घरेलु उपकरण प्रयोग गर्दा अपनाउनुपर्ने कुराहरुको जानकारी र सुरक्षा टिप्स यस्ता छन्


विभिन्न उपकरणहरुले हाम्रो घरेलु कामहरु धेरै सजिलो बनाइदिएको छ । यस कै प्रयोगबाट हामीले धेरै समय, मिहिनेत र पैसा पनि बचाउन सकेका छौं । तर घरेलु उपकरणहरुको बेठीक प्रयोगले गर्दा दुर्घटना हुन सक्छ जसबाट जनधनको क्षति हुन्छ । यस्तो दुर्घटना हुन नदिन हामीले घरेलु उपकरणहरुको प्रयोगमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । तल यस्तै केही घरेलु उपकरणको सुरक्षा टिप्सहरुको बारेमा जानकारी दिईएको छ:

फ्रिज

फ्रिजमा सबैभन्दा बढी डर आगलागी र सट सर्किटको हुन्छ । ठीक शैलीमा प्रयोग नगरेमा फ्रिजले सट सर्किट गराउन सक्छ । यस्तो हुन नदिन फ्रिजमा सधै भोल्टेज स्टेबलाइजरको प्रयोग गर्नुपर्छ । फ्रिजलाई कहिल्यै पनि पानीको सिधा स्रोतको नजिकै राख्नु हुदैन । फ्रिजको क्वाइललाई कहिल्यै पनि नाङ्गो हातले छुनु हुदैन र क्वाइललाई नियमित सफाइ गर्नु पर्छ । फ्रिजको सफाइ गर्नु परेमा सधै फ्रिजलाई विद्युतको सम्पर्कबाट छुटाउनु पर्छ । फ्रिजको ढोका कहिल्यै पनि खुल्लै छाड्नु हुदैन ।

ए. सी.

ए. सी.बाट असामान्य किसिमको आवाज आएमा, सामान्यभन्दा बढी कम्पन भएमा वा केहि अनौठो बास्ना आएमा ए. सी.को प्रयोग तुरन्तै रोक्नु पर्छ । ए. सी.लाई पनि बेग्लै भोल्टेज स्टेबलाइजरको आवश्यकता पर्छ र कुनै अन्य धेरै वाटको विद्युतीय उपकरण, जस्तै फ्रिज, संगै एकै प्लगमा जोड्नु हुदैन, सट सर्किटको जोखिम हुन्छ । ए. सी. को भेन्टिलेसन प्वालहरुमा केहि पनि हाल्नु हुदैन । ए. सी. लाई ओसिलो भित्तामा फिट गर्नु हुदैन । नियमित रुपमा ए. सी. को हावा फिल्टरलाई सफा गरिरहनु पर्छ ।


माइक्रोवेभ

माइक्रोवेभ प्रयोगमा आएको समयमा ढोकालाई खुल्ला राख्नु हुदैन । रित्तो माइक्रोवेभ कहिल्यै पनि प्रयोग गर्नु हुदैन । यदि ढोका बांगीएको छ भने मर्मत नगरी माइक्रोवेभ चलाउनु हुदैन । यसमा झोल कुराहरुलाई धेरै बेरसम्म उमाल्नु हुदैन । चलिरहेको बेलामा माइक्रोवेभको अगाडी उभिनु पनि उचित हुदैन । माइक्रोवेभमा धातुको भाँडाहरु प्रयोग गर्नु हुदैन । माइक्रोवेभको भित्री भाग नियमित रुपमा सफा गरिरहनु पर्छ, सानो फोहरले पनि धेरै समस्या पैदा गर्न सक्छ । माइक्रोवेभमा लिकेजको समस्या देखिएमा तुरुन्तै मर्मत गर्नुपर्छ ।


चुल्हो

चुल्हो, मुख्यतः ग्यास चुल्हो, प्रयोग गर्दा अति धेरै शतर्कता अपनाउनु पर्छ । यी चुल्होहरुलाई बालबच्चाको पहुँचबाट टाढा राख्नु पर्छ । चुल्हो प्रयोगमा नहुदा रेगुलेटर बन्द गर्नु पर्छ । भान्सा कोठामा हावाको संचालन राम्रो भएको हुनुपर्छ । चुल्होमा खाना बनाउदा पोलिस्टर जस्ता आगो चाडै टिप्ने कपडाहरु लगाउनु हुदैन । ग्यास चुल्होमा सबैभन्दा बढी डर ग्यास लिकको हुन्छ, त्यसैले नियमित रुपमा यसको जांचगरिरहनु पर्छ । आगो चाडै टिप्ने पदार्थ र वस्तुहरु, जस्तै पेट्रोल, मट्टीतेल, स्टाइरोफम आदि, चुल्होको नजिक ल्याउनु हुदैन । इण्डक्सन चुल्हो प्रयोग गर्नुहुन्छ भने विद्युतको तारमा विशेष ध्यान दिनु पर्छ । यसका लागि पनि बेग्लै भोल्टेज स्टेबलाइजरको प्रयोग गर्नु उचित हुन्छ ।


लाइट बल्ब

लाइट बल्ब फ्यूज हुनु सामान्य कुरा हो । कहिले र कतिबेला फ्यूज हुन्छ भन्ने कुरा थाह नहुने भएकाले घरमा १-२ वटा अतिरिक्त बल्बहरु राख्नु राम्रो हुन्छ । फ्यूज भएको बल्ब परिवर्तन गर्दा चाहिँ सो लाइटको स्विच अफ गरिदिनु पर्छ । भिजेको हातले कहिल्यै पनि बल्ब परिवर्तन गर्न तिर लाग्नु हुदैन । लाइट बल्बहरु पानी पस्न सक्ने स्थानमा राख्नु हुदैन । सी. एफ. एल. बल्ब भित्र मानव शरीरलाई हानि गर्ने मर्क्युरी हुन्छ, त्यसैले सी. एफ. एल. बल्ब प्रयोग हुदाँ हुदैं फुटेको छ भने त्यो कोठाको झ्याल ढोका खुल्लै राख्नु पर्छ र ३० मिनटसम्म उक्त कोठामा जानु हुदैन । फुटेका बल्बका टुक्राहरु सफा गरिहाल्नु पर्छ । फ्यूज भएका लाइट बल्बहरु सुरक्षित स्थानमा व्यवस्थापन गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार