सुगर मिलको भण्डारण ट्यांकी बिस्फोट : एकको मृत्यु, ९ घाइते

– दिवाकर भण्डारी

सिमरा : बाराको मनहर्वास्थित रिलायन्स सुगर मिलमा उखुको रस भण्डारण गरिएको ट्यांकी पड्किँदा एक मजदुरको मृत्यु भएको छ । घटनमा अन्य ९ मजदुर घाइते छन् । कलैया उपमहानगरपालिका २४ स्थित मनहर्वामा रहेको मिलको ट्यांकी पड्किँदा ४५ वर्षीय भारतीय नागरिक राम सनईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये आठ जनाको नेशनल मेडिकल कलेज र एक जनाको कलैया अस्पतालमा उपचार भइरहको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । घाइतेको अवस्था सामान्य रहेको छ ।

नेशनल मेडिकल कलेजमा उपचाररत घाइतेमा बारा भोडहाका ३० वर्षीय प्रमेश्वर साह, उत्त रझिटकैयाका २७ वर्षीय भूपेन्द्र मण्डल, ३५ वर्षीय रमेश यादव, शितलपुरका ३५ वर्षीय देवनारायण महतो, कलैया उपमहानगरपालिका २ का ब्रजेश महतो, महागढीमाई नगरपालिका ११ का ४७ वर्षीय नागेन्द्र ठाकुर, पर्सा भेडिहारीका ३२ वर्षिय प्रेमराउत बरई र भारतीय नागरिक ५२ वर्षीय कमलेश्वर सिंह रहेका छन् ।

मिलभित्र रस भण्डारण गरिएको ट्यांकी पड्किँदा त्यहा कार्यरत मजदुर घाइते भएका हुन् । घटनालगत्तै मिलका कर्मचारी, मजदुर र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाएका छन् ।

ट्यांकी पड्किएर उद्योगभित्र समेत क्षति पुगेको छ । घटनाको कारण खुल्न नसकेकको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनापछि उद्योगको उत्पादन भने बन्द छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार