काठमाडौं : बिहीबार सार्वजनिक यातायातमा सह-चालकको रुपमा कार्यरत १८ जना बालकको उद्धार गरिएको छ। श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ-संस्थाको सहकार्यमा काठमाडौं उपत्यकामा सञ्चालित सर्वाजनिक यातायातबाट १८ बालकको उद्धार भएको हो।
बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायतबाट १८ जनाको उद्धार गरिएको श्रम कार्यालय बागमतीका प्रमुख उदयकुमार गुप्ताले जानकारी दिए। बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुदैन। श्रम कार्यालय प्रमुख गुप्ताको नेत्रृत्वमा सुरु गरिएको अभियानबाट बिहीबार २२३ वटा गाडीको अनुगमन गरि सचेतना मुलक स्टीकर टासिएको छ भने अनुगमनका क्रममा उक्त सवारी साधनहरुबाट सह-चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका १८ जना बालकहरुलाई उद्धार गरिएको हो।
उनीहरु सबैलाई उचित व्यवस्थापनका लागि पठाइएको छ। बुधबार सार्वजनिक यातायातबाट १४ बालकको उद्धार भएको थियो। अभियानलाई निरन्तरता दिँदै जाने अभियानकर्ताको भनाइ छ।