“सकारात्मक सोच नै उर्जाको खानी “

काठमाडौँ — अभिनेता विजय लामा सानैदेखि पाइलट बन्न चाहन्थे । तर, उनले यो इच्छा बुबालाई भन्नै सकेका थिएनन् । यसैबीच उनले सन् १९८४ मा ‘आदर्श नारी’ फिल्म खेल्ने भए ।

भूमिका थियो पाइलटकै । युनिफर्म लाएर विजय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे सुटिङका लागि । ‘त्यहाँ त साँच्चिकै पाइलटजस्तै पो भएँ,’ उनी सम्झिन्छन्, ‘एयर होस्टेजहरूले ‘गुड मर्निङ क्याप्टेन’ भन्दै अभिवादन गर्न थाले । यसपछि मनभित्र साँच्चिकै पाइलट बन्ने दृढ निश्चय लिएँ ।’

शनिबार राजधानीको थापागाउँस्थित कुञ्ज थिएटरमा विजय अनुभव सुनाउँदै थिए । उनले कलाकारदेखि पाइलट बन्दासम्मको रोचक अनुभव दर्शक/श्रोतामाझ साझा गरे । आफूलाई चाहिँ विशेषत: कलाकार नै भन्न रुचाए । ‘ट्रक ड्राइभर’, ‘अल्पविराम’, ‘अझै पनि’, ‘एभरेस्ट’ लगायत फिल्ममा अभिनय गरेका उनी गीत पनि गाउँछन् । ‘खासमा विमान चालक आफैंमा कलाकार हो,’ उनले भने, ‘कला भएन भने विमान चलाउनै सकिँदैन ।’ उनले विमान दुर्घटना प्राय : प्राविधिक कारणले हुने भए पनि पाइलटलाई दोष दिनु गलत रहेको बताए । ‘हाम्रो त हरेक बिहान चिन्ताबाटै सुरु हुन्छ,’ उनले भने, ‘के फर्केर आइन्छ ? जहाजबीचैमा गडबडी भए के होला ? जस्ता मनोवैज्ञानिक पीडाहरू झेल्नुपर्ने हुन्छ ।’ यस्ता चिन्ताबाट मुक्त हुन सकारात्मक विचारले धेरै सघाउने उनले सुनाए । ‘सकारात्मक सोचाइले सकारात्मक ऊर्जा दिन्छ’ उनले भने, ‘यस्ता ऊर्जाले नै सफलतातिर डोहोर्‍याउँछ ।’

लामो समयदेखि नेपाल वायुसेवा निगमका पाइलट यिनले राष्ट्रिय सम्पत्तिप्रति मुलुकका नेता भने सकारात्मक नभएको गुनासो गरे । एकपटक उनी निगमको बोइङ ७५७ लिएर थाइल्यान्डबाट त्रिभुवन विमानस्थल उत्रेका थिए, धावनमार्गमा कालो सिसावाला कार देखे । नजिकै अवतरित थाई एयरवेजको विमानबाट गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादव उत्रिँदै थिए । यसपछि उनको मन कुँडियो । सरासर घर गएर आर्टिकल लेखे– ‘महामहिमज्यू, राष्ट्रिय ध्वजावाहक चढेको भए के बिग्रिन्थ्यो ?’ अनलाइनमा यो आर्टिकल भाइरल बन्यो । ‘आफ्नो घर नराम्रो भयो भन्दैमा छिमेकीकोमा बास बस्न जानु हुन्न।’

आकाशमा २५ हजार घण्टाभन्दा बढी बिताइसकेका उनले कुनै समय दिनमा १८ वटा फ्लाइट गरेको समेत सुनाए । सकारात्मक भएर सोच्दा अहिले नेपाल र नेपालीहरू निकै अगाडि बढिसेको उनले दाबी गरे। तीन दशकअघि विदेशमा नेपाली भेट्नै मुस्किल पथ्र्यो, खाजा सधंै हयामवर्गर, चाउमिन, चिकेन बिर्यानी आदि । अचेल विदेशमा खाजादेखि खाना नेपाली स्वादकै पाइन्छ । उनले अनुभव शृंखला सुरु हुनुअघि लेखन कुञ्जकै परिसरमा राखिएको पुस्तक हटिया उद्घाटन गरे । घोस्ट राइटिङ नेपालले सुरु हटिया सुरु गरेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार