प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्केको धेरै नबित्दै भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउने निश्चित भएको छ । उनी आगामी बैशाख २८ मा नेपाल आउने कुरा भारतीय अनलाइन हिन्दुस्तानले लेखेको छ । नेपालको संविधान जारी भएपछिको यो उनको पहिलो भ्रमण हुनेछ । भारतीय र नेपाली अधिकारीहरुलाई उद्धृत गर्दै लेखिएको उक्त समाचारमा मोदी जनकपुरको भ्रमणमा समेत जाने उल्लेख छ । यसअघिको भ्रमणमा मोदीले जनकपुर जाने बताए पनि उनको इच्छा पूरा भएको थिएन । यस अघि मोदीले दुई पटक नेपालको भ्रमण गरिसकेका छन् ।हिन्दुस्तान टाइम्सका अनुसार यो भ्रमणको व्यवस्थापनका लागि २ नेपाली अधिकारी एक भारतीय अधिकारी र एक नेपाली शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ ।
तर परराष्ट्र मन्त्रालयले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरु भएको बताएको छ । आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही दिन यताउता हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।