काठमाडौं
ले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताएकी छन्। नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले निरन्तरको ‘फलोअप’ र निर्देशनले आयोजना ‘ब्रेक थ्रु’को चरणमा पुगेको बताएकी हुन्।
‘मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरेँ, प्रगति विवरण लिएँ,’ उनले भनिन्। कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौसम्म मेलम्चीको पानी पुर्याउन सकिने उनले बताइन्। जनताको घरदैलोमा स्वच्छ खानेपानी पुर्याउने प्राथमिकता सँगसँगै अन्तर्राष्ट्रिय बजारमा खानेपानी बेचेर आयस्रोत बढाउने विषयमा समेत योजना बनाउने मन्त्री मगरले दाबी गरिन्।
‘हिमश्रृङ्खलाबाट बगेको पानीलाई विदेशमा महंगो मूल्यमा बेच्न सकिन्छ,’ मन्त्री मगरले भनिन् ,‘यसरी सोच्दा खानेपानी उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने र आयआर्जन बढ्ने हुन्छ।’ हिमश्रृङ्खलाबाट बगेको पानीको गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारमा रुचाउने गरिएको उनले बताइन। वर्तमान सरकारमा ७ नम्बर प्रदेशबाट एक्लै मन्त्री भएकाले जनताको धेरै आशा पूरा गर्नु चुनौतिपूर्ण भएपनि स्यावासी पाउने गरी काम गर्ने मन्त्री मगरले बताइन्।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले मन्त्री मगरलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए। ‘भेटघाट गर्ने मन्त्रालयमा भीडभाड गर्दा मन्त्रीलाई काम गर्न अप्ठ्यारो हुन्छ,’उनले भने ,‘पार्टी पद्धतिबाट योजना ल्याएर ७ नम्बर प्रदेशलाई समृद्ध बनाउने गरी काम गर्नुपर्छ।’
पार्टीका नेता कार्यकर्ताले सिंहदरबारमा दिन बिताउनुभन्दा जनताको घरदैलोमा गएर काम गर्नुपर्ने पूर्वमन्त्री समेत रहेका भट्टले सुझाव दिए।
मञ्चका सल्लाहकार संयोजक गोकर्ण भट्टले मन्त्री विना मगर ७ नम्बर प्रदेशका लागि खानेपानी मन्त्री मात्रै नभएर सबै मन्त्रालयको मन्त्री रहेको बताए । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा कैलालीका व्यवसायी नासिर अलि बेग माओवादी केन्द्रमा प्रवेश गरेका छन्।