पछिल्लो समय सामाजिक सञ्जालमा एक काल्पनिक भिडियो भाइरल जस्तै बनेको छ । जसमा बीबीसी न्यूजको ब्रान्डिङसहित संसारमा थर्मोन्यूक्लियर युद्धको सुरुवात हुने बताइएको छ । यो भिडियो सामाजिक सञ्जालको ह्वाटसप,फेसबुक लगायतमा भाइरल भएको हो । चिन्तित दर्शकले बीबीसीसँग सम्पर्क गरेर यसबारे बुझ्न खोजेका छन् । यीमध्ये थुप्रैलाई यो खबर वास्तविक लागको छ । उक्त भिडियो मूल रुपमा युट्युबमा सेयर गरिएको थियो जहाँ यसलाई पोष्ट गर्ने मिडिया कम्पनीले स्पष्ट रुपमा यो काल्पनिक भएको बताएका थिए । अब उक्त अकाउन्ट बन्द गरिएको छ ।
तर ह्वाट्सएपमा उक्त भिडियो स्पष्टिकरण नदिइकनै सेयर गरिँदै छ जसले धेरैलाई भ्रममा पारिरहेको छ ।
के छ भिडियोमा ?
उक्त भिडियो बीबीसीको न्यूजरुमको शटबाट सुरु हुन्छ र निकै मलिनो अनुहारमा देखिएका एक कार्यक्रम प्रस्तोताले ‘रुस र नेटोबिच गम्भीर घटना’ को घोषणा गर्दछन् ।
प्रस्तोताले भन्छन् ‘अहिलेसम्म स्पष्ट विस्तृत जानकारी पाइएको छैन तर सुरुवाती रिपोर्ट अनुसार रुसको एक विमानमा नेटोको पोतले हमला गरिएको छ ।’
उक्त रिपोर्टमा थप भनिएको छ – स्थिती यति गम्भीर बनेको छ कि रुसी युद्धपोतले नेटोको अन्य स्थानलाई निशाना बनाएको छ र बेलायतका राजपरिवारलाई सुरक्षित निकालिएको छ । एक आपतकालीन प्रसारणमा सबै मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ र थर्मोन्यूक्लियर युद्ध सुरु भएका कारण जर्मनीको मेन्जो शहर र फ्रेंकफर्टको ठूलो हिस्सा तहसनहस भएको छ ।’
यो काल्पनिक खबरको निर्माणमा हुन त सबै सावधानी अपनाइएको छ तर यसमा विभिन्न त्रुटी पनि छन् ।
बीबीसीको ब्रान्डिङको प्रयोग गरिए पनि यसको फन्ट, स्टाइल र लेआउटमा निकै अन्तर छ ।
कसले बनायो भिडियो ?
यो काल्पनिक भिडियो एक आइरिश कम्पनीका लागि सन् २०१६ मा बनाइएको थियो र यसमा अभिनेता मार्क राइस छन् ।
मार्क राइसले बीबीसीसँग भने, ‘यो बेन्चमार्किङ असेसमेन्ट ग्रुप नामको कम्पनीले बनाएको थियो जसको उद्देश्य आफ्नो ग्राहकको साइकोमेट्रिक परिक्षण गरेर आपतकालीन स्थितीमा कस्तो प्रतिक्रिया दिनेछन् भन्नेबारे बुझ्नु थियो ।’
उनका अनुसार युट्युबमा प्रकाशित वास्तविक भिडियोमा ‘यो काल्पनिक भिडियो’ हो भनी स्पष्ट लेखिएको छ र वास्तवमा यो बीबीसी न्यूज जस्तो पनि देखिँदैन । यसको उद्देश्य कहिले वास्तविक देखिनु थिएन ।
के भन्छ बीबीसी
बिहिबार बिहान बीबीसीको प्रेस कार्यालयले ट्वीट गरेर आफूलाई अत्यधिक सेयर गरिएको बीबीसीको नेटो र रुसबारे कथित रिपोर्टबारे जानकारी भएको बताए ।