मन्दिर छिर्नुअघि जुत्ताचप्पल किन खोल्नुपर्छ ?
बिहानबेलुका धुपबत्ती किन दिनुपर्छ ?
भगवानलाई नरिवल किन चढाइन्छ ?
मंगलबार घरमा मासु किन पकाउनुहुन्न ?
व्रत किन बसिन्छ ?
घरमा सानसाना केटाकेटीले यस्तो प्रश्न गरेको सुन्नुभएकै होला । हामीमध्ये कतिले यसको जवाफ दिने गरेका छौँ वा नानीहरुलाई यसको जवाफ दिन सक्नुपर्ने हो भनेर त्यसलाई गम्भिरतापूर्वक लिने गरेका छौँ ? नेपाली समाजमा संस्कार हराउँदै गएको भनी हामी चिन्ता त लिन्छौँ तर संस्कार सिकाउन वा संस्कारमा लुकेको मर्म उत्सुकताका साथ कसले सिकाउने गरेका छौँ ?
नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । हिन्दू धर्मको बाहुल्यता भएपनि सबै धर्मलाई उत्तिकै महत्व दिनुपर्ने देखेर नेपालले धर्मनिरपेक्षको बाटो रोजेको हो । हामीमध्ये धेरै हिन्दू त छौँ तर हिन्द्र धर्मको संस्कारलाई बिस्तारै त्याग्दै गइरहेका छौँ । सानो छँदा मन्दिरमा घण्टी किन बजाउनुपर्छ भनेर आमालाई सोध्दा, आमासँग यसको जवाफ थिएन । बुवाले हामी हिन्दू हो, मन्दिरमा हिन्दूहरुले घण्टी बजाउनुपर्छ त भनिदिनुभयो तर चित्त बुझ्दो जवाफ पाइएन । मन्दिर जाँदा घण्टी बजाउने गरेपनि म आपैmँ अनुत्तरित छु, म घण्टी किन बजाउँछु भन्नेबारे ।
दक्षिण एसियाली मुलुकहरुमा यस्तो दुविधा अक्सर आउने गर्दछ । हाम्रो साँस्कृतिक तथा धार्मिक मान्यताहरु विभिन्न संस्कारसँग जोडिएका छन् । यस्ता संस्कारहरु बच्चाहरुमा जर्बजस्ती लाँद्न वा खाँद्न खोज्दा, अवश्य पनि उनीहरु यसबाट झन्झनै टाढिनेछन् । हामीले नै यस्ता संस्कारहरु जानेर मान्ने ग¥यौँ भने विश्वले नै संस्कारको धनी धर्म मान्दै आएको हिन्दू धर्मबाट हामीले धेरै कुरा सिक्न सक्छौँ र राम्रो कामलाई निरन्तरता पनि दिन सक्छौँ । अभिभावकको रुपमा बालबालिकाको लागि यति गर्न सकिन्छ कि ?
१. बालबालिकाले राख्ने गरेका जिज्ञासाहरुलाई खुल्ला मनमस्तिष्कले सम्बोधन गर्ने गरौँ ।
प्रश्न सरल वा जटिल जे भएपनि बालबालिकाको जिज्ञासालाई सम्बोधन गर्ने गरौँ । आपूmलाई त्यसबारे थाहा नभएर अनुसन्धान गरेर समय दिन परे, त्यो पनि गरौँ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच भएकाले जवाफहरु सजिलै पाउन सकिन्छ तर भरपर्दो माध्यम हो वा होइन ख्याल गर्ने गरौँ । इन्टरनेटबाट ननिस्केका वा पत्ता लाग्न नसकेका कुराहरु आपूmभन्दा अग्रज जो कोही, धर्मगुरु, विद्य, आध्यात्मिक गुरु, आदिहरुलाई सोध्न पनि सकिन्छ । चिनमाया मिसनले प्रकाशन गरेको किताब ह्वाई डु वी नामक किताबमा हाम्रा संस्कारपछाडि रहेका कारणहरुबारे यसमा राम्ररी खुलाइएको छ । यस्तै अरु किताबको अध्ययन गरेर पनि बालबालिकाको जिज्ञासा मेटाउन सकिन्छ ।
२. बालबालिकालाई छलफलमा सरिक हुन लगाउनुहोस् ।
आपूmभन्दा साना बालबालिकाले प्रश्न तेस्र्याउँदा हामी कहिलेकाहीँ अपमानित वा असहज महसुस गर्दछौँ । कति समय हामी नानीहरुलाई धेरै जान्ने न हो वा थाहा छैन भनेरै पनि कुरा सकाइदिन्छौँ । बालबालिकाहरु जिज्ञासु स्वभावका हुन्छन् । अभिभावकले जस्तो बनायो, त्यस्तै भइदिन्छन् बालबालिकाहरु । हामीले भनेको मान्नुपर्छ भनेर आफ्नो विचार लाँद्नेभन्दा पनि उनीहरुको जिज्ञासा मेट्ने र चित्त नबुझेको केही कुरा भए उनीहरुको विचार पनि सुन्ने गर्नुपर्छ । यसरी छलफल गर्दा उनीहरुको चित्त नबुझेको पाटोबारे थाहा पाउन सकिन्छ भने आवश्यक थप अनुसन्धान गर्न पर्ने कुराहरु पनि पत्ता लाग्दछ । आफ्नो घरको वा धर्मको संस्कार जोगाउनका निम्ति बालबालिकाहरुले पनि यसलाई मनैदेखि स्वीकार गर्न वा अप्नाउन जरुरी हुन्छ ।
३. आफ्नो घरको वा धर्मको संस्कारको समीक्षा गर्ने गर्नुहोस् ।
आपूmले मान्दै आएको धर्म वा संस्कारमा भएका राम्रा, नराम्रा वा परिमार्जन गर्न सकिने अभ्यासहरुको समीक्षा गर्नुहोस् । हामीहरु परम्परावादी त छौँ तर आधुनिक विचारधाराबाट पनि प्रभावित हुँदै गइरहेका छौँ । बितेका केही वर्षअघि अर्थ राख्ने कुराहरुले अहिले अर्थ नराख्न पनि सक्छन् । केही अभ्यासको संरक्षण गर्नैपर्ने हुन्छ होला, बालबालिकाहरुलाई त्यसबारे सिकाउनुहोस् र मान्न किन जरुरी छ बारे पनि बताउनुहोस् । यसरी आपूmले मान्दै आएको संस्कारलाई अन्धाधुन्ध मान्नेभन्दा पनि त्यसको समीक्षा गर्दै अगाडि बढ्दा धेरै राम्रा अभ्यासहरु पछिसम्मै रहन सक्छन् ।
४. समयानुसार आपूmलाई काम नदिने संस्कारलाई त्याग्नुहोस् ।
यो त्यति सजिलो काम भने होइन । परापूर्वकालदेखि मान्दै आएको भनी कति काम, कर्तव्य वा संस्कार अप्ठेरो लाग्दा लाग्दै पनि हामी तिनीहरुलाई निरन्तरता दिइरहेका हुन्छौँ । आफ्नो परिवार र समुदायको हित नहुने त्यस्ता संस्कारहरुलाई त्याग्नका लागि हामी डराउन हुन्न । बालबालिकालाई असल गुण र संस्कार प्रदान गर्न खोज्दै हुनुहुन्छ तर भेदभाव वा अन्यायलाई प्रोत्साहन दिने खालका संस्कार सिकाउन खोज्नु, उही परम्परावादी सोचलाई मलजल गर्नु सरह हुनेछ । अब आउने पुस्तालाई के दिने वा सिकाउने हाम्रो हातमा छ । हाम्रा आमाबुवाले सिकाएका सबै कुरा हामीले पनि त पालना गरेका छैनौँ होला नि । यसकारण गहिरो अर्थ बोकेका राम्रा अभ्यासहरुलाई निरन्तरता प्रदान गर्नका लागि पनि नचाहिने अभ्यासहरु हटाउँदै लानुपर्छ ।
५. परिवारका केही संस्कारलाई परिमार्जन गर्दै लानुहोस् ।
सबै अभ्यासहरु कामै नलाग्ने नहुन पनि सक्छन् । आवश्यकता अनुसार परिमार्जन गर्दै लाँदा, त्यस्ता संस्कार वा अभ्यासले बालबालिकाहरुलाई धेरै कुराहरु सिकाउन सक्छन् । परिमार्जित गर्न सकिने संस्कारहरुलाई परिमार्जन गरेरै बालबालिकालाई सिकाउने गर्नुहोस् । समय बित्दै जाँदा परिमार्जित गर्नुपर्ने संस्कारहरु बढ्दै पनि जालान् । यसकारण थोत्रो भन्दै पुरानो संरचनालाई एकै साथ भत्काउन सकिँदैन पनि, यसकारण समयानुसार परिमार्जन गर्दै, त्यसमा भएका राम्रा अभ्यासहरुलाई प्रोत्साहन गर्दै लानुपर्छ ।
धर्म वा संस्कार जोगाउनका लागि यसका राम्रा प्रयासहरु हामी सबैले आफ्ना नानीहरुलाई सिकाउँदै लानुपर्छ । भएका राम्रा संस्कारको उपयुक्त कारण दिन नजान्नाले विश्वास नलाग्ने किसिमका कारणहरु दिँदै बालबालिकामाथि त्यस्ता संस्कारहरु लाँद्न खोजे, अवश्य पनि ती संस्कार टिक्न सक्दैनन् । राम्रा संस्कार हराउँदै जानु नयाँ पुस्ताको गल्ती होइन, पुरानो पुस्ताले ती संस्कारहरुलाई राम्ररी हस्तान्तरण गर्न नजान्नुको उपज हो । सबै धर्मको जय होस्, नानीहरुले राम्रा कुरा सिक्दै जान पाउन् ।