गोदावरीमा बन्ने भयो धुर्मुस-सुन्तली फाउन्डेसनको क्रिकेट रंगशाला

धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा फाइनल गरेको छ । ललितपुरको गोदावरीमा रहेको १ सय २८ रोपनी जग्गाजग्गा सबै हिसाबले उययुक्त भएको भन्दै प्राविधिक विशेषज्ञको टिमले खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरेको छ । मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुने विश्लेषण गरिएको छ ।


फाउन्डेसनको प्राविधिक विशेषज्ञसहितको टिमले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो । टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको हो ।

यो जग्गा कृषि मन्त्रालयको मातहतमा रहेको बुझिएको छ । त्यहाँ पहिले मत्स्यपालन गरिएको पोखरी भूईंचालोपछि सुकेकाले प्रयोजनविहीन थियो ।

खेलकुद मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सो जग्गा उपलब्ध गराउन कृषि मन्त्रालयलाई पत्र लेख्नुपर्छ । जग्गा उपलब्ध गराउन कृषि मन्त्रालय सकारात्मक रहेको स्रोतले जनाएको छ ।

धर्मुसको टिमले आफ्नो ३२ पेजको प्रस्तावना बिहीबार दिउँसो ४ बजे खेलकुद मन्त्रालयमा बुझाएको थियो । खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त प्रस्तावना राति घरमा नै लगेर अध्ययन गरेका थिए । शुक्रबार बजेटसम्बन्धि छलफल गर्नुपरेको र भोलि शनिबार भएकाले अब आइतबार यसमा छलफल गरिने उनको भनाइ छ ।

‘जनचाहना अनुसार हामी ढिला गर्ने पक्षमा छैनौं, चाँडोभन्दा चाँडो यसमा निर्णय लिनेछौं,’ मन्त्री विश्वकर्माले भने । सामाजिक क्षेत्रबाट खेलकुद पूर्वाधार निर्माणमा पहल हुनुलाई आफूले सकारात्मक भएको उनले बताए ।

फाउन्डेसनले जग्गा प्राप्तिपछि रंगशाला शिलान्यास भएको डेढदेखि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । रंगशालालाई विभिन्न इन्डोर गेमहरु पनि खेल्न सकिने गरी बहुउपयोगी बनाइने छ । रंगशाला करिब ४० हजार सिट क्षमताको हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार