भेरीमा जलयात्रा शुरु, आन्तरीक पर्यटक दङ्ग

– भीमबहादुर सिंह

जाजरकोट — एक सातादेखि नलगाड नगरपालिका ८, मैदेदेखि वडा नं २ को छेप्कासम्मको भेरी नदीमा र्‍याफ्टिङ सञ्चालन भएको छ ।

नलगाड नगरपालिका क्षेत्रमा पर्ने भेरी नदीको ७ किलोमिटर दूरीमा र्‍याफ्टिङ सुुरु भएको हो । भेरी एडभाञ्चर प्रालिले र्‍याफ्टिङ सुरु गरेको हो ।

सुरुमा स्थानीय बासिन्दा र्‍याफ्टिङ गर्न डराए पनि पछिल्लो समय बिस्तारै उत्साही भएको सञ्चालक टकबहादुर घर्तीले बताए । नलगाड तथा पश्चिम रुकुम राडीबजार लगायत स्थानका बासिन्दाले भेरी नदीमा र्‍याफ्टिङको आनन्द लिने गरेको घर्तीले बताए । र्‍याफ्टिङ सुरु भएको सातापछि मात्र स्थानीय बासिन्दाबीच भेरी नदीमा र्‍याफ्टिङ गर्न हानथाप हुने गरेको उनले बताए ।

गर्मी मौसम र्‍याफ्टिङ भएकाले पनि र्‍याफ्टिङ गर्न हानथाप गर्ने बढेको उनले बताए । र्‍याफ्टिङ आएका पर्यटकलाई बस्न, खाना र नास्ताका लागि उचित होटल तथा रेस्टुरेन्ट व्यवस्था तत्काल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । हाल भेरी नदीको ७ किलोमिटर दूरीमा सञ्चालनमा आएको र्‍याफ्टिङ अबको एक महिनाभित्रै डोल्पाको शेफोक्सुन्डोदेखि सुर्खेतको भेरी पुलसम्म सञ्चालन गर्ने योजना रहेको उनले बताए । ‘भेरी नदीमा सफा पानी भएकाले र्‍याफ्टिङ निकै सजिलो छ,’ सञ्चालक घर्तीले भने ।

प्रालिले स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले १० जना युवालाई एक हप्ते गाइड तालिम समेत दिन सुरु गरेको छ । स्थानीय स्तरमा र्‍याफ्टिङ सञ्चालन गर्न सक्ने जनशक्ति उत्पादनका लागि उक्त तालिम सञ्चालन गरेको उनले बताए । भेरी नदीसँग जोडिएका नलगाड नगरपालिका र भेरी नगरपालिकाका युवाहरू उक्त तालिममा सहभागी भएका छन् ।

भेरी नदीमा र्‍याफ्टिङलाई व्यावसायिक रूपमा विकसित गर्न नलगाड नगरपालिकाको सक्दो आर्थिक तथा प्राविधिक सहयोग गर्न प्रतिबद्ध रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए । जिल्लाका अन्य स्थानीय सरकारसँग पनि साझेदारी गरेर र्‍याफ्टिङ व्यवसायलाई निरन्तता दिने लक्ष्य रहेको प्रमुख रावलले बताए । डोल्पाको शेफोक्शुण्डो तालबाट बग्ने भेरी नदीमा र्‍याफ्टिङको बलियो सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रमा पहिलोपटक र्‍याफ्टिङ सञ्चालनमा आएको रावलले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकमा आकर्षण बढाई आगमनको ढोका खोल्ने र विकास तथा व्यापारको प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताए । ‘स्थानीय निर्वाचनमा जारी गरेको घोषणा पत्रमा भेरी नदीमा र्‍याफ्टिङ सञ्चालन गर्ने पनि उल्लेख भएको थियो, जुन चुनावी बाचा पनि पूरा भएको छ,’ रावलले भने । नगर क्षेत्रमा प्राथमिकताका साथ टेलिफोन तथा इन्टरनेट सेवा, सडक यातायात सेवा लगायत सञ्चालन गर्न लागेको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार