काठमाडौं । भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ। भूकम्पबाट विश्व चर्चित धरहरा, रानीपोखरी र काण्ठमण्डपको संरचना ध्वस्त भएको थियो। ती सम्पदाहरू पुनर्निर्माण अहिलेसम्म हुन सकेको छैन। कहिले स्थानीय, कहिले पुरातŒव र काठमाडौं महानगरपालिकाबीचको हानाथापका कारण ती सम्पदाहरूको पुनर्निर्माण हुन नसकेको हो।
कामपाको स्वामित्वमा रहेको रानीपोखरी, धरहरा र काष्ठमण्डपको पुनर्निर्माण अन्योलमा छ। तर तीनवटै सम्पदा यसै वर्षदेखि पुनर्निर्माण गर्ने तयारी भइरहेको कामपा, विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दाबी छ। जेठभित्र रानीपोखरी र काष्ठमण्डप तथा केही महिनापछि धरहरा पुनर्निर्माणको काम शुरू हुने बताइएको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तीनवटै सम्पदा तत्काल बनाउन निर्देशन दिएपछि काम शुरू हुने झिनो आशा पलाएको जनता बताउँछन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जेठ १५ गतेदेखि काष्ठमण्डप र त्यसपछि तत्कालै रानीपोखरी निर्माण थालिने दाबी गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘आन्तरिक तयारी र केही विवादका कारण समस्या परेर कार्य प्रारम्भ गर्न ढिला भएको छ।’
कामपा हनुमानढोका संरक्षण कार्यक्रम कार्यालय प्रमुख उदय पसखल पनि मेयरको बोलीमा लोली मिलाउँदै भन्नुहुन्छ– ‘जेठ १५ गतेदेखि नै काण्ठमण्डप बनाउन थाल्ने हो, पहिलो चरणमा काम लाग्ने÷नलाग्ने काठ छानेर अपुग भएमा अन्य काठ खरिद गर्नेछौं।’ काष्ठमण्डपको जगको अवस्थाबारे जानकारी नभएकाले त्यसको अध्ययन गरेर मात्रै पुनर्निर्माण शुरू गरिने बताउँदै मेयर शाक्य भन्नुहुन्छ– ‘जगको अवस्थाबारे जानकारी हुनासाथ काम थाल्छौं।’
स्थानीय जनताको सहयोगमा काण्ठमण्डप पुनर्निर्माण शुरू गर्ने कामपा र विभागको तयारी छ। कामपाले करिब १९ करोड रुपियाँ लागतमा काष्ठमण्डप पुनर्निर्माण गर्ने तयारी गरेको छ। काष्ठमण्डपका लागि करिब ९ करोड रुपियाँको काठ लाग्ने अनुमान गरिएको छ। पुनर्निर्माण थालनी गर्ने भनिए पनि अहिलेसम्म महानगरपालिकाले यसको निर्माण मोडालिटी टुंग्याएको छैन।
स्थानीय संघसंस्थालाई दिने नदिनेबारे कसरी टुड्डो लगाउने भन्ने विषयमा निष्कर्ष निकाल्न बाँकी नै छ। स्थानीय जनताले भने काष्ठमण्डप पुनर्निर्माणको जिम्मा आफूहरूलाई नै दिनुपर्ने माग गरेका छन्।
उनीहरूको दबाबका कारण महानगर टेन्डर गरेर ठेकेदारमार्फत नबनाउने निष्कर्षमा पुगेको थियो। विभागका महानिर्देशक भेषनारायाण दाहाल मन्त्रीको निर्देशनअनुसार काष्ठमण्डप र रानीपोखरीको ड्रइङ, डिजाइन कामपालाई हस्तान्तरण गरिसकेको बताउँदै भन्नुहुन्छ– ‘केही पुनरावलोकन गर्नुपर्ने भए तयार छौं।’
दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण आरम्भ गरे पनि विवादका कारण रोकिएको रानीपोखरीको पुनर्निर्माण पनि जेठबाटै शुरु हुने भएको छ। रानीपोखरीवरपर लगाइएको कंक्रिट वाल भत्काएर मल्लकालीन शैलीमा बनाइने तयारी भइरहेको कामपा शहरी विकास विभागका प्रमुख रामबहादुर थापाको भनाइ छ। करिब २ करोड ३० लाख रुपियाँमा खर्च गरी रिटेनिङ वाल लगाइएको सम्पूर्ण संरचना भत्काउन कामपाले टेन्डर गर्ने भएको छ।आजको नेपाल समाचारपत्रमा खबर छ ।