प्यारो मान्छे … हो हामी दुई मुटु एक भएका थियौं (हजुरको नाम ढुंगामा लेखियो)

  अम्बिका कार्की


प्यारो मान्छे …
हो हामी दुई मुटु
एक भएका थियौं ,
देवी देवता साक्षी राखेर
सँगै जिउने ,सँगै मर्ने
वाचा गरेर पनि
त्यो वाचा पूरा नगर्ने अर्धाङ्गिनी मै हुँ,
किनकी
हजुरले मलाई मात्र छोड्नु भएन,
हाम्रो प्रेमको निशानीलाई
मेरो जिम्मामा सुम्पेपछी
मैले म भएर जिम्मेवारी निभाउनु थियो र
निश्चित परिधिमा फूल रोपेर फुलाउनु थियो।
जम्मा जम्मी चारबर्षका
ती यादहरूले
पूरा जीवन व्यतीत गर्न
यो समाजमा
गोरेटो बनाउने माहोलको
सृजना गर्नु थियो।
हाम्रो मुटुको टुक्रालाई
हामीले देखेका सपना अनुसार
आकार दिनु थियो ।
थाहा छैन,

कहाँ हुनुहुन्छ हजुर?
मलाई लाग्छ
के हजुरले मलाई देख्नुहुन्छ त?
मैले हजुरको सम्झनामा
महसुस गरे झैं
हजुरले महसुस गर्नु हुन्छ त?
थाहा छैन मलाई
यो स्वर्ग नर्क कहाँ हुन्छ ,
मेरो जीवन नर्क र हजुरले जुन
सांसरिक माया ,जाल ,लोभ , ईर्ष्या छोडेर
जानू भो त्यो जीवन स्वर्ग भन्छ मेरो आत्मले
हो हजुर
पार्थिव शरीर बगरमा
चिता बनाएर दागबत्ती दिएपछि
जब खरानी बन्यो अनि हजुरको
स्वास वायुमा मिसियो हो त्यही
श्वास नै आजसम्म मैले फेरेकी छु।
तै पनि
भाग्यको खेल सँग सम्झौता गर्नैपर्ने
चोला पाएँ मैले
र आजसम्म त्यही सम्झौताका
कागज च्यातेकी छैन ।
हरेक साँझ बिहान
हजुरका तस्वीरहरू सँग
गुनगुनाउने बानी परेकी छु।
सपनीमा बरबराउने आदत बसेको छ।
हाम्रो मायाको चिनोमा सधैं
हजुरकै छाया देख्छु,
उसको चाल,ढाल सबैमा
हजुर नै हजुर देख्छु र त
जिउन सजिलो भएको छ ।
हो प्यारे
हजुरले यो संसारबाट बिदा लिएपछि

“हजुरको नाम ढुंगामा लेखियो”

कहिल्यै नमेटिने गरि
शालिक बनेर …
त्यसैमा खुशी पनि छु तर
पापीहरूको जालझेलले
त्यो लेखिएको कालो दिन आजै हो ,
सम्झन्छु
किन याद बनेर आइदिन्छ यो कालो दिन ?
किन हट्दैन यो अंक मेरा शब्दावली बाट?
यो उन्नाईस अंकले नै घरीघरी
मुटु बिक्षिप्त बनाइदिन्छ।
त्यो दिनको कल्पनाले मात्र पनि
मेरो शरीर शिथिल बनाउँछ र
टुट्छु फेरि आफै जुट्छु …
यसरी नै मेरो दिनहरू
गुज्रीएको छ,
हजुर जहाँ भएपनी
यो चिट्ठी हजुर सम्म पुगोस् ,
फेरि अर्को जुनिमा
भेट्ने वाचाका साथ
बाचुन्जेल सम्झिरहने छु भन्दै
आजलाई बिदा चाहान्छु
उही हजुरकै …….।

हाल: भरतपुर चितवन

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार