मनकामना माताले सबैको कल्याण गरुन ,वि.सं. २०७५ वैशाख ०२ गते आइतबार \२०१८ अप्रिल १५ तारिखको राशिफल

वि.सं. २०७५ वैशाख ०२ गते आइतबार तदनुसार ई. सं. २०१८ अप्रिल १५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (चौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०६:२८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:१९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे, वैशाख कृष्णपक्षको चतुर्दशी तिथि, बिहान ०८:१५ बजेसम्म, त्यसपछि अमावस्या तिथि, रेवती नक्षत्र, मध्यरात्रीपछि ०४:१५ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, मध्यरात्रीपछि ०४:१५ बजेसम्म, त्यसपछि मेष राशिमा,वैधृति योग, मध्यरात्रीपछि ०१:२० बजेसम्म, त्यसपछि विष्कुम्भ योग, शकुनि करण, बेलुका ०७:५७ बजेसम्म त्यसपछि चतुष्पाद करण, आनन्दादि योग : प्रवद्र्ध, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : दर्शश्राद्ध, भक्तपुरमा महाकाली, महालक्ष्मी यात्रा, टोखा चण्डेश्वरी मूल रथयात्रा, मध्यपुर ठिमी बालकुमारी यात्रा, निशिबार्ने दिन, आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : मातृसम्मान दिवस, स्नानदानादिका लागि सोमबारे औंसी, मातातीर्थ स्नान, आमाको मुख हेर्ने दिन, चाँगुनारायण, छिन्नमस्ता, किलेश्वर मूल रथयात्रा, हलो बार्ने दिन, भक्तपुरमा ब्रह्मायणी यात्रा, भोलिको मूहुर्त : दैलो राख्ने, पुराणश्रवण,०४ गते : चन्द्रोदय, ललितपुरमा मच्छिन्द्रनाथ रथारोहण, भक्तपुरमा छुमा गणेश यात्रा (बुँगद्यरथयतइगु), ०५ गते : त्रिपुष्कर योग बिहान ०३ बजे २९ मिनेटदेखि बिहान ०५ बजेर १७ मिनेटसम्म, परशुराम जयन्ती, अक्षय तृतीया, भक्तपुरमा भैरव भद्रकाली रथयात्रा, धर्मघटादि दान, त्रेता युगादि, लुबुमा महालक्ष्मी भैरव यात्रा, मूहुर्त : अग्निवास(होमादि),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार