“विदेशमा बसेर यतैको राजनीति गरेर पनि नेपाललाई सहयोग गर्न सकिन्छ”
आउँदो मे ३ मा हुन गई रहेको बेलायतको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका तर्फबाट लन्डन बरो अफ बार्नेटबाट काउन्सिलर पदका उम्मेदवार, गैरआवासीय नेपाली संघको युरोप क्षेत्रका उपसंयोजक, बर्न्ट ओक नेपाली समाजका पुर्व अध्यक्ष भई सकेका नेपाली समुदाय बीच चिरपरिचित समाजसेवी तथा बार्नेट नागरिक अवार्ड २०१२ विजेता लक्ष्य गुरुङलाई हालसालै मात्र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदले भुतपुर्व गोर्खा सम्बन्धी समन्वय गर्ने समितिको संयोजकमा मनोनयन गरेको छ । मे ३ मा हुदै गरेको चुनावको तयारी, विदेशमा बसेर यतैको मुलधारको राजनीति गर्नुको कारण, कन्जरभेटिभ पार्टी रोज्नुको कारण लगायतका समसामायिक विषयमा एनआरएन युके र तमुधी युकेका सल्लाहकार, ताङ्ग तीङ्ग समाज युकेका अध्यक्ष र काउन्सिलर पदका उम्मेदवार गुरुङसंग बेलायतस्थित पत्रकार खेमराज रानाभाटले गरेको कुराकानीको सार संक्षेप –
चुनावको तयारी कस्तो गर्दै हुनु हुन्छ ? तपाईको चुनावी एजेन्डाहरु के के छन् ?
अहिलेसम्म चुनावको तयारी राम्रो हुँदैछ। यहाँ उम्मेदवारको व्यक्तिगत एजेन्डाहरु संग-संगै पार्टीको सामुहिक एजेण्डाहरुलाई पनि उत्तिकै महत्वका साथ हेरिन्छ। पार्टीले बृहत रुपमा स्थानीय तहको निर्वाचनलाई मध्ये नजर गरेर घोषणापत्र चाडैं नै प्रस्तुत गर्दैछ। स्थानीय तहको समस्याहरु बुझेर उम्मेदवार आफैले पनि केहि एजेन्डाहरु पार्टीको अनुमतिमा प्रस्तुत गर्नु पर्छ। मेरो योजनाहरु स्थानीय तहमा ग्रीन बेल्टलाई सुरक्षित राख्ने, अपराध कन्ट्रोल गर्ने, हाउजिङ्गको समस्या समाधान गर्ने, काउन्सिलबाट लगाउने करको उचित व्यवस्थापन गर्ने, बाटोघाटोको मर्मत सुधार गर्ने लगायत आफ्नो वार्डको फोहोरमैलाको उचित व्यवस्थापन गरेर सफा राख्नु जस्ता छन्।
तपाईको बरोमा कति मतदाता छन् ? यो भन्दा पहिला कति प्रतिशतले मतदान गरेका थिए ?
म उठेको बरोमा त धेरै मतदाता छन् । तर म उठेको हेल वार्डमा चाँहि साँढे सत्र हजार मतदाता छन। यहाँ स्थानीय निर्वाचनमा आम निर्वाचनमा जत्तिको भोट खस्दैन। यो भन्दा पहिलाको स्थानीय तहहरुको निर्वाचनमा ४५ प्रतिशत जति भोट खसेको हुँदा अहिले पनि त्यसैको हाराहारीमा भोट खस्ने अनुमान गरेका छौं।
तपाई उठेको वार्डमा आप्रवासीको बसाई कति छ ? त्यसमा नेपालीमूलका मतदाता पनि छन् ?
यहाँ प्रत्येक वार्ड प्रोफाइल हे-यो भने त्यहाँ कुन धर्म र समुदायीका मान्छेहरु बस्छन देखि लिएर काम गर्ने उमेरका कति छन, अन्य उमेरका के कति छन् थाहा हुन्छ । वार्ड प्रोफाइलबाटै काउन्सीलबाट लाभ लिने के कति छन्, कुन व्यवसाय र प्रोफाईलका मानिसहरु बस्छन थाहा पाईन्छ। म उठेको वार्डमा त्यति धेरै आप्रवासीहरु छैन भन्दा पनि हुन्छ । मेरो क्षेत्रमा ४१ प्रतिशत क्रिश्चियन, १९ प्रतिशत जुविश र बाँकी अन्य समुदायका मानिसहरु छन्। नेपालीहरु चाँहि जम्मा २० परिवार छौं ।
के तपाईको पार्टी कन्जरभेटिभमा एसियन मूलका अन्य नेताहरु छन् ? तिनीहरुले आफ्नो उदगम देशको राजनीति, आर्थिक र अन्य क्षेत्रको सुधारका लागि बेलायती पार्टी र सरकारसंग समन्वय गरेको कुरा तपाईसंग कुनै जानकारी छ ?
कन्जरभेटिभ पार्टी र अन्य पार्टीमा पनि आप्रवासी मूलका धेरै नेता कार्यकर्ताहरु छन्। उनीहरुले कुटनैतिक तरिकाबाट आफ्नो उदगम देशलाई धेरै किसिमबाट सहयोग पु-याउन सक्छन, जुन मैले महशुस गरेको छु।
विदेश बसेर यहाँको राजनीति गरेर के कसरी नेपाललाई सहयोग गर्न सकिन्छ ?
विदेशमा बसेर यतैको मुलधारको राजनीतिमा संलग्न भएमा यहाँको राजनीतिक संस्कार, परिपाटीहरु जाने, बुझ्ने र कार्यान्वयन गर्ने अवसर मिल्ने हुँदा त्यो सिकेको जानेको कुरा आफ्नो उदगम देशसम्म प्रत्यक्ष, अप्रत्यक्ष र कुटनैतिक तरिकाबाट पु-याउन सकिन्छ भन्ने हेतुले साथै बेलायतमा बसेका दोस्रो पुस्ताका नेपालीलाई बाटो देखाउन र उनीहरुलाई यतैको मुलधारको राजनीतिमा लाग्न प्रोत्साहन गर्नलाई पनि म राजनीतिमा संलग्न भएको हुँ । साथै अरु नेपाली साथीहरुलाई पनि आफु बसेको ठाउँको मुलधारको राजनीतिमा संलग्न हुन आह्वान पनि गर्दछु।
आफु बसेको ठाउँको राजनीतिमा लागेमा यही बस्ने नेपाली समुदायलाई अझ प्रभावकारी ढंगबाट सहयोग पु-याउन सकिन्छ। अहिले पनि ईमिग्रेशन सम्बन्धी र अन्य धेरै क्षेत्रहरुमा मैले नेपाली समुदायलाई सहयोग पु-याउन सकेको छु।
नेपाली समुदायबाट तपाईको यो निर्वाचन अभियानमा कुन किसिमको सहयोगको अपेक्षा राख्नु भएको छ ?
अहिले पनि मैले नेपाली कम्युनिटीबाट मेरो चुनाव प्रचार-प्रसारमा सहयोग पाई रहेको छु। कतिले चुनावमा आर्थिक सहयोग पुगोस भनि चन्दा संकलन गरि सहयोग पनि गर्नु भएको छ। अन्य एसियन कम्युनिटीबाट पनि त्यस किसिमको सहयोग पाई रहेको छु। तिनीहरु प्रति म धेरै आभारी पनि छु र सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।
यहाँको चुनावमा उम्मेदवार हुन कत्तिको खर्चिलो छ ? पार्टीबाट तपाईलाई यो चुनावी अभियानमा के कस्ता सहयोग मिलि रहेको छ ?
यहाँको चुनाव नेपालमा जस्तो त्यति धेरै खर्चिलो हुँदैन। पार्टीको अनुमति बेगर यहाँ खर्च गर्न, पर्चा पम्प्लेटिंग गर्न पाइदैन। कसैले आर्थिक सहयोग गरेपनि पार्टीको स्थानीय एशोसियसनमा बुझाउनु पर्छ। उनीहरुकै सल्लाह र सहमतिमा सहयोग रकम खर्च गर्नु पर्ने हुन्छ। चुनाव हुनुभन्दाको एक महिना अघिको समयमा त झन् मतदातालाई आफ्नो प्रचार-प्रसार सामाग्री घर-घर पठाउँदा लागेको पोस्ट खर्च समेतको ड्राफ्ट गरि पार्टीको स्थानीय एशोसियसनमा बुझाउनु पर्छ। चुनाव हुनु भन्दा एक महिना अगाडिको समयमा गरिने खर्चको यति सीमितता तोकिएको छ कि एकजना मतदाता बराबर ३ पेन्सको दरले मात्र खर्च गर्न पाइन्छ। त्यसैले यहाँको चुनावमा सीमित मात्र खर्च गर्न पाइन्छ र सबै खर्च पारदर्शी हुनु पर्छ अनि सम्बन्धित निकायमा समयमा बुझाउनु पर्छ। खर्च पारदर्शी नभएमा र समयमा नबुझाएमा कानुनी कारवाही हुन्छ।
पार्टी केन्द्रीय तहदेखि पार्टीको स्थानीय एशोसियसनबाट चुनावको लागि आर्थिक लगायत प्रचार-प्रसारको सामाग्री पटक-पटक गरि मतदाताको घरदैलोमा पु-याउन सहयोग हुन्छ। समय समयमा मतदाता सम्बन्धी सर्भे गरेर त्यहि अनुसारको प्रचार-प्रसार गर्नलाई पार्टीबाट सहयोग भई रहेको छ।
कन्जरभेटिभ पार्टी आप्रवासीहरुको लागि अलि बढी अनुदार पार्टी भन्ने सुनिन्छ। तपाई कसरी कन्जरभेटिभ पार्टीमा लाग्नु भयो ?
कन्जरभेटिभ पार्टीको धेरै नीतिहरु राम्रा छन। विशेष गरेर देशको आर्थिक उन्नति, राष्ट्रिय सुरक्षा लगायत स्वास्थ्य, शिक्षाको नीति कन्जरभेटिभ पार्टीको धेरै राम्रा छन। आप्रवासीहरुको कुरा पनि देशलाई आवश्यक मात्रामा मात्र विदेशीलाई देशमा बस्न दिने जसले गर्दा स्वास्थ्य, शिक्षा र यहाँको जीवनस्तर कायम गर्न सकियोस भन्ने कन्जरभेटिभको नीति छ। लेबरको पालोमा अनियन्त्रित किसिमले विदेशीलाई बेलायत आउन दिंदा यहाँ स्वास्थ्य केन्द्र(जिपी) र अस्पतालमा डाक्टर, नर्सको अभाव, बच्चाहरुलाई स्कुल अभाव र बुढाबुढीलाई दिनु पर्ने सामाजिक सेवा सुविधा(सोसियल बेनिफिट) र आवास सुविधा पु-याउन नसकेको धेरै उदाहरण छन्। त्यसैले कन्जरभेटिभले देशको आवश्यकता अनुसार कन्ट्रोल ईमिग्रेशन हुनु पर्छ भन्ने हो। नेपालीको स्वभाव पनि कमाएको सबै खर्च गर्नु हुन्न भन्ने छ। कन्जरभेटिभको नीति पनि नेपालीको स्वभावसंग मिल्ने किसिमको छ । कन्जरभेटिभको पोलिसी पनि पहिला राष्ट्रको अर्थतन्त्र बलियो हुनु पर्छ, ढुकुटीमा पैसा हुनु पर्छ भन्ने छ। अनि मात्र वितरण गर्न सकिन्छ भन्ने यसको नीति छ।
आवासको समस्या समाधान गर्नलाई कन्जरभेटिभले राईट टु बाई(Right to Buy) नीति, फस्ट टाइम बायर(First Time Buyer) लाई स्ट्याम ड्युटीमा सुविधा दिने नीति ल्याएको हो। सरकारको लगानीमा विभिन्न कम्पनीहरुसंग सहकार्य गरि युवाहरुलाई रोजगारी दिलाउन एप्रेन्टिसशीप प्रोग्राम; जुन प्रोग्रामबाट अहिले धेरै युवाहरुले रोजगारी पाई रहेका छन्, यो पनि कन्जरभेटिभ पार्टीले नै ल्याएको छ। त्यसैले हामी जस्तो ईमान्दार रुपमा काम गरेर खाने नेपालीलाई कन्जरभेटिभ पार्टीको नीति नै ठीक हुन्छ र देश पनि ठीकसंग चल्छ भन्ने मेरो बुझाई छ।
अन्त्यमा केहि भन्न चाहानु हुन्छ ?
नेपाली समुदायबाट अहिले पनि सहयोग पाई रहेको छु। त्यसका लागि सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु। अझै पनि प्रचार-प्रसारका सामाग्रीहरु मतदाताहरुसंग पु-याउन हप्ताको कुनै पनि दिन घरदैलो कार्यक्रममा नेपाली समुदायबाट सहभागी जनाएमा मेरो लागि ठुलो सहयोग पुग्नेछ। आर्थिक संकलन गरेर सहयोग पनि गर्न सक्नु हुनेछ। सहयोग गर्न चाहानु हुनेले मलाई मेरो मोबाइल वा अन्य सामाजिक संजालको माध्यमबाट सम्पर्क राख्न बेलायतवासी सबै नेपालीहरुसंग हार्दिक अनुरोध गर्दछु।