चितवन/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताउनुभयो ।
यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो । देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने उहाँले बताउनुभयो । चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका दाहालले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्छ ।”
जुन ठाउँ जसरी रहेको छ त्यो सबैलाई हेरेर एकीकृत रुपमा विकास योजना बनाइने भन्दै उहाँले यस विषयमा केन्द्रमा पनि छलफल भइरहेको बताउनुभयो । नेता, बुद्धिजीवीलगायतसँग यस क्षेत्रको विकासको विषयमा छलफल चलिरहेको भन्दै उहाँले भन्नुभयो “एकीकृत विकासको मोडल बनाउँदा एशियाली मापदण्डका कुरा पनि चलिरहेका छन् । अन्तर्राष्ट्रिय मापदण्डका कुरा पनि चलिरहेका छन् । त्यस्तै मोडेल हामी यस क्षेत्रमा बनाउँछौँ ।”
यी क्षेत्रको आफूले भ्रमण गरिरहेको भन्दै उहाँले भन्नुभयो “हरेक पटक म चितवन आउँदा फरक फरक ठाउँ जान्छु, त्यहाँ रिल्याक्स गर्न गएको होइन, त्यहाँको विकासको सम्भावना हेर्न गएको हुँ ।”जग्गा खण्डीकरण पूर्णरुपमा रोक्नुपर्ने भन्दै उहाँले विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली शुरु गरिने बताउनुभयो । नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।