पोर्तुगलमा बुद्ध जयन्ती भब्यरूपमा मनाउने तयारी अन्तिम चरणमा

आरके थापा, लिस्बोन ।

यही अप्रिल ३० तारिखका दिन बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६२ औं जन्म जयन्ती भब्यरुपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको छ। लिस्बोनको आन्जुसस्थित एभरेष्ट रेस्टुरेन्टमा आज पर्यटनदुत तथा मुल समारोह आयोजक समितिका संयोजक रमेशकुमार गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा यस अघि गठन भएका विभिन्न उपसमितिहरुले अहिलेसम्म भए गरेको प्रगति विवरण बारे रिपोर्टिङ गरेका थिए ।

एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्की, जनसम्पर्क समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, प्रवासी नेपाली मंचका अध्यक्ष गोबिन्द पौडेल, लिस्बोनस्थित नेपाली कन्सुलेट कार्यालयका प्रतिनिधि अशोक घिमिरे, चेम्बर अफ कमर्शका पोर्तुगल प्रतिनिधि शम्भु गौतम, नेपाल जनजाति महासंघ पोर्तुगलका अध्यक्ष नरभुपाल राई, नेपाल पत्रकार महासंघ युरोप शाखामा महासचिव योगेन्द्र मिलन छन्त्याल लगायत डेढदर्जन भन्दा बढी संघ-संस्थाका प्रतिनिधि,एनआरएनएका पदाधिकारी तथा पत्रकारहरु सहितको बैठकमा बुद्ध जयन्तीलाई पोर्तुगलमा भब्यरूपमा सफल बनाउने प्रतिबद्धता व्यक्त भएको थियो ।

उपसमितिको प्रगति विवरण दिदैं आर्थिक संयोजक शम्भु गौतमले आर्थिक सम्बन्धमा पोर्तुगलस्थित नेपाली कन्सुलेट कार्यालय, पर्यटन दुत, एनआरएनए, नेपाल चेम्बर अफ कमर्श प्रतिनिधि र नेपाल जनजाति महासंघले संयोजन गर्ने रिपोर्टिङ गरेका थिए । पुजा सम्बन्धमा तीन जना पोर्तुगिस र एकजना नेपाली लामाद्वारा पुजाको तयारी गरिएको र पुजा बिहान १० बजेबाट सिन्डिकेट हलमा सुरु हुने पुजा तयारी संयोजक ओङेल लामाले जानकारी दिएका थिए ।

प्रचार संयोजक योगेन्द्र मिलन छन्त्यालले प्रचार प्रसारको तयारी बारे प्रकाश पारेका थिए । पर्चा, पोस्टर, कभर फोटो र समाचारहरु प्रकाशित, प्रसारित भइरहेको र अझै व्यापक बनाउने तयारी गरिएको उनले जानकारी गराए ।

” एनआरएनए पोर्तुगलको सम्पुर्ण ध्यान अब बुद्ध जयन्तीलाई सफल बनाउन केन्द्रित भएको छ, हामी सकृयता र प्रभावकारीरूपमा सहयोग र सहभागिता जनाउछौं”, एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्कीले भने ।

कार्यक्रमलाई सफल र ब्यबस्थित बनाउन भोलेन्टियर ग्रुप बनाउने, सहभागीहरुको हाजिरी उतार्ने बारेमा पनि निर्णय गरिएको थियो । शोभायात्राका सहभागीहरुलाइ चितवन समाजले पानी र एनआरएनए पोर्तुगलका सल्लाहकार धनराज शेर्पाले जुसहरु निशुल्क बितरण गर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

बृहत शोभा यात्रा अर्थात बुद्ध र्याली प्रासा दि कमर्सियोबाट दिनको ३:३० बजे शुरु भइ मार्तिम मुनिजमा आएर समापन हुने बैठकमा जानकारी गराइयो ।

मुख्य बैठक शुरु हुनु अघि पोर्तुगलमा अनधिकृतरूपमा नेपाली भाषामा संचालित नक्कली फेसबुक आइडीहरुले नेपाली समुदायमा नकारात्मकरुपले बिकृति फैलाउने कार्य भइरहेको, समाजमा बिखन्डन र द्वेष उत्पन्न गराएर निहित स्वार्थ पुर्ति गर्ने यस्ता गैर कानुनी क्रियाकलाप सामाजिकरूपमा बहिष्कार गर्दै कानुनी प्रक्रियाबाट समेत कदम चाल्ने र निरुत्साहित गर्ने बारेमा व्यापक छलफल गर्दै ठोस कदम चाल्ने कुरा उठेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार