विराटनगर। पहिलोपल्ट मालबाहक रेल तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर नेपालको सिमाना नजिक आइपुगेका छन् । परीक्षणकै रुपमा आइतबार कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको हो ।
गत, बुधबार प्रस्थान गरेको सो मालबाहक रेल नेपालको सिमानादेखि सात किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको छ । बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएकाले बथनाहासम्म ल्याइएको भारतीय पक्षले जनाएको हो । उद्योग संगठन मोरङले विज्ञप्ति जारी गर्दै तेस्रो मुलुकबाट यस क्षेत्रका उद्योग व्यवसायीले आयात गर्ने औद्योगिक कच्चा पदार्थका साथै वस्तु रेलबाट ल्याउनुपर्ने माग पूरा भएकामा खुशी व्यक्त गरेका छन् ।
विज्ञप्तिमा कोलकाता बन्दरगाहमात्र नभई विशाखापट्टनमबाट पनि नेपाली व्यापारीले आयात–निर्यात गर्न पाउनुपर्ने माग रहेकाे छ । रेलमार्फत सामान तथा कच्चा पदार्थ ढुवानी हुँदा लागत कम पर्ने, झण्झट नहुने र समय पनि कम लाग्ने संगठनका अध्यक्ष मुकेश उपाध्यायले बताए । कोलकाता–बन्दरगाहमा मालबाहक रेलसेवा सञ्चालनमा आएपछि पूर्वी क्षेत्रका उद्योग व्यवसायमा बढोत्तरी हुने व्यवसायीका धारणा छ । लागत कम भएपछि सामानको मूल्य पनि घट्ने बताइएको छ ।
सन् २०१० मा नेपाल–भारत सरकारले विभिन्न पाँच स्थानमा रेलसेवा विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीमा रेलसेवाको विस्तारमा सम्पूर्ण खर्च भारत सरकारले र नेपालीको भूमिको मुआब्जा नेपाल सरकारले व्यहोर्ने उल्लेख गरेका थिए ।