– अनिल ढकाल
चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ९ गते पार्टी एकता घोषणा हुने बताएका छन् । चितवनमा सहकारी संग्रालयको शिलान्यास गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली भारत जानु अघि एकता गर्ने भनिएको भएपनि कार्यदलको सुझावको आधारमा वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पार्टी एकता गरिने भएको बताएका हुन् ।
(File Photo)
उनले भने, ‘प्रधानमन्त्री भारत जानु भन्दा पहिला एकता गर्ने भनिएको थियो , वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस पर्छ , त्यही दिन एकताको घोषणा हुन्छ ।’ उनले आज कार्यदलले एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएपछि केही दिन छलफलको लागि समय लाग्ने बताए । अध्यक्ष दाहालले एकता बराबरी सिद्धान्तका आधारमा सम्मानजनक रुपमा हुनुपर्ने बताए ।
उनले दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता हुने भएको बराबरीको हैसियतमा हुनुपर्नेमा जोड दिए । ‘दुई धाराबीच एकता हुँदैछ, त्यसकारण प्रतिशतको आधारमा होइन, बराबरीको सिद्धान्तमा हुनुपर्छ भन्ने सामान्य कुरा हो’ अध्यक्ष दाहालले भने । उनले निर्वाचन लगतै एकता गर्ने भनिएको भएपनि सरकार निर्माण लगायतका कामले ढिलाई भएको बताए । उनले पार्टी एकतामा कुनै समस्या नरहेको दाबी गरे ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ एजेण्डामा छलफल र सम्झौता नहुने बताए । ‘नयाँ एजेण्डामा छलफल हुँदैन, दुई देश बीचको सम्बन्ध न्यानो बनाउने र पुराना एजेण्डामा छलफल मात्रै हुन्छन’ अध्यक्ष प्रचण्डले भने।