दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई भ्रष्टाचार तथा शक्तिको दुरुपयोग अभियोगमा २४ वर्ष कैद

– बीबीसी

सोल — दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति पार्क ग्युन–हायले भ्रष्टाचार तथा शक्तिको दुरुपयोग गरेको ठहर गर्दै २४ वर्ष जेल सजाय तोकेको छ । कैद सजायसँगै उनलाई १ करोड ७० लाख अमेरिकी डलर जरिवाना सुनाइएको छ ।

पूर्वराष्ट्रपति ग्युन भने अदालतले फैसला सुनाउने क्रममा उपस्थित थिइनन् । उनले आफूविरुद्धको मुद्दामा अदालतले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

उनले आफूले कुनै पनि गलत कार्य नगरेको भन्दै आफूले पुनरावेदन गर्ने बताएको बीबीसीले जनाएको छ ।

मुद्दाको फैसला सुनाउँदै न्यायाधीशले पार्कमा कुनै पनि पश्चातापको भाव नदेखिएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किम से–यनले भने, ‘हामीले उनलाई जवाफदेही बनाउनबाहेक केही सहयोग गर्न सक्दैनौं ।’

दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले एक विज्ञप्ति जारी गर्दै अदालतको निर्णय ‘देशका लागि हृदयविदारक’ भएको टिप्पणी गरेको छ । विज्ञप्तिमा शुक्रबार दक्षिण कोरियामा भएको घटनालाई ‘एक सम्झनै नसकिने इतिहास’ को संज्ञा दिएको छ ।

शुक्रबार अदालते गरेको फैसलाका प्रत्यक्ष प्रसारण गरिएको थियो । अधिकारीहरूले शुक्रबारको निर्णयप्रति आम मानिसको निकै चासो भएकाले अभूतपूर्व रूपमा प्रत्यक्ष प्रसारण गरिएको जनाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पार्कका समर्थकहरूले उनीविरुद्धको सजायको विरोधमा विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । समाचार संस्था रोयटर्सका अनुसार उनका समर्थकले पार्कविरुद्धको मुद्दाको फैसलाले ‘दक्षिण कोरियामा कानुनी शासन समाप्त भएको’ बताएका थिए । पार्कका वकिल काङ चुल–कूले मुद्दाको पुनरावलोकनबारे छलफल गर्ने बतए ।

अदालतमा उपस्थित पत्रकारहरूसँग उनले भने, ‘हामीले सक्दो प्रयास गर्‍यौं । तर फैसला निकै नराम्रो आयो ।’ उनले कुनै न कुनै दिन वास्तविकता सार्वजनिक हुने दाबी गरे ।

के–के हुन् मुद्दा ?

पार्क आफूमाथिका १८ मुद्दामध्ये १६ वटामा दोषी ठहर भएकी हुन् । ती मुद्दाहरू घूसखोरी र शक्तिको दुरुपयोगसम्बन्धी हुन् ।

अदालते उनले चोई प्रतिष्ठानलाई सामसङ तथा लोट्टे लगायतका व्यापारिक कम्पनी तथा प्रतिष्ठानहरूलाई लाखौं डलर सहयोग रकम उपलब्ध गराउन दबाब दिएकी थिइन् । उक्त प्रतिष्ठान पार्कका निकट साथी चोई सुन–सिलले सञ्चालन गरेका थिए । साथै उनी चोईले सञ्चालन गरेका विभिन्न फर्मको पक्षमा सम्झौता गर्न विभिन्न कम्पनीलाई दबाब दिएकोमा दोषी ठहर भएकी हुन् । साथै उनी विभिन्न राष्ट्रपतीय लिखतहरूको गोप्यता चुहाएको अदालतले ठहर गरेको छ । थानीय सञ्चारमाध्यमका अनुसार उनीसँग मुद्दाको पुनरावेदनका लागि ७ दिनको म्याद छ ।

मुद्दामा को–को समावेश ?

पार्कको भ्रष्ट्राचार तथा शक्तिको दुरुपयोग प्रकरणमा दक्षिण कोरियाका केही ठूला कम्पनी र मालिकहरू, मनोरञ्जनजगत्का कैयौं हस्तीहरू र सरकारी कर्मचारीसमेत विवादमा तानिएका थिए ।

सामसङका उपाध्यक्ष ली जाय–योङ समेत चोईकी छोरी चुङ यो–रालाई उपहार दिएको आरोपमा निसानामा परेका थिए । उनले यसअघि नै ५ महिनाको जेल सजाय भुक्तान गरेर रिहा भइसकेका छन् । चुङलाई उक्त मुद्दामा सोधपुछ गर्नका लागि गतवर्ष डेनमार्कमा पक्राउ गरी दक्षिण कोरिया ल्याइएको थियो ।

के यो कोरियमा अनौठो हो ?

पार्क दक्षिण कोरियामा भ्रष्टाचारको मुद्दामा दोषी ठहर हुने पहिलो राष्ट्रपति भने होइनन् । गत महिना पूर्वराष्ट्रपति ली म्युङ्ग–बक पनि भ्रष्टाचारको मुद्दामा पक्राउ परेका थिए । त्यसैगरी चुन डो–हान र रो ताय–वू पनि देशद्रोह तथा भ्रष्टाचारको अभियोगमा १९९० को दशकमा पक्राउ परेका थिए ।
सन् २००९ मा पूर्वराष्ट्रपति रो मू–हयुनले भ्रष्टाचारको मुद्दामा छानबिन सुरु भएपछि आत्महत्या गरेका थिए ।

पार्कको पतन

लामो समयदेखिकी आफ्नी साथी चोई सुन–सिलसँगको निकट सम्बन्ध नै पूर्वराष्ट्रपति पार्कका लागि पतनको मुख्य कारक बन्यो । चोई र पार्क बाल्य अवस्थादेखि नै साथी थिए ।

विस्तारै पार्ककी सबैभन्दा नजिककी विश्वासपात्र बनेकी चोईले राष्ट्रपतिसँगको सम्बन्धको फाइदा उठाउँदै राष्ट्रिय स्वार्थमाथि नै प्रभाव जमाउन थालेको चर्चा हुन थालेपछि पार्क विवादमा परिन् । भ्रष्टाचारमा यसअघि नै दोषी ठहर चोईले २० वर्षको काराबास सजाय काटिरहेकी छन् ।

लामो समयदेखिको सुनुवाइ र राजधानीका सडकमा गरिएका महिनौं लामा विरोध प्रदर्शनपछि उनी राजीनामा दिन बाध्य भएकी थिइन् । उनले सन् २०१७ को मार्चमा राजीनामा दिएकी हुन् ।

पार्क दक्षिण कोरियाको इतिहासमै महाअभियोग लाग्ने पहिलो जननिर्वाचित राष्ट्रपति हुन् । भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । ६६ वर्षीया पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् ।

त्यसको केही समयपछि पक्राउ परेकी उनी हालसम्म पनि नियन्त्रणमै थिइन् । सरकारी वकिलले उनीमाथि कम्तीमा ३० वर्षको जेल सजायको माग गर्दै मुद्दा दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार