङ्खलाबद्ध बैठकबारे ब्रिफिङ गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
समान हैसियतामा एकताका लागि जोड दिँदै आएका प्रचण्डले सम्मानजकन, न्यायोजित र समानताका आधारमा मात्र एकता गर्ने विषयमा आफू अडिग रहेको पार्टी बैठकमा ब्रिफिङ गरेका हुन्। बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘समानताका आधारमा एकता गर्ने विषयमा अडिग रहेको कुरा अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नु भएको छ।’
यसअघि नै पार्टी एकताका विषयमा निर्णय गर्ने जिम्मेवारी दुई पार्टीका अध्यक्षलाई दिइएको थियो। बिहीबार प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसँग प्रचण्डले छलफल गर्ने कार्यतालिका रहेको छ। त्यसपछि पुनः पार्टीभित्र छलफल हुने भुसालले जानकारी दिइन्।
सँगै बुधबारको बैठकले पार्टीको संगठानिक स्थितिको बारेमा समेत छलफल गरेको छ।