मोदीको भ्रमण सफल बनाउन प्रधानमन्त्री ओलीको निर्देशन


वैशाख १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल बनाउन गृहकार्यमा जुटेका छन् ।

आगामी २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउनका लागि ओलीले सरकार मातहतका सम्बन्धित निकायहरुलाई पनि निर्देशन दिइसकेका छन् ।

वैशाख २८ मा नेपाल भ्रमणमा आउन लागेका मोदी २९ अपरान्ह नै फर्कने कार्यक्रम छ । मोदीको नेपाल भ्रमण छोटो भएकाले कार्यतालिका मिलाउन समस्या देखिएको छ ।

यसबीच उनले उच्चस्तरका राजनीतिक भेटघाटका अलावा दुई स्थानमा नागरिक अभिनन्दन र सम्बोधन, अरुण तेस्रो जलविद्युत् तथा काभ्रेको पनौतीमा भारतीय सहयोगमा बन्ने प्रहरी प्रतिष्ठान शिलान्यास गर्ने कार्यक्रम छ ।

भूकम्पपछि भारतीय सहयोगमा बन्दै गरेको पुरातात्विक क्षेत्र जनकपुरमा पूजाअर्चना, दूतावासमा दिवाभोजसहित सम्मान, गार्ड अफ अनर, राष्ट्रपतिको दिवा भोजलगायतका सबै कार्यतालिका मिलाउन समय अपुग भएको छ ।

प्रहरी एकेडेमी र अरुण तेस्रो जलविद्युत् परियोजना संयुक्त पत्रकार सम्मेलनमा नै स्विच थिचेर गर्ने कि भन्नेमा समेत छलफल भइरहेको छ ।

मुक्तिनाथ यात्रा भने मौसमका कारण यसपटक पनि थाती रहन सक्ने आशंका गरिएको छ ।

भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग ४ वर्षअघि नै सम्झौता गरे पनि औपचारिक शिलान्यास नभएकाले सकारात्मक सन्देशका लागि मोदी स्वयंले शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री नियुक्त भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो । उनलाई विमानस्थलमा स्वागत गर्न प्रधानमन्त्री केपी ओली स्वयम जाने बताइएको छ ।

भ्रमणका बेला नेपाल–भारत सिमानाकामा भइरहेको विवाद र समस्या समाधानको विषयमा पनि कुरा उठाउने तयारी भइरहेको छ ।-रिपोर्टस नेपालबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार