नौ प्रतिशत भूकम्प पीडित मात्रै दोस्रो किस्ता बुझे

– ईश्वरकाजी खाइजू

भक्तपुर : फागुनको दोस्रो सातासम्म भक्तपुरका नौ प्रतिशत भूकम्प पीडितले मात्रै दोस्रो किस्ता बुझेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय भक्तपुरका अनुसार २७ हजार ६ सय ४४ लाभग्राही मध्ये जम्मा दुई हजार ७८ जनाले मात्रै दोस्रो किस्ता बुझेका हुन् ।

जसअनुसार चाँगुनारायण नपाका पहिलो किस्ता बुझ्ने आठ हजार नौ सय ९७ लाभग्राहीमध्ये ६ सय ७२ जनाले मात्रै दोस्रो किस्ता बुझेका छन् । त्यस्तै सूर्यविनायक नपाका ६ हजार पाँच सय ६५ मध्ये पाँच सय ८५, भक्तपुर नपाका पाँच हजार तीन सय १६ जनामध्ये ६ सय ५१ र मध्यपुर थिमी नपाका एक हजार नौसय १४ जनामध्ये एकसय ७० जनाले मात्रै दोस्रो किस्ताको रकम बुझेका छन् ।

सचिवालयका प्रमुख शिवराम गेलालले कूल लाभग्राहीमध्ये चार हजार पाँच सय १९ जनाले पहिलो किस्ता नै नबुझेको जानकारी दिए । उनले दाजुभाइमा जग्गाको विवाद र स्वामित्वसम्बन्धी समस्याले भक्तपुरमा निजी आवास पुनर्निर्माण गर्ने भूकम्प पीडितहरुको संख्या अति नै न्यून भएको स्पष्टीकरण दिए ।

‘जग्गाको विवाद र स्वामित्वसम्बन्धी समस्याले निजी आवास बनाउनेको संख्या अति न्यून भएको हो’, प्रमुख गेलालले भने, ‘भूकम्प पीडितले तोकिएको मापदण्ड तथा स्वीकृत नक्साअनुसार घर नबनाउँदा बढी समस्या देखिएको छ ।’

नगरपालिकाबाट नक्सापास हुन ढिलाइ हुँदा पनि पहिलो किस्ता लगेर घर बनाउन नपाएका भूकम्प पीडितहरुको संख्या अधिक रहेको उनले सुनाए ।
भक्तपुरका चारवटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा जग्गाको क्षेत्रफल सानो भइकन पनि तला तलाको लालपुर्जा लिइबसेका कारण घर निर्माणमा समस्या भएको प्रमुख गेलालको भनाइ छ ।

‘नगरस्तरमा धेरै समस्या आएपछि समाधानका लागि प्रत्येक नगरमा एकएकजना फोकल पर्सनको व्यवस्था गरेका छौं’, उनले भने, ‘यसका साथै जिल्लास्तरीय सहजीकरण समिति र नगर प्रमुखहरुसँग छुट्टाछुट्टै बैठक बसेर भूकम्प पीडितहलाई सरल र सहज रुपमा घर निर्माण गर्ने अवस्था बनाइदिन आग्रह गर्दै आएका छौं ।’

सचिवालयका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्टले दोस्रो किस्ता लगेकामध्ये ५१ प्रतिशत अर्थात एक हजार ६६ जनाले तेस्रो किस्ता बुझेको बताए ।

उनका अनुसार तीनसय ३३ जना पहिलो किस्ता पाउने प्रक्रिया छन् । त्यस्तै दोस्रोको लागि तीनसय ८५ र तेस्रो किस्ताको लागि पाँच सय पचास जनाको अनुदान भुक्तानी प्रक्रियामा रहेको उनले जानकारी दिए ।

‘लाभग्राहीमा नपरेका तीन हजार चार सय ६५ जना भूकम्प पीडितले गुनासो दर्ता गरेका छन्’, उनले भने, ‘गुनासो दर्ता गरेकामध्ये दुई हजार सात सय ९९ जनाको स्थलगत सर्वे गर्दै प्राधिकरणमा पठाइएको छ ।’

उनका अनुसार दोस्रो किस्ता भुक्तानीको लागि तीन हजार तीन सय ३४ जनाले निवेदन दिएका छन् । त्यस्तै दुई हजार पाँच सय ३५ जनाले तेस्रो किस्ताको लागि निवेदन दिएको सूचना व्यवस्थापन विशेषज्ञ भट्ट बताउँछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार